अध्यक्षका प्रत्यासीलाई ,इतिहास दोहोरिने भय
भैरहवा । नेपाल पशुपन्छी औषधि व्यावसायी संघको नेतृत्वलगायत पदमा चर्को प्रतिस्पर्धा देखिएको छ । यही फागुन २० र २१ गते रूपन्देहीको भैरहवामा महाधिवेशन मिति तय भएसँगै आफ्नो पल्लाभारी बनाउन व्यवसायी दौडधूपमा छन् । संघको १३ औं राष्ट्रिय महाधिवेशन तथा ३१ औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि नेतृत्व चयन हुनेछ ।
संघको अध्यक्षमा अहिलेसम्म दुई जनाले आकांक्षा देखाएका छन् । यज्ञराज ढकाल र पूणर्चन्द्र सापकोटाले अध्यक्षमा रुचि देखाएका हुन् । आकांक्षीमध्ये ढकाल केन्द्रीय उपाध्यक्ष र सापकोटा केन्द्रीय सल्लाहकार हुन् ।
दोस्रो परीक्षामा ढकाल
पशुपन्छी औषधि व्यवसायमा भिजेका व्यक्ति हुन् यज्ञराज ढकाल । संघसँगको उनको आबद्धता लामै छ । त्यसैले उनले नेतृत्वमा लगातार रुचि देखाइरहेका छन् ।
नेतृत्व हत्याउने यही चाहना पूरा गर्न ढकाल यसअघिका एक महाधिवेशनमा अध्यक्षका रूपमा मैदानमा थिए । तर चुके । उनै ढकाल पशुपन्छी औषधि व्यवसायीमाझ पुनः दोस्रो पटक परीक्षा दिन खडा भएका छन् ।
पशुपन्छी औषधि व्यवसायमा तीन तह छ, आयातकर्ता, होलसेल र खुद्रा । ढकाल पहिलो लेयर अर्थात् आयातमा आबद्ध छन् । काठमाडौंमा उनको एमुना भेटेरिनरी डिष्ट्रिब्युटर्स छ । विभिन्न मुलुकबाट पशुपन्छीजन्य फिड सप्लिमेन्ट आयात गरेर उनले यही एमुनामार्फत देशभर पुर्याउँछन् ।
व्यवसायीमाझ भिजेको तथा हक/हितका लागि निरन्तर क्रियाशील रहेकाले यस पटक हार बाट आफू जोगिने ढकाल बताउँछन् ।
‘व्यवसायीको हक/हितका लागि निरन्तर क्रियाशील रहेको तथा समस्या पहिचानसमेत गर्नसक्ने भएकाले व्यवसायीले यस पटक मलाई आफ्नो मत दिएर जिताउनु हुनेछ,’ आफ्नो जित दाबी गर्दै ढकालले भने ।
प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार महाधिवेशनको सम्मुखमा गुणस्तरहीन फिड सप्लिमेन्ट बिक्री प्रकरणमा मुछिएका छन् । ढकालका लागि यो सबैभन्दा ठूलो प्लस प्वाइन्ट रहेको व्यवसायीहरू बताउँछन् । ढकाल आफैं वाग्मती प्रदेशका प्रभावशाली व्यावसायी हुन् । यो प्रदेशको मतलाई हार/जितमा निणर्ायक मानिन्छ । जहाँ उनको उपस्थिति निकै मजबुत देखिएको छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वअध्यक्ष नवराज तिमल्सेना, कम्पोज बडाल यस पटक ढकालको दाहिना भएका छन् । रेवतीरमण निरौला, प्रजापति बास्तोला र चित्रबहादुर गुरुङको साथ नहुने निश्चित भए पनि ढकाल आफू अगाडि नै रहेको दाबी गर्छन् ।
सापकोटालाई आफ्नै कर्म महँगो पर्नसक्ने
ढकालजस्तै सापकोटा पनि स्थापित पशुपन्छी औषधि व्यवसायी हुन् । पोल्ट्री हब मानिने चितवनलाई मुकाम जमाएर उनले यो क्षेत्रमा साम्राज्य खडा गरेको वर्षौं भइसकेको छ । चितवनलाई कार्यक्षेत्र बनाए पनि उनले विभिन्न मुलुकका पशुपन्छी औषधी एवं फिड सप्लिमेन्ट आयात गर्दै आइरहेका छन् । आयातकर्ताको अलावा उनी थोक बिक्रेता पनि हुन् ।
