स्वस्थ र गुणस्तरीय पशुपन्छी उत्पादन गण्डकीको प्राथमिकतामा छ : मन्त्री बुढा
पोखरा । गण्डकी प्रदेशको भूमि व्यावस्था,कृषि,सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले स्वस्थ र गुणस्तरीय पशुपन्छी उत्पादनलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल भेटेरिनरी एसोसिएसनको राष्ट्रिय सम्मेलन तथा १४ औं वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले खाद्य तथा पोषण सुरक्षामा प्रदेश सरकारले कदम अघि बढाउने जानकारी दिए ।
‘स्वस्थ र गुणस्तरीय पशुपन्छी उत्पादन अहिलेको आवश्यकता हो । यसलाई बुझेर गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ,’ उनले भने ।
मन्त्रालयले पशुपन्छी व्यवसायलाई परिणाममुखी भएको हेर्न चाहेकोसमेत बताए । जलवायु परिवर्तनसँगै नयाँ–नयाँ प्रकतिका रोग देखापरेकाले त्यसको नियन्त्रण, निर्मूल आवश्यक रहेको पनि उनले औंल्याए ।
कतिपय रोगहरू पशुपन्छीबाट मानिसमा सर्ने उल्लेख गर्दै उनले यसको नियन्त्रणमा जोड दिए । यसमा नेपाल भेटेरिनरी एसोसिएसनले प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने उनको मत छ । प्रदेश सरकारले गण्डकी प्रदेशमा पशुपन्छीमा देखिएका रोग नियन्त्रण गर्न खोप प्रयोगलाई व्यापक बनाउने र सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने योजना बनाएको पनि उनले उक्त अवसरमा जानकारी गराए ।
भेटेरिनरी क्षेत्रको समस्या समाधान गर्न पहिले त्यसको पहिचान गर्नुपर्ने उल्लेख गर्दै उनले पशुपन्छी चिकित्सकलाई आफ्ना योजना पस्किएर सहयोग गर्न अपिल गरे । ‘पुरातन सोच र तरिकाले काम गर्दा कहीँ पनि पुगिँदैन । त्यसैले त्यसलाई भत्काएर नयाँ तरिकाबाट अगाडि बढ्नु पर्छ,’ उनले भने ।
नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले नेपाल भेटेरिनरी एसोसिएसनले गौरवशाली इतिहास रचेको बताए । यो इतिहास निर्माण हुनुमा अग्रजहरूको योगदान रहेको उल्लेख गर्दै उनले तिनको स्मरण गरे ।
डा. श्रेष्ठले देशमाथि आइपरेको संकट समाधानमा नेपाल भेटेरिनरी एसोसिएसन सधैं उभिएको स्मरण गर्दै कोभिड महामारीमा भेटेरिनरियनले पुर्याएको योगदान स्मरण गराए ।
भेटेरिनरी एसोसियसन भारत, बंगलादेश र श्रीलंकाका अध्यक्षहरूको समेत कार्यक्रममा उपस्थिथि थियो । उनीहरू नेपाल भेटेरिनरी एसोसिएसनले सहकार्यका लागि आफूहरुलाई निमन्त्रण गरेर सकारात्मक सन्देश दिएको भन्दै प्रशंसा गरे ।
सहभागीहरूले नेपाल सरकारले पशुपन्छीसँग सम्बन्धित विभिन्न विषयमा विभिन्न मितिमा अन्तर्राष्ट्रिय प्रतिबद्धतामा नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको स्मरण गराउँदै यसको समीक्षा गर्नुपर्ने आवश्यकता पनि औंल्याए । नेपालले सन् २०३० सम्ममा रेबिजका साथै खोरेत, पिपिआरलगायत रोग उन्मूलन गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा नेपालका पशु चिकित्सकका अलावा श्रीलंका, बंगलादेश र भारतका भेटेरिनरी चिकित्सकहरूको समेत उपस्थिति र प्रस्तुति रह्यो ।
कार्यक्रममा एसोसिएसनमा आबद्ध देशभरका भेटेरिनरी चिकित्सक, विदेशी संघ संगठनका शुभेच्छुक, सरोकारवाला उल्लेखनिय सहभागिता थियो ।
नेपाल भेटेरिनरी एसोसिएसन भेटेरिनरी चिकित्सकहरूको छाता संगठन हो । पोखरामा जारी एसोसिएसनको राष्ट्रिय सम्मेलन तथा १४ औं वार्षिक साधारणसभा शनिबारसम्म चल्नेछ ।