नेपालमा पनि भेटियो घातक अफ्रिकन स्वाइन फिभर

काठमाडौं । नेपालमा पनि अफ्रिकन स्वाइन फिभर रोग देखापरेको छ । भरपालुवा सुँगुर, बुंगुर तथा जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने यो रोग नेपालमा पहिलोपटक पुष्टि भएको हो ।

काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरको नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
विभागका अनुसार, यसको थप पुष्टिका लागि अस्ट्रेलियास्थित रिफरेन्स प्रयोगशालामा लगिएकोमा त्यहाँ पनि उस्तै रिपोर्ट आएको छ । पहिलोपटक कुनै रोगको आशंका भएको अवस्थामा त्यसलाई पुष्टि गर्न विश्व स्वास्थ्य संगठनले तोकेको स्थानमा परीक्षण गर्नुपर्ने मापदण्ड छ ।

यो रोग पशुबाट मानिसमा भने सर्दैन

यो रोग सबैभन्दा पहिले अफ्रिका महादेशमा पुष्टि भएको थियो । सुरुवातमा अफ्रिका महादेशमा मात्र सीमित यो रोग सन् २०१८ मा चीन र त्यसपछि आसियान क्षेत्रका मुलुक हुँदै छिमेकी देश भारत र भुटानमा देखिएको थियो ।

विभागका अनुसार, यो रोग कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी, भक्तपुरको चाँगुनारायणलगायत क्षेत्रमा फैलिएको छ । जसबाट हालसम्म १०१९ सुँगुर तथा बंगुर मरेका छन् ।
यस्ता छन् यो रोगका लक्षण
यो रोगबाट संक्रमित जनावरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउँछ । पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, वान्ता गर्ने, छेर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिनेजस्ता लक्षण पनि यो रोगमा देखिन्छ । विज्ञहरूका अनुसार यो रोग लागेको खण्डमा एकैपटक ठूलो संख्यामा सुँगुर, बंगुर तथा बदेल मर्न सक्छन् ।
रोगी बंगुर, त्यसका पाठापाठी, मासु वा पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजान सजिलै सर्ने खतरा रहन्छ ।
यो रोगको हालसम्म कुनै खोप तथा औषधि पत्ता लागेको छैन । त्यसैले यस्ता लक्षण देखिएमा तत्काल पशुसँग सम्बन्धित सरकारी कार्यालयमा जानकारी गराउन विभागले अपिल गरेको छ ।

अफ्रिकन स्वाइन फिभर देखिएपछि त्यसलाई फैलन नदिन सतर्कता अपनाइएको विभागले जनाएको छ । विभागका अनुसार, सीमा नाकामा रहेका क्वारेन्टाइनलाई सतर्क बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *