वैदेशिक रोजगारीमा जानबाट रोकिएका गैरे कुखुरापालनमा रमाउँदै

फल कुखुरापालक युवा कृषक प्रवीण गैरेले त्यतिबेला भर्खर स्नातक अध्ययन पूरा गरेका थिए । तर उनको हातमा न सीप थियो न जागिर ।

देशमा गैरेकै जस्तो परिस्थितिमा उभिएका धेरैको गन्तव्य थियो, विदेश । कोही विद्यार्थी भिसामा त कोही कामदार भिसामा जान्थे । पहुँचवालाको गन्तव्य बेलायत, जापानजस्ता प्रभावशाली मुलुक हुन्थ्यो भने निम्छरोको खाडीलगायत । थाहा छैन, विगतदेखिको यो सिलसिलाको अन्त्य कहाँ पुगेर हुने हो ?

जति पनि पनि जुन पेशा, व्यवसाय र सोचमा मानिस छन्, त्यसमा वातावरणको ठूलो प्रभाव रहन्छ । गैरेलाई पनि बहुसंख्यक युवाको जस्तै वैदेशिक रोजगारीमा जाने भूत सवार भयो ।
यसकै लागि नागरिकता बनाए । त्यसपछि पासपोर्ट बनाएर वैदेशिक रोजगारीमा हेलिन उनको सोच थियो । तर सफल भएन ।
किन त ?
‘बुवालाई थाहा नदिई नागरिकता बनाएर पासपोर्ट बनाउने योजना साथीबाट बुवासम्म पुगेछ । त्यसपछि बुबाले नागरिकता नै लुकाइदिनुभयो,’ विदेश जाने योजना तुहिनुको कारणबारे उनले खुलाए ।
‘विदेश नजाओस भन्ने चाहा भए पनि कुखुरा नै पालोस्चाहिँ भन्नु भएन । जे गर्ने गर तर नेपालमै गर भन्ने बुवाको ढिपी थियो,’ उनले भने ।पुर्खौली थलो बागलुङबाट प्रवीणका पिता चितवन झरेका थिए । ०२२ सालमा चितवन झरेपछि जग्गाजमिन खनजोत गर्दै हुर्किएका उनीहरु ०४८ सालदेखि कुखुरापालन व्यावसायमा होमिए ।

प्रवीणको पुर्खौली थलो बागलुङ हो । उनका बुवा त्यहीबाट चितवन झरेका थिए । ०२२ सालमा चितवन झरेपछि खेतपाती उनीहरू मुख्य पेशा थियो । ०४८ सालदेखि भने कुखुरापालन व्यावसायमा होमिए ।विदेश जाने बाटो बन्द भएकाले प्रवीणलाई देशमा केही गर्नैपर्ने बाध्यता थियो । सानैदेखि बुबाले गरेको काम देखेका उनले नेपाल छोड्न नपाउने नै भएपछि उही कुखुरा नै पाल्ने योजना बनाए ।

दुई दाजुभाइमध्येका २१ वर्षीय प्रवीणले हिम्मत गरे, बुवाआमासहित काठमाडौं जाने र कुखुरा पालन गर्ने । काठमाडौंमा कुखुराको बजार राम्रो भएकाले उनले यस्तो योजना बनाएका थिए । काठमाडौंको थलीलाई उनले त्यसका लागि मुकाम बनाए ।

प्रवीण भर्खंर २९ वर्षका भए । काठमाडौंको मुलपानीमा अहिले उनका १३ हजार लेयर्स कुखुरा हुर्किरहेका छन् ।
कुखुरापालन व्यवसायको यो दौरानमा उनले निकै आरोह र अवरोह झेलेका छन् । ०७१ सालमा त उनले ठूलो नै व्यहोर्नुपर्‍यो ।

कुरा ०७१ सालको हो । त्यसबेला उनको खोरमा टनाटन कृुखुरा थिए । चाइनिज आइभीको प्रकोप आइदियो । त्यसबाट खोरका कुखुरा जोगाउन उनले प्रयास नगरेका होइनन् । तर उनको केही लागेन । ३० लाख बराबरको नोक्सानी भयो ।

भर्खंर व्यवसायमा बामे सर्दै गरेको तन्नेरीमा यो ठूलो सेटब्याक थियो । त्यसैले भयभीत हुने नै भए । प्रवीणका अनुसार, यति ठूलो क्षति भएपछि उनी विकल्प सोच्नुपर्ने स्थितिमा पुगेका थिए । तर विकल्पहीन बनेको उनी सुनाउँछन् । ‘भर्खंर-भर्खंर कुखुरापालन व्यवसाय थालिरहेको बेला ३० लाख रूपैयाँ बराबरको क्षति भोग्नुपर्दा पहाड नै खसेजस्तो भयो । पलायन हुने स्थिति करिब करिब बनेको थियो,’ उनले भने, ‘तर त्यसरी थालिसकेको व्यवसाय छाडेर अन्यत्र जाने अवस्था थिएन । म विकल्पहीन थिएँ ।’

तर व्यवसायको रफ्तारमा भने यो घटनाले नराम्रोसँग प्रभावित भयो । गैरे यसपछि आफू फराकिलो क्षीतिजमा सोच्न सक्ने भएको सुनाउँछन् ।