अनौठो संयोग के छ भने हारको ह्याट्रिकबाट जोगिनुपर्ने बाध्यतामा सापकोटा छन् । सापकोटा यसअघि दुई पटक अध्यक्षको प्रतिस्पर्धामा मैदानमा उत्रिएका थिए । तर दुवै पटक हारे । धुलिखेल महाधिवेशनमा निवर्तमान अध्यक्ष हेमराज बडालले उनलाई हराइदिएका थिए । विराटनगर महाधिवेशनमा सम्पन्न १२ औं महाधिवेशनमा भूपेन्द्रप्रसाद गौतमसँग उनको प्रतिस्पर्धा थियो । तर दोस्रो पटक पनि उनको भागमा विजय नपरेर पराजय नै पर्यो ।
सापकोटालाई हारको ह्याट्रिक हुनबाट जोगिएर जित निकाल्नुपर्ने छ । तर अवस्था सोचेजस्तो अनुकूल नरहेको व्यवसायी बताउँछन् । सापकोटाले आयात गरेर बिक्री गर्ने भिटामिन केही समयअघि गुणस्तरहीन प्रमाणित भएको थियो । सुरुमा आफूले आयात गरेको भिटामिन गुणस्तरयुक्त नै रहेको जिकिर उनले गरेका थिए । कतिसम्म भने उनले आफूलाई चुनावमा परास्त गर्ने चुनावी फण्डाका रूपमा त्यसलाई ब्याख्या गरे । आफूबारे सामाजिक सञ्जालमा प्रश्नको बिसौडी लागेपछि उनले प्रतिक्रिया दिएका थिए-चुनावी फण्डा । तर उनको दाबी धेरै समय टिकेन । सरकारी प्रयोगशालाले नै उनले आयात गरेको भिटामिनमा पानी नै पानी रहेको प्रमाणित गरिदियो ।
व्यवसायीहरू महाधिवेशनको मुखमा सापकोटाको कर्तुत सार्वजनिक भएकाले उनका लागि आफ्नै कर्म महँगो पर्नसक्ने आकलन गर्छन् । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षको प्रत्यासीको हैसियतमा भेट टाइम्सले उनीसँग भलाकुसारीको प्रयास गरेको थियो । तर पटक-पटक मोबाइल फोनमार्फत गरिएको सम्पर्कको प्रयास स्थापित हुन सकेन । साथै,उनलाई विषयवस्तु स्पष्ट पारेर पठाइएको म्यासेज उनले सिन गरे तर जवाफ भने फर्काएनन् । त्यसो त सापकोटा कमजोर उम्मेदवार भने होइनन् । वाग्मती प्रदेशअन्तर्गत पर्ने चितवनलाई आधार बनाएर व्यापार व्यवसाय गरिरहेकाले उनको उपस्थिति बलियो छ । तथापि, विगतमा उनको पक्षमा खुलेका श्यामसुन्दर शाह, रामकाजी बस्नेत, निशान्त भट्राईलगात व्यावसायीले सापकोटाको भूमिकाबाट चित्त दुखाएर यज्ञराज ढकाललाई समर्थन गर्ने निणर्य लिइसकेका छन् । तथापि, उनी अझै पनि चितवनमा प्रतिस्पर्धीभन्दा निकै अगाडि रहेको व्यवसायी बताउँछन् । पशुपन्छी औषधि व्यवसायीका अनुसार, अझै पनि उनको पक्षमा चितवनका ७० प्रतिशत व्यवसायी छन् ।
महाधिवेशन नजिकिएसँगै सापकोटाले भेटघाट बाक्लो पारेको अवस्था छ । अघिल्लो चुनावमा काठमाडौंकेन्द्रित व्यवसायी भूपेन्द्रप्रसाद गौतमसँग झिनो मतान्तरले हारेकाले उनी यसपटक रणनैतिक ढंगले माहोल क्रेट गर्दैछन् ।
गण्डकी प्रदेशमा पनि सापकोटाको राम्रो पकड छ । व्यवसायीका अनुसार, लुम्बिनी प्रदेशमा पनि ढकालको तुलनामा सापकोटाको अवस्था सुदृढ छ । अघिल्लो महाधिवेशनमा पनि लुम्बिनी प्रदेशका व्यवसायीको साथ सापकोटालाई थियो । अथक प्रयासका बावजुद जिताउन नसकेका लुम्बिनीका व्यवसायी यस पटक आफ्नै गृहनगरमा सापकोटालाई फूलमाला पहिर्याएर अध्यक्षको कुर्सीमा आसीन गराउने दाउमा छन् । यसका लागि प्रदेश अध्यक्ष प्रकाश श्रेष्ठले चर्कै लबिङ गरिरहेको पशुपन्छी औषधि व्यवसायीबीच चर्चा छ । बुटवलकेन्द्रित व्यवसायी चित्र गौतम, लक्ष्मण घिमिरेलगायतले समेत साथ दिने वचन दिएकाले सापकोटा हौसिएका छन् ।
व्यवसायिक संगठन भए पनि यसलाई राजनीतिक रंग दिने प्रयास यस पटक देखिएको छ । ढकाललाई एमालेको उम्मेदवारका रूपमा चिनाइएको छ भने सापकोटालाई कांग्रेस । नेल्टाका केन्द्रीय उपाध्यक्षसमेत रहेका लक्ष्मण घिमिरेले गठबन्धन मिलेर एमालेलाई हराउनै पर्ने भन्दै लागिरहेको स्रोत बताउँछ । यद्यपि लुम्बिनी प्रदेशअन्तर्गतको पाल्पा शाखाले मतदान गर्नेमा ढकाल पक्ष विश्वस्त छन् । भेट टाइम्सलाई प्राप्त जानकारी अनुसार प्रदेश नं.१, मधेस प्रदेश ,वाग्मती प्रदेश, कणर्ाली र सुदूरपश्चिम प्रदेशको मत विभाजन हुँदा ढकाल पक्ष सापकोटाभन्दा केही बलिया देखिएका छन् । यद्यपि यही अवस्थामा सापकोटालाई हराउन ढकाललाई सजिलो पक्कै छैन । ढकाल पक्षमा विभिन्न शाखाहरूले खुलेर चुनावी प्रचार गरिहँदा सापकोटाले आफ्ना पुराना व्यावसायीबाट सहानुभूति खोजेका छन् ।
सहमतिको प्रयास विफल
काठमाडौंकेन्द्रित ठूला आयातकर्ता अधिकांश पूर्वअध्यक्ष सकेसम्म चुनावमा नजाने पक्षमा छन् । चुनावमा जाँदा विभाजन आएको र त्यसले व्यवसायीको हित खण्डित पारेकाले सर्वसम्मतको विकल्पमा जानुपर्ने उनीहरूको मत छ ।
अध्यक्षका प्रत्यासीद्वय ढकाल र सापकोटालाई राखेर सहमति गर्ने प्रयाससमेत भित्रभित्रै चलिरहेको छ । अध्यक्षका प्रत्यासीमध्ये एकलाई यो कार्यकाल र अर्कोलाई अर्को कार्यकाल अध्यक्ष बनाउने भद्र सहमति निर्माण गरेर चुनाव
नगर्ने पूर्वअध्यक्षको चाहना छ । तर यो प्रस्तावलाई ढकालले अस्वीकार गरिसकेकाले प्रतिस्पर्धा निश्चितजस्तै भएको छ ।
उपाध्यक्षमा तिमिल्सेना,पाण्डे र रिमाल
संघको थोकतर्फका उपाध्यक्षमा काभ्रेपूर्व शाखाका पूर्वअध्यक्ष विकास शर्मा तिमिल्सेनाले उम्मेदवारी घोषणा गरको छन् । त्यसैगरी, आयाततर्फको उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष धनकुमारी अधिकारी (पाण्डे) ले उम्मेदवारी घोषणा गरेकी छन् । व्यावसायिक हक-हित र गुणस्तर कायमका विषयमा खरो उत्रने क्षमता राख्ने तिमिल्सेनालाई संघका पूर्वअध्यक्ष ऋषि बडालको साथ छ ।महाधिवेशन नजिकिदै गर्दा अर्का थोक व्यावसायी रितेश रिमाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे संगै रिमाल र तिमिल्सेनाको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । धनकुमारी अधिकारी (पाण्डे) को हकमा चुनाव नहुने हुँदा सर्वसम्मतको सम्भावना छ ।
महासचिवमा आकांक्षी नै आकांक्षी
अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा धेरैले रहर देखाएका छन् । पूर्व केन्द्रीय कोषाध्यक्ष दीपेश थापा, वर्तमान केन्द्रीय सचिव नारायणबहाजुर भुजेल र संघका केन्द्रीय समिति सदस्य साधुराम ढकाल (आशिष) र नरेश कर्माचार्यले हालसम्म उम्मेदवारी घोषणा गरिसकेका छन् ।
थापालाई यस अधिवेशनमा नेपाली कांग्रेसको पनि भाग चाहिने भन्दै संघका पूर्वअध्यक्ष हेमराज बडालको जोडवलमा उम्मेदवार बनेको चर्चा छ । भुजेलले चाहिँ यज्ञराज ढकालको प्यानलमार्फत नेकपा एमालेकै प्रतिनिधिस्वरूप उम्मेदवारी दिएको बताइन्छ । हालसम्म राजनैतिक दाग नदेखिएका ढकालले सहकार्य र सहमतिको नारा अगाडि सार्दै यस पटक पनि बिनाप्रतिस्पर्धा महासचिव हत्याउन पाउनेमा आशावादी बनेको जानकारहरू बताउँछन् । यद्यपि, नेकपा (एस) बाट पुनः एमालेमा फर्किएका वर्तमान महासचिव नारायणप्रसाद खनालले पनि एक कार्यकाल महासचिवमा रुचि राखेको चर्चा छ । स्मरणरहोस् नेपाल पशुपन्छी औषधी व्यावसायी संघले नेकपा एमालेको पौष २२ र २३ मा रहेको सम्मेलनकै कारण आफ्नो महाधिवेशनको मिति परिवर्तन गरेको थियो । यसरी कुनै एक राजनैतिक दलका कारण महाधिवेशन सारेर संघमा विधिवत् रूपमा राजनीति घुसाएकोमा संघका सदस्यहरूले नेतृत्वको विरोध गर्ने गरेका छन् ।
सचिवमा कार्की र कट्टेलको दाबी
यस्तै आसन्न अधिवेशनमा सचिव पदमा अहिलेसम्म वाग्मती प्रदेश इञ्चार्ज साजन कार्की र र केन्द्रीय सदस्य दिनेश कट्टेलले मात्र आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कट्टेल पूणर्चन्द्र सापकोटा प्यानलका उम्मेदवार हुन् भने कार्की यज्ञराज ढकाल प्यानलबाट उम्मेदवार बन्ने चर्चा छ । नेपाल पशुपन्छी औषधि व्यावसायीको आगामी अधिवेशनमा सचिव पदमा समेत गठबन्धन र नेकपा एमालेको तर्फबाट प्रतिपर्धा हुने देखिएको छ । चितवनका व्यवसायी कट्टेल नेकपा माओवादी केन्द्र निकट भएकाले गठवन्धनको उम्मेदवार रहेको र कार्की एमाले निकट व्यावसायी हुन् ।
कोषाध्यक्षमा सुवेदी
यस्तै आसन्न अधिवेशन केन्द्रीय कोषाध्यक्षमा सुना सुवेदी बडालले उम्मेदवारी दिएकी छन् । प्रतिस्पर्धामा अहिलेसम्म कोही अगाडि नआएकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ । कान्तिपुर भेट डिष्ट्रिव्युटर्सकी सञ्चालकसमेत रहेकी सुवेदीले आफूलाई जिम्मेवारी दिएमा संघको कोष मजबुत बनाउने दाबी गरिन् । साथै महिला सहभागिता पनि बढाउने उनको भनाइ छ ।
केन्द्रीय सदस्यमा समेत प्रतिस्पर्धा
आसन्न अधिवेशनमा संघको केन्द्रीय सदस्यमा समेत प्रतिपर्धा हुने देखिएको छ । प्राप्त पछिल्लो जानकारीअनुसार प्रत्येक प्रदेशबाट एक/एक जनाको दरले प्रदेश इञ्चार्जको रूपमा केन्द्रीय सदस्य पाउनेछन् भने खुल्लातर्फबाट चार सदस्य चुनिने छन् । केन्द्रीय सदस्यमा अहिलेसम्म राजेन्द्र थापा मगर, केपी लम्साल झापाबाट कमल बराल र चितवनका अशोक शर्माको चर्चा छ ।