त्यतिबेला पशुपन्छीको औषधि ल्याउन एम्बेसीको सिफारिस चाहिन्थ्यो
पशुपन्छी औषधि व्यवसाय अहिले उद्योगका रूपमा स्थापित छ । देशभरका २५०० व्यवसायी त नेपाल पशुपन्छी औषधि व्यवसायी संघमा नै गोलबद्ध छन् । यो व्यवसायमा यति ठूलो आकर्षण एकै पटक निम्तिएको होइन । यसको आफ्नै लामो इतिहास छ । पशुपन्छी औषधि व्यवसायलाई श्रीगणेश गरेर यो अवस्थामा ल्याइपुर्याउन भूमिका खेल्ने व्यक्ति हुन्, तप्तराज वन्त । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका वन्तसँग पशुपन्छी औषधि व्यवसायको प्रारम्भिक अवस्था, चुनौती, समस्या र समाधानलगायत विषयमा केन्द्रित रहेर विष्णु पाण्डेयले गरेको संवाद ः-
तपाईं नेपाल पशुपन्छी औषधि व्यवसायी संघको पूर्वअध्यक्ष हुनुहुन्छ । संघको त्यतिबेलाको र अहिलेको गतिविधिबारे तुलना गरिदिनुहोस् न ?
पहिलेको र अहिलेको अवस्थामा निकै फरक छ । विगतमा औषधि कम्पनी र बिक्री गर्ने कम थिए । संघ/संस्थाहरू पनि थिएनन् । यस्तै शून्यताको बीचमा पछि हामीले संस्था गठन गर्यौं । जसले व्यवसायीहरूको हक/हितबारे पैरवी गर्न सजिलो भयो ।
तपाईं संघमा आबद्ध रहँदाका बखत व्यवसाय गर्न के, कस्ता समस्या थिए ?
पशुपन्छी व्यवसायी संगठित हुँदाका सुरुवाती दिनमा यससँग सम्बन्धित निकाय खडा भइसकेका थिएनन् । अहिले औषधि व्यवस्था विभाग छ नि त्यो हामी संगठित हुँदा थिएन । औषधि उत्पादक कम्पनी नगण्य थिए । विदेशबाट औषधि आयात गर्न उत्तिकै असुविधा थियो । सुरुमा ब्ल्याक सो भन्ने एउटा कम्पनीले भिटामिनको लिक्विड निकालेको थियो । रोबी मिस भन्ने एउटा रुसी कम्पनी भारतमा खडा गरिएको थियो । त्यसले भिटामिन ए, बी २, बी ३ उत्पादन गथ्र्यो । उत्पादन छिमेकी मुलुकमा त हुन्थ्यो तर त्यसलाई आयात गर्नै महाभारत । एम्बेसीको सिफारिस लिनुपथ्र्यो । दूतावासले सिफारिस दिएपछि लैनचौर आइपुग्थ्यो । त्यसलाई रिसिभ गर्न हामी त्यहाँ पुग्थ्यौं । दाना त त्यतिबेला उत्पादन नै हुँदैनथ्यो ।
तत्कालीन अवस्थामा पशुपन्छी औषधि व्यवसायी संघ गठन गर्नुपर्छ भन्ने सोचचाहिँ कसरी पलायो ?
हामीले पशुपन्छीका औषधि कारोबार गर्दा सिरिप दुई पसल थिए । एउटा म आफैंको भेटेरिनरी कन्सर्न, अर्को वोटुको । वोटुमा रत्न फिडको फिड सप्लायर्स हाउस थियो । यसका मालिक ठेकेदार हुन् । राणाका गाइवस्तुलाई दाना सप्लाइ गर्थे । पछि विस्तारै उनी दाना उत्पादनमा आकर्षित भए । उतिबेला यसले मान्छेको भिटामिन मिसाएर दाना बनाउँथ्यो । यो व्यवसाय थाल्ने हामी दुई जना मात्र भएकाले संस्था खोल्ने कुरै भएन ।
कम्पनी तथा व्यवसायी थपिने सिलसिला कसरी अघि बढ्यो भन्ने जिज्ञासा पशुपन्छी औषधि व्यवसायीमा हुनसक्छ । यसबारे थोरै स्मरण गरिदिनुहोस् न ?
रत्न फिडको भित्री स्टोरमा काम गर्न कामदार राखिएको थियो । मैले पनि उसैगरी काम गर्ने मानिस राखेको थिएँ । तिनले
काम गर्दै जाँदा ज्ञान, सीप हासिल गरे । सक्षम भइसकेपछि तिनले आफ्नै व्यवसाय सुरु गरे । यस्तै-यस्तै गरी यो व्यवसायमा आकर्षण बढ्दै गयो । सन् १९६१ तिरबाट कुखुरापालन व्यवसाय पनि सुरु भयो । न्यू ह्याम्सपायर जातको कुखुरा पहिलो पटक अस्ट्रेलियाबाट नेपाल भित्राइयो । यसरी अस्ट्रेलियाबाट कुखुरा ल्याउने कामको अगुवाइ तत्कालीन श्री ५ को सरकार स्वयंले गरेको थियो । प्रारम्भमा त्यसलाई काठमाडौंमा परीक्षणका रूपमा पालिएको थियो । तर सोचेअनुरूप भएन । त्यसपछि परवानीपुरमा लगेर ह्याचरी राखियो । त्यहाँबाट चल्ला उत्पादन सुरु भएपछि व्यावसायिक कुखुरापालनको सिलसिला सुरु भएको हो ।
तपाईंले त दाना उद्योग पनि खोल्नुभयो होइन ?