कुखुरापालनमा नोक्सानी परे पनि विकल्पहरू धेरै थिए । त्यसैलाई प्रयोग गरेर गैरे किसानले पालेका कुखुराका अण्डा जम्मा गर्न थाले । जसलाई उनी नाफा खाएर पसलपसलमा बिक्री गर्थेँ । चिनेजानेका किसानलाई दाना पनि सप्लाइ गरे व्यवसायमा अनिकाल परेको त्यो समय । कुखुराको खोर रित्ता थिए । यता खल्तीमा पैसा जम्मा हुँदै थियो । त्यसपछि उनले फेरि खोरमा कुखुरा हुले । गैरे एक पटक व्यवसायमा धक्का लागे पनि अहिले त्यसले गति लिएको बताउँछन् ।

कुखुरापालनको आम्दानी सन्तोषजनक रहेको बताउने प्रवीणका अनुसार कुखुरा पाल्ने किसानले कमाउने चोखो आम्दानी भनेको कुखुराको मल र अण्डा दिन छोडेपछि कुखुरा बिक्री हुँदा आउने रकम हो । कुखुराले महिनौं दिने अण्डा त खर्चमै ठीक्क हुन्छ ।

ब्रोइलर कुखुराको तुलनामा लेयर्स कुखुरा लामो समय पाल्नुपर्ने भएकाले रोगको महामारी आउँदा निकै ठूलो नोक्सानी बेहोर्नुपर्ने गैरेको अनुभव छ । ‘ब्रोइलर कुखुराको तुलनामा लेयर्स कुखुरा लामो समय पाल्नु पर्ने हुन्छ । यदि कुनै महामारीजन्य रोग आएको अवस्थामा सारै दुःख हुन्छ,’ उनले भने ।

कुखुरापालन व्यवसायलाई बैंक,वित्तीय क्षेत्रबाट उदारतापूर्वक सहयोग नगरिएको गैरे बताउँछन् । उनका अनुसार, लगानीको लागि बैकबाट लोन लिँदा ब्याजदर चर्को लिइन्छ । यसमा उनी निकै दुःखी रहेछन् ।
‘लगानी त साथीभाइहरूसँगको सरसापट नै हो,’ उनले भने, ‘बैंकबाट सहुलियतपूणर् ऋण त हामीले कहाँबाट पाउनू ।’
लगानीका लागि बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित सहयोग नमिले पनि गैरेले हारेका भने छैनन् । उनी जसरी पनि खोरमा २० हजार लेयर्स पुर्‍याउने योजनामा लागिपरेका छन् ।

आफ्ना कुखुरालाई चाहिने दाना पनि गैरे आफैं उत्पादन गर्ने सोचमा छन् । दाना खरिद गरेर खुवाउन महँगो पर्ने भएकाले आफ्ना लागि आफैं दाना बनाउने सोच आएकोे भनाइ छ ।

कुखुरापालन व्यवसायीले राज्यमा योगदान पुर्‍याइरहे पनि अपेक्षित सहयोग नपाएको गैरेको गुनासो छ । दाना र औषधिमा अचाक्ली मूल्य वृद्धि भए पनि त्यसतर्फ ध्यान नपुगेको उनले बताए ।

‘कुखुराको दाना र औषधिको मूल्य अचाक्ली वृद्धि भएको छ,’ उनले भने, ‘तर राज्यले यसतर्फ कुनै चासो नै दिएको छैन ।’ बजारमा मनपरी हुँदासमेत राज्य अनुगमन नगरेर रमिते बनेको उनको भनाइ छ । उनले उत्पादित वस्तुको बजारमा पनि उत्तिकै समस्या रहेको औंल्याए । गैरेका अनुसार, दुःख गर्ने किसान नोक्सानीमा पर्ने अनि बिचौलियाचाहिँ मालामाल हुने अवस्था अहिले नेपाली बजारमा विद्यमान छ ।

बजार किसानमैत्री नरहेकाले त्यसतर्फ उचित ध्यान दिन उनले सरोकारवाला निकायलाई सुझाए । कुखुरापालक किसानको राहत र अनुदानमा पनि उत्तिकै समस्या रहेको गैरे सुनाउँछन् । उनका अनुसार पाउनुपर्नेले अनुदान पाइरहेका छैनन् भने नपाउनेले कुम्ल्याइरहेका छन् । ‘जसका लागि अनुदान लक्षित गरेको हो, उसले पाइरहेको छैन,’ उनले भने, ‘लक्षित वर्गले नपाएर अरूले पाउने अवस्थाको अन्त्य जरुरी छ ।’

कुखुरापालनमा पछिल्लो समय आकर्षण बढेको छ । यसमा पनि युवा पुस्ताको संख्या बढी छ । कुखुरापालनमा उपस्थिति बढ्नु सुखद् पाटो भए पनि बिना अध्ययन हात हाल्नु घातक रहेको गैरे बताउँछन् । यसले गर्दा समस्या निम्तिएको र त्यसविरुद्ध लड्न समस्या भएको उनको अनुभव छ ।
‘कुखुरापालनमा अहिले बिना अध्ययन लगानी गर्ने क्रम बढेको छ,’ कुराकानीमा पूणर्विराम लगाउँदै उनले थपे, ‘यदि कोही यो क्षेत्रमा आउन चाहनुहुन्छ भने अध्ययन गरेर मात्र आउनुहोला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *