सफल ब्रोइलर पालनका लागि : वातानुकुलित खोर
समयको मागसँगै नेपालमा आधुनिक प्रविधि अपनाइ ब्रोइलर पालन थालेको केही वर्ष भयो । यसको सुरुवात भने आजभन्दा लगभग २५ वर्ष पहिले रत्न फिड एण्ड ह्याचरीले गरेको देखिन्छ ।
पछिल्लो ४–५ वर्षमा नेपालमा ब्रोइलर पालनका लागि वातानुकुलित खोरहरू बनाउनेक्रम बढ्दै गएको छ । तर सफलतापूर्वक ब्रोइलर पालनमा अझै पनि प्रशस्त चुनौतीहरू देखिएका छन् । आज हामीले Closed house मा सफलतापूर्वक ब्रोइलर पालन गर्नका लागि आवश्यक पर्ने केही महत्त्वपूर्ण कुराहरूको बारेमा प्रकाश पार्ने छौं ।
त्योभन्दा पनि महत्वपूर्ण खोरलाई पर्दाले छोप्दैमा र पंखा हाल्दैमा Closed house बनिहाल्छ भन्ने अहिलेको मानसिकताबाट पछि हट्नुपर्ने देखिन्छ ।
१. Closed हाउसका लागि ठाउँको छनोट :
(क) क्लोज्ड हाउस बनाउँदा जहिले पनि पूर्व–पश्चिम मोहडा हुनेगरी बनाउनु पर्दछ । यसो गर्दा सूर्यको प्रकाश गर्मीमा प्रत्यक्ष रूपमा खोरको भित्तामा वा भनौं पर्दामा पर्न पाउँदैन ।
(ख) क्लोज्ड हाउसबाट निस्कने हावा निर्बाध रूपले जान पाउने गरी पंखाको नजिकै ढिस्को, रुख, भित्ता हुनु हुँदैन ।
(ग) सकेसम्म प्राकृतिक हावाको वेगले हान्नेतिरको खोरको भागमा पांखाहरू राख्नु हुँदैन ।
(घ) पानीको सिपेज (seepage) बाट रोक्नका लागि खोरको भुईँको जग जमिनबाट १–१.५ फुट मुनिबाट सुरु गरी जमिनदेखि माथि १–१ ,१/५ हुनुपर्दछ ।
(ङ) बाछिटा पानीको असर खोरमा नपरोस् भन्नका लागि ३.५ जति जस्ताको ओभर ह्याङ हाल्नुपर्दछ ।
(२) क्लोज्ड हाउसको क्षेत्रफल :
ब्रोइलरको लागि ४४ फिट चौडाइ र ४५०–५०० फिट लम्बाइको खोर उपयुक्त मानिन्छ । चौडाइ बढी भएमा मिनिमम भेन्टिलेसन मिलाउन गाह्रो हुन्छ भने लम्बाई बढी भएमा खोरको अगाडि र पछाडिको भागको तापक्रममा धेरै फरक पर्न जाने हुन्छ । अतिरिक्त प्रणाली जोड्नुपर्ने अवस्थामा खर्च बढ्छ ।
(३) क्लोज्ड हाउसको किसिम :
अहिलेसम्म बजारमा side-curtain (पर्दा) र side-curtain (भित्ता) गरी दुई किसिमका side wall closed उपलब्ध छन् । बोइलरको लागि भनेजस्तो वातावरण दिनका लागि solid wall सिस्टमको क्लोज्ड हाउस नै बढी उपयुक्त देखिन्छ । तर पनि धेरै जसो समयमा बत्ती जाने र Electrical power failure को सम्भावना बढी भएका कम्पनीहरूले side-curtain System को क्लोज्ड हाउस नै बनाएको देखिन्छ ।
एक अमेरिकी अध्ययनअनुसार गर्मी मौसममा side wall closed Houseमा भन्दा side-curtain क्लोज्ड हाउसमा पालेको ब्रोइलरमा मृत्युदर २० प्रतिशतले बढी भएको नै बनाएको देखिन्छ ।
ब्रोइलर पालनका लागि खोरको सिलिङको R Value १८–२१ र साइड वाल (भित्ता) को १०–१२ हुनुपर्दछ ।Side curtain सिस्टममा curtain को R value एक हुन्छ । R value जति जति कम भयो त्यति नै बाहिरी वातावरणको असर खोरभित्र बढी हुन्छ । यही कारणले गर्दा निकै गर्मी र जाडो मौसममा पर्दा सिस्टमकोClosed house मा भनेजस्तो वातावरण मिलाउन कठिन हुन्छ । अनावश्यक इन्धनको खपत बढ्दछ ।
नेपालमा भएका धेरैजसो Closed house को R value ब्रोइलर पालनको आवश्यकता अनुसार छैनन् । त्यतिमात्र होइन, कतिपय क्लोज्ड हाउसमा त Vapour barrior नभएको सिलिङ राखेको पाइएको छ । Vapour barrior नभएमा जाडो मौसममा सिलिङमा पानीको बाफ जम्मा हुन गई खोरभित्र शित देखापर्दछ ।
क्लोज्ड हाउस नेगेटिभ प्रेसर सिस्टममा चल्ने हाउस हो । तर धेरैजसो खोरमा पर्दा राम्ररी सिल नगरिएको, पंखाको सटर बिग्रेको, ढोकाहरू र इनलेटहरू सिल नभएको कारणले गर्दा खोरको उपयुक्त प्रेसर नहुँदा भनेजस्तो भेन्टिलेसनको व्यवस्था गर्न नसरी ब्रोइलरमा सन्तोषजनक उत्पादन लिन सकिएका प्रशस्त उदाहरणहरू छन् । त्यसैले पर्दा राख्दा साइडको भित्ताबाट ३० इन्च तलदेखि राम्ररी सिल गरी राख्ने र माथिल्लो भागमा भित्ताबाट ४ इन्च जति माथिसम्म पुग्ने गरी राख्नु पर्दछ र माथिल्लो भागलाई लगभग २ फिट जति मिनी पर्दाले छोप्नु पर्दछ । पर्दाको सबैभन्दा अगाडि र पछाडिको भागमा माथिबाट तलसम्म मुख्य पर्दालाई सानोपर्दाले लगभग २६ से.मि. छोप्नेगरी मिलाउनु पर्दछ ।
(४) तापको व्यवस्थापन : जाडो महिनामा धेरैजसो क्लोज्ड हाउसमा तापको राम्रो व्यवस्थापन गरेको पाइँदैन । प्रायःजसो कमसल क्वालिटीको हिटरको प्रयोग तथा ग्यास खर्च जोगाउनका लागि भेन्टिलेसनमा सम्झौता गरेको देखिन्छ । यसले कार्वनमोनोअक्साइडको लेभल खोरभित्रको वातावरणमा ७० पिपिएमभन्दा बढी हुन गई ascite (पानी जम्ने रोग) देखापर्दछ । याद राख्नुपर्ने यो छ कि हाम्रो तापको व्यवस्थापनको ८० प्रतिशत भेन्टिलेसन सिस्टमबाटै बाहिर जान्छ । त्यसैले यसको राम्रो व्यवस्थापन गर्नु पहिलो आवश्यकता हो ।
ब्रुडिङको लागि ०.०५–०.०३ kw/m3 क्षमताको हिटर चाहिन्छ । प्रायःजसो ग्यासबाट चल्ने प्रेसराइज्ड हिटर क्षमताको हुन्छ । सोहीअनुसार हिटरको संख्या यकिन गर्नु पर्दछ ।
(५) side–inlet (आँखीझ्याल) को व्यवस्थापन आधुनिक खोरहरूमा चल्लाका लागि भनेजस्तो वातावरण मिलाउन Inlet नभई हुँदैन । विशेषगरी जाडो मौसममा यसको महत्व बढी हुन्छ । साना चल्लालाई प्रत्यक्ष रूपमा चिसो हावाले हान्दा बिरामी पर्ने हुन्छ । side inlet को प्रयोग गरी आवश्यक स्वच्छ हावा खोरभित्र पठाइन्छ । यो जहिले पनि सिलिङ नजिकै राख्नुपर्दछ । वालको दुवै साइटमा बराबरीको दूरीमा राख्नु पर्दछ ।
साइड इन्लेटलाई एकैसाथ खोल्ने र बन्द गर्नका लागि ५ देखि ८ एमएमको रड प्रयोग गर्नु पर्दछ । cable, wire प्रयोग गर्दा पटक–पटक केबल चुडिइ भेन्टिलेसन बिग्रिने सम्भावना बढी हुन्छ ।
साइड इनलेट बन्द हुँदा राम्ररी इन्सुलेसन हुनुपर्दछ । यसको तलमाथि भित्तामा कुनै पनि चिजहरू हुनुहुँदैन । सबै बाहिरी हावाको वहावको प्रत्यक्ष असर इनलेटमा नहोस् भन्नका लागि यसलाई राम्ररी छोपेर राख्नुपर्दछ ।
(६) पंखाको छनोट
पंखाबिना क्लोज्ड हाउसको भेन्टिलेसनको कल्पना गर्न सकिँदैन । उपयुक्त भेन्टिलेसनका लागि उपयुक्त पंखाको छनोट गर्नु पर्दछ । मिनिमन भेन्टिलेसनका लागि ३६ इन्चको पंखा प्रयोग गरिन्छ भने टनेल भेन्टिलेसनका लागि ५१ इन्चको पंखा प्रयोग गरिन्छ । पंखामा प्रयोग गरिने सटर सधैं सफा र आवश्यक पर्दा पूरा खुल्ने हुनुपर्दछ । पंखाको भित्रपट्टि सटर राख्नु पर्छ । बाहिरतर्फ राख्दा हालको गतिमा हल्का अवरोध आउँछ । सटरमध्येमा पनि सबैभन्दा राम्रो सटक बटरफ्लाई सटरलाई मानिन्छ । पंखामा अनिवार्य डिस्चार्जड कोन जोड्नु पर्दछ । यसले हावाको गति बढाउन मद्दत गर्दछ । एउटै साइजका विभिन्न कम्पनीका पंखा अध्ययन गर्दा पफमेन्स र इनर्जी इफिसियन्सी फरक–फरक पाइएकाले BESS Laboratory Certified पंखा प्रयोग गर्नु पर्दछ । इण्डियन पंखा भए BIS र BEE सर्टिफाइड हुनुपर्दछ ।
भेन्टिलेसनको प्रकार :
ब्रोइलर पाल्नका लागि मिनिमम भेन्टिलेसन, ट्रान्जिक्स्नल भेन्टिलेसन र टनेल भेन्टिलेसन गरी तीन किसिमको भेन्टिलेसन प्रयोग गरिन्छ । कुन समयमा कुन भेन्टिलेसन प्रयोग गर्ने भन्ने कुरा कुखुराको उमेर, तौल, घनत्व तापक्रममा भर पर्दछ ।
यी सबै भेन्टिलेसन सफलतापूर्वक चलाउनका लागि खोरभित्र नेगेटिभ प्रेसर आवश्यक पर्दछ । हाम्रो वायुमण्डलको प्रेसर १०,१३२ पास्कल (४०.७ पिएस) हुन्छ । योभन्दा कम प्रेसरलाई नेगेटिभ प्रेसर भनिन्छ । साइड कर्टेन खोरका लागि ०.१३–०.१५ inches of water (३२.३–३७.३ सोलिड साइडवाल) र सोलिड साइड वाल खोरको लागि ०.२–०.२२ inches या water (४९.८–५४.७९ pakl) हुनुपर्दछ ।
यो प्रेसर मिलाउनका लागि पनि खोर पूर्ण रूपमा सिल्ड हुनैपर्दछ । यही कारणले गर्दा नै साइडवाल हाउसको आवश्यकता बढ्दै गएको छ ।
खोरभित्रको प्रेसर कति छ भन्ने जान्नका लागि सर्वप्रथम सम्पूर्ण ढोकाहरू, पर्दाहरू बन्द गर्नु पर्दछ र एउटा ठूलो ५१ इन्चको पंखा वा दुई वटा सानो ३६ इन्चको पंखा चलाउनु पर्दछ । त्यसपछि प्रेसर मिटरमा भएको प्रेसर नाप्नु पर्दछ ।
(क) मिनिमम भेन्टिलेसन : यो प्रायः गरेर जाडोयाममा प्रयोग गरिन्छ । अरू मौसममा पनि रातिमा चिसो भएको समयमा चलाउनका लागि यो भेन्टिलेसन प्रयोग गरिन्छ । यो भेन्टिलेसनको मुख्य उद्देश्य खोरभित्रको आद्रतालाई सन्तुलन (४५–७० प्रतिशत) गर्नुका साथै हानिकारक ग्यासहरू जस्तै Co2 (कार्बनडाइअक्साइड), Co (कार्बनमोनोअक्साइड), NH3 (ओमोनिया) लाई लेबलभन्दा माथि बन्न नदिनु हो । नेपालमा प्रायःजसो खोरमा यो भेन्टिलेसनमा त्रुटि भई इकोलाई, CRD जस्ता रोगले निकै सताएको पाइन्छ ।
यो भेन्टिलेसन सफल प्रयोगका लागि खोरमा आवश्यक प्रेसर त हुनैपर्छ साथै साइड इनलेटबाट सिफारिस गतिमा हावा खोरभित्र सिलिङसँग–सँगै खोरको मध्य भागमा पुगेर तातो हावासँग मिसिई हावा न्यानो भएपछि भुइँमा चल्लाको सतहमा झर्नुपर्दछ । यो भेन्टिलेटरसम्म प्रयोग हुने पंखाको संख्या, पंखा चल्ने अवधि, साइड इनलेटको मुखको खुल्ने प्वालसँग तालमेल हुनुपर्दछ । यसका लागि चल्ला राख्नुपूर्व स्मोक टेस्ट (धुँवाको प्रयोगबाट गरिने जाँच)गरी हावाको वहाब कसरी गएको छ भनी यकिन गर्न बुद्धिमानी मानिन्छ ।
यो भेन्टिलेसन निकै चिसो मौसममा १० मिनेट टाइमर र ठीकै चिसो मौसममा ५ मिनेट टाइमरमा चलाउनु पर्दछ तथा इनलेटरको मुखको प्वाल २–३ इन्च खोल्नु पर्दछ ।
यो भेन्टिलेटरसम्म खोरको भुइँ र सिलिङको तापक्रम फरक १० देखि १५ डिग्री सेल्सियससम्म हुनसक्ने हुँदा खोरको बीच भागमा ३० फिटको दूरीमा भेरियबल स्पिडको stir फ्यान राखी यस तापक्रमको फरकलाई कम गर्न सकिन्छ । इन्धनको बचत गर्न सकिन्छ ।
४० फिट चौडाइको खोरमा यो भेन्टिलेसनको लागि प्रेसर (०.१० inches of water) र इनलेटमा हावाको गति ६.५ मिटर पर सकेण्ड र १२८० fpm हुनुपर्दछ । खोरको चौडाइ बढ्दै जाँदा प्रेसर र हावाको गति बढ्दै जान्छ ।
चल्लामा यो भेन्टिलेसन चल्दा हरेक समय तीन भागको एक भाग चल्ला दानामा, एक भाग चल्ला पानीमा र एक भाग चल्ला आराम गरेको वा घुमफिर गरेको हुनुपर्दछ ।
(ख)ट्रानजिक्स्नल भेन्टिलेसन : मिनिमम भेन्टिलेसनमा प्रयोग हुने सानो फ्यानका साथै खोरको पछाडि भएको टनेल फ्यान संख्याको अधिकतम ५० प्रतिशतसम्म प्रयोग गर्न सकिन्छ । मिनिमम भेन्टिलेसनले नधान्ने तर टनेल चलाउँदा कुखुरालाई चिसो लाग्ने डर भएमा यो भेन्टिलेसन प्रयोग गरिन्छ । पूर्ण क्षमतामा यो भेन्टिलेसन प्रयोग गर्दा खोरको सबै हावा दुई मिनेटमा एक्सचेन्ज भइसक्नुपर्छ ।
यो पनि नेगेटिभ प्रेसरमा आधारित भेन्टिलेटर सिस्टम हो । ४० फिटको खोरमा यो भेन्टिलेसन प्रयोग गरिन्छ । साइड इनलेटको ओपनिङ र पंखाको संख्या बढ्दै गए पनि प्रेसर २०–२५ पास्कल हुनुपर्दछ । कन्ट्रोलरबाट खोरभित्र जाने हावाको गति ६.५ मिटर पर सेकेण्ड (१२०० एफपिएम) हुनुपर्दछ ।
(ग) टनेल भेन्टिलेसन : यो भेन्टिलेसन गर्मी समयमा प्रायः गरेर ठूला कुखुराको लागि प्रयोग गरिन्छ । यो सिस्टममा कुलिङ प्याडबाट वहने चिसो हावा द्रुत गतिमा कुखुराको शरीरलाई छुँदै पंखाबाट बाहिर जान्छ । पूर्ण क्षमतामा यो भेन्टिलेसन प्रयोग गर्दा खोरको सबै हावा १ मिनेटमा एक्सचेन्ज भइसक्नुपर्छ । चिसो हावा गतिले बग्दा wind chil असर देखिन्छ जसले गर्दा कुखुराले वास्तविक तापक्रमभन्दा धेरै कमको अनुभूति गर्दछ । Heat stress हुनबाट जोगिन्छ ।
ठूलो ब्रोइलरका लागि ३.५ मिटर पर सेकेण्ड (७०० फिट पर मिनेट सम्मको हावाको गति आवश्यक पर्छ । यो गतिमा खोरभित्रको प्रेसर ०.१५ देखि ०.१८ inches of water (३८–४६ पास्कल) हुनुपर्दछ ।
यो भेन्टिलेसन चलेको बेलामा कन्ट्रोलरमा देखिएको वास्तविक तापक्रमभन्दा पनि कुखुराले अनुभव गरेको तापक्रममा ध्यान दिनुपर्दछ । यो भेन्टिलेसन चलेको जुनसुकै बेलामा पनि कम्तीमा २० प्रतिशत कुखुरा उठेको, २० प्रतिशत कुखुरा दाना खाएको र २० प्रतिशत कुखुरा पानी खाएको र बाँकी कुखुरा विश्राम गरेको वा खेलेको हुनु पर्दछ ।
कहिलेकाहीँ तापक्रम बढी सम्पूर्ण टनेल फ्यानको संख्या बढ्दा हावाको गति जबरजस्ती बढ्दछ । यस्तो अवस्थामा केही समयको लागि ब्रोइलर चुपचाप बस्दछ । यो ब्रोइलरको सामान्य बानी–व्यहोराभित्र पर्दछ ।
कुलिङ प्याड चल्दा धेरैजसो ब्रोइलर चिसोको खोजीमा कुलिङ प्याड क्षेत्रतिर जाने हुँदा ग्रुडिङ सकिएर पूरा खोरभरि कुखुरा हुनेबित्तिकै पार्टेसन राख्नु पर्दछ । पार्टेसनको उचाइ ४५ देखि ६० से.मि. हुनुपर्दछ भने पार्टेसनको प्वालले हावा छेक्नु हुँदैन ।
कुलिङ प्याडको प्वालहरू बन्द भएको हुनुहुँदैन । कुलिङ प्याड पूरै भिज्ने गरी पानीको आपूर्ति हुनुपर्छ । कुलिङ प्याड राख्दा Upside down हुनु हुँदैन । प्याडको प्रेसर ०.०६ इन्चभन्दा बढी हुनु हुँदैन ।
(८) Enviremental Controller : सबै किसिमको भेन्टिलेसन सिस्टमलाई सफलतापूर्वक चलाउनका लागि कन्ट्रोलन नभई हुँदैन । ब्रोइलरका लागि सकेसम्म बढी stage भएको कन्ट्रोलर राम्रो हुन्छ तर आवश्यकताअनुसार हरेक पंखालाई एउटा निश्चित समयमा चलाउन मिल्ने वा निश्चित बन्द गर्ने सिस्टम भए राम्रो हुन्छ । stepless (स्पोट कन्ट्रोल गर्न मिल्ने) सिस्टम भए अझ राम्रो हुन्छ ।
खोरभित्रको तापक्रम मात्र नभई अमुनिया, कार्वनडाइअक्साइड, कार्वनमोनोअक्साइड, आद्रता आदि सबैलाई मनिटर गरी भेन्टिलेसन मिलाउन सक्ने कन्ट्रोलर हुनुपर्दछ । खोरभित्रको मात्र नभई बाहिरी तापक्रम, बाहिरी आद्रता, हावाको बेग, हावाको बेगको दिशा आदिलाई मनिटर गरी उपयुक्त वातावरणमा दिनसक्ने कन्ट्रोलरहरू बजारमा आइसकेकाले यस्ता कन्ट्रोलर प्रयोग गर्नु बुद्धिमानी मानिन्छ ।
केही कम्पनीले तापक्रम मात्र हेरी खोरको वातावरण मिलाउने कन्ट्रोलर बजारमा ल्याइएको हुँदा यस्ता कन्ट्रोलर खोरहरूका लागि प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
(९) दक्ष जनशक्ति : ब्रोइलरको क्लोज्ड हाउस चलाउनका लागि कुखुराको भाषा बुझ्नुको साथै कन्ट्रोलर चलाउन सक्ने, हावाको गति नाप्न सक्ने, खोरको प्रेसर नाप्न सक्ने जनशक्ति चाहिन्छ । अदक्ष जनशक्तिबाट आधुनिक ब्रोइलर पालन सम्भव छैन ।
लेखक डा.दीपक सुवेदी पशु चिकित्सक एवं पोल्ट्री विज्ञ हुनुहुन्छ ।
प्रतिक्रिया