स्वदेशी भेटेरिनरी औषधि उत्पादकलाई सरकारबाट कुनै प्रोत्साहन छैन
नेपालमा पशुपन्छी औषधिको बजार व्यवस्थित भइसकेको छैन । दर्ता भएका आधा र दर्ता नभएका आधा औषधिले बजार चलिरहेको अवस्था छ । बजारमा आपूर्ति हुने औषधि मध्ये नेपाली औषधि बजार हिस्सा कम छ । आयातित औषधिले नै बजारको ठूलो हिस्सा लिइरहेको अवस्था छ । पछिल्लो सयम खुलेका औषधि उद्योगहरू आधुनिक प्रविधिअनुसार नयाँ मापदण्डमा आधारित भएर सञ्चालनमा आएका छन् । त्यसले गर्दा नेपाली औषधि पनि अहिले गुणस्तरीय नै उत्पादन भइरहेका छन् ।
नेपालमा औषधि उद्योग खुल्ने क्रम बढ्दा पनि नेपाली औषधिको बजार हिस्सा कम देखिनुमा केही कारण जिम्मेवार छन् । पहिलो कारण त पशुपन्छीको औषधिको माग निरन्तर बढ्दै गएको छ । माग अनुसार नेपालमा उत्पादन भएका औषधिले बजार धान्न सक्ने अवस्था छैन । त्यसो हुँदा आयातित औषधिको परिमाण पनि बढेको देखिन्छ । अहिले नेपाली औषधिको उत्पादन केही बढेको छ तर, दुई तीन वर्षअघिको तथ्यांक हेर्ने हो भने नेपालको पोल्ट्री क्षेत्रमा प्रयोग हुने औषधि मध्ये झण्डै ८० प्रतिशत बजार हिस्सा आयातित औषधिले ओगटेको थियो ।
त्यस्तै, नेपाली कम्पनीले उत्पादन गरेका औषधि गुणस्तरीय नै भए पनि विश्वास नगरेर वा सस्तो पाइने भएकोले आयातित औषधिको प्रयोग गर्ने कारणले आयातको परिमाण बढेको हो । तर, पछिल्लो समय नेपाली औषधि पनि गुणस्तरीय छन् । र, यिनै औषधिको प्रयोग गर्नुपर्छ भन्ने धारणा पनि क्रमशः विकास हुँदै गएको भने छ । यो हुनु पनि जरुरी छ । अहिलेको विश्व एउटै बजार जस्तो भइसकेको छ । नेपालमा स्थापना हुने औषधि उद्योग सञ्चालनमा ल्याउन पनि विदेशी अनुभवि तथा दक्ष प्रविधि र प्राविधिकहरूको सहयोग लिइन्छ ।
विश्व बजारका अनुभवी र दक्ष प्राविधिकहरूले नै नेपालमा औषधि प्लान्ट स्थापना गर्न र औषधि उत्पादन गर्न प्राविधिक रूपमा सहयोग गर्ने भएकोले नेपालमै पनि गुणस्तरीय औषधि उत्पादन हुन्छ । नेपालमा भारत, कोरिया जस्ता देशबाट औषधि उद्योग सञ्चालका लागि प्राविधिक जनशक्ति ल्याउने गरिएको छ । पशुपन्छीको औषधि उत्पादनका लागि विश्वभर नै कच्चा पदार्थको आपूर्ति गर्ने देश भनेका चीन र भारत नै हुन् ।
नेपाल वा विश्वको धेरैजसो देशमा यी दुई देशकै कच्चा पदार्थ निर्यात भएरहेको देखिन्छ । लगानी पनि विश्वका अरु देशमा भएजस्तै नेपालमा हुने गरेको छ । त्यसो हुँदा उही प्राविधिक, उही प्रविधि र उही लगानीमा नेपालमा भेटेरिनरी औषधि उत्पादन भइरहको छ । विदेशी औषधि र नेपाली औषधिमा कुनै फरक छैन । त्यसो हुँदा नेपालमा उत्पादन भएको औषधिको पनि गुणस्तरीय नै हुन्छ भन्ने धारणा विकास हुँदै गएको छ । यसले नेपाली औषधिको प्रयोग बढाउँछ ।
नेपाली पशुपन्छी औषधि उत्पादक कम्पनीलाई प्रोत्साहन गर्न सरकार उदासिन भएको पाइन्छ । नेपाली कम्पनीले अहिले खास गरी भारतीय कम्पनीको औषधिसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । तर, भारतमा उद्योगलाई दिइने ऋणको ब्याज एकल अंकमा छ, दोहोरो अंकमा छैन । यो भनेको १० प्रतिशतभन्दा कम नै छ । हामीकहाँ १४ प्रतिशतसम्म छ । जनशक्ति पनि नेपालमा महँगो छ । त्यसो हुँदा नेपाली उत्पादकहरू प्रतिस्पर्धी बन्न सकिरहेका छैन ।
औषधि उद्योगहरूले पनि रोजगारी सिर्जना गरेका छन् । हाम्रै उद्योगमा ५० जनाजतिले रोजगारी पाएका छन् । त्यसो हुँदा उद्योगीहरूलाई सहुलियत दरको ऋण र अनुदानको व्यववस्था गरिदिनु पर्ने हो । अनुदान नसके सहुलियत दरको ऋण नै उपलब्ध गराए पनि हुने हो तर सरकार यसमा उदासिन छ ।
त्यस्तै, दर्ता प्रक्रियालाई सरल बनाउने, गुणस्तरीय उत्पादनका लागि राज्यले सहयोग गर्ने हो भने नेपालमा पनि गुणस्तरीय औषधि प्रतिस्पर्धी मूल्यमा उत्पादन हुन सक्ने थियो । र, विदेशी गुणस्तरीय औषधिकै जस्तो गुणस्तरको औषधि नेपालमा उत्पादन हुन थालेपछि आयात प्रतिबन्ध गर्न सकिन्थ्यो । त्यसतर्फ सरकारले ठोस कदम चालेको छैन । यसको मार नेपालका पशुपन्छी औषधि उत्पादकहरूले भोगिरहेका छन् ।
प्रतिक्रिया