व्यावसायिक कुखुरापालन सुरु भएपछि दानाको माग आयो । म आफैंले ललितपुरको पाटन औद्योगिक क्षेत्रमा त्यसलाई सम्बोधन गर्नेगरी दाना उद्योग खोलेँ । एनिमल एण्ड पोल्ट्री फिड इण्डष्ट्री त्यसको नाम थियो । यो ०२८ सालतिरको कुरा हो । प्रतिस्पर्धा हामी दुईबीच मात्र थियो । ०२८ देखि ०४५ सालसम्म खासै प्रतिस्पर्धा थिएन । पछि जनसंख्या बढ्यो, प्रविधिले पनि छलाङ हान्यो । नयाँ-नयाँ उद्योग आए । सुरुमा अण्डा उत्पादन गर्ने लेयर्स मात्र थियो । ब्रोइलरचाहिँ अमेरिका, बेलायतलगायत मुलुकमा हुन्थ्यो । यसलाई पछि नेपालमा भित्राइएको हो ।
तपाईंको बिँडो थाम्दै छोरा, नाति पुस्ताले व्यवसाय धानिरहेका छन् । तपाईंको बाबुबाजेको पेशा व्यापार नै थियो कि अरू केही ?
मेरो पुख्र्यौली थातथलो गोरखा बगुवा हो । त्यहाँ मेरो पुर्खाको विर्ता नै थियो । त्यहाँ हामीलगायत २/४ सय रैतीको बसोबास थियो । अहिले पनि छ । म ००४ सालमा काठमाडौं आएको हुँ । ०१६ मा त्रिचन्द्र कलेज पढ्दै थिएँ । विषय थियो, कमर्स । त्यहीँबाट आई. कम गरेँ । काठमाडौंमा बसेर मात्र हुँदैनथ्यो, टिक्नका निम्ति केही केही गर्नैपर्ने थियो । यस्तै महसुस भइरहेका बेला श्री ५ को सरकारले पोल्ट्री व्यवसाय प्रवद्र्धन नीति अघि सार्यो । अस्ट्रेलियाबाट कुखुरा झिकाइयो । त्यसरी कुखुरा झिकाउनुको उद्देश्य थियो, डेमोन्स्ट्रेसन फार्म स्थापना गर्नु । स्थापना भयो पनि । यो देखेर म कुखुरापालनप्रति आकर्षति भएँ पनि । सुरुमा केही समय कुखुरा पनि पालेँ । कुखुरालाई अनेक रोग लाथ्यो तर भ्याक्सिन, औषधि केही थिएन । दानाको पनि उस्तै अभाव । यस्तै चल्दाचल्दै ०२३ सालमा दानाको काम सुरु गरेँ । बीचमा यो काम छाडेर औषधिको काम थालेँ । औषधिको पसलचाहिँ काठमाडौंको क्षेत्रपाटीमा थियो । पसल खोलेपछि भिटामिनको एजेन्सी लिएँ । एवं रीतले अरू अरू सम्बन्धित काम पनि गर्दै गएँ ।
बजारचाहिँ कस्तो थियो उतिबेला ?
त्यतिबेला व्यापार अहिलेजस्तो थिएन । अहिले व्यापार जनतासँग हुन्छ । त्यतिबेला श्री ५ को सरकारसँग मात्र व्यापार हुन्थ्यो । महिनामा १० देखि २० टन भिटामिन बिक्री गर्न अहिले कुनै आइतबार छैन । तर त्यतिबेला १० केजी भिटामिन बिक्री गर्न पनि निकै गाह्रो पथ्र्यो ।
व्यापारमा अहिले पनि प्रत्यक्ष संलग्न हुनुहुन्छ कि ?
मेरो त उमेरले पनि नेटो काटिसक्यो । ८७ वर्षको भएँ । ८३ वर्षसम्म त सक्रियतापूर्वक आफ्नो काम गरिरहेको थिएँ । विगत ४-५ वर्षदेखि भने सक्रिय हुन सकेको छैन । स्वास्थ्यमा पनि समस्या छ । सानातिना काम मात्र मैले गर्छु । यसको मुख्य जिम्मेवारी छोरालाई सुम्पिएको छु ।
संघको नेतृत्व परिवर्तन भइराख्ने तर समस्या ज्यूँकात्यूँ रहने गुनासो सुनिन्छ । पूर्वअध्यक्षको नाताले यो संघ कस्तो होस् भन्ने चाहना छ ?
यहाँ त अहिले एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति छ । साम, दाम, दण्ड, भेद प्रयोग गरेरै भए पनि माथि जाने संस्कार छ । आफ्नै हात जगन्नाथ गर्नेतर्फ पनि धेरैको रुचि देखिन्छ । यो राम्रो होइन । सबैलाई फाइदा होस् भन्ने हिसाबले सोचेर म्युचुअल अण्डरस्ट्याण्डिङ कायम गर्नु अहिलेको आवश्यकता हो । सारमा भन्नुपर्दा सबैको भलो गर्ने नेतृत्व हुनुपर्यो ।
यहाँले भन्नुपर्ने तर मैले छुटाएको केही कुरा छ कि ?
सबैको भलो होस् भन्ने सोच राखियो भने देशलाई नै राम्रो हुन्छ । त्यसैले म जति पनि पशुपन्छी औषधि व्यवसायी हुनुहुन्छ, उहाँहरूलाई आफ्नो मात्र नभएर सबैको भलाइबारे सोचिदिनुहोस् भन्न चाहन्छु ।