नेतृत्व परिर्वतन किन र केका लगि ?

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको स्थापनाकालदेखि हालसम्म धेरै पटक नेतृत्व परिवर्तन भए । उसैगरी समितिहरू बने, सल्लाहकार नियुक्त भए । संघ कसरी अगाडि बढ्यो, कुन नीति विधि र पद्धतिमा हिँड्यो ? कतिबेला कस्ता समस्या आए ? समाधानमा कस्ता-कस्ता नीति अवलम्बन भए ? तिनको कार्यान्वयन भयो कि भएन ? यसले मिहीन समीक्षा माग गथ्र्यो र गर्छ । तर हामीले कहिल्यै यसको लेठो गरेनौं ।

विधानतः हरेक २/२ वर्षमा महाधिवेशन गर्नुपर्छ । त्यो महाधिवेशन आउँछ, नेतृत्वमा जान तँछाड मछाड हुन्छ । प्रतिस्पर्धामा अब्बल विजयी हुन्छ । यो कर्मकाण्ड चलेको निकै भयो । अब पनि चलिरहने छ ।

कार्यसमितिमा चुनिएकाको दायित्व हो, व्यवसायीको हक-हितमा काम गर्नु । तर के निर्वाचित संघका प्रतिनिधिहरू त्यसमा खरो उत्रिएका छन् त ? निष्कर्ष सुनाउँदा कतिपयलाई तीतो लाग्न सक्छ । तर हामी निकै गैरजिम्मेवार छौं । कति साथीहरू त यस्ता पनि हुनुहुन्छ जो चुनावपछि बैठकमा आउनसम्म भ्याउनु हुन्न । अब बैठकमै सहभागिता जनाउन नसक्नेले व्यवसायीको हक-हितमा कस्तो काम गर्ला ? पद लिन हानथाप र तँछाड-मछाड गर्नेमा जिम्मेवारी वहन गर्नै नपरे हुन्थ्यो भन्ने अनौठो उदेक देखिन्छ । के यस्तो परिपाटीले संस्थाको गरिमा माथि जाला ? के संस्थाका तमाम् व्यवसायीहरूको हक हित संरक्षण होला ? अबका दिनमा यसको टड्कारो महसुस व्यवसायीमा नहुने हो भने जटिल अवस्था आउने पक्का छ ।

सल्लाहकारको भूमिका जुनसुकै संस्थामा अहं हुन्छ । सो पिसका लागि नभएर सल्लाह दिनकै लागि सल्लाहकार राख्ने सांगठनिक अवधारणा आएको हो भनिरहनु नपर्ला । यस अर्थमा संघका सल्लाहकारको भूमिका पनि अपेक्षित रहन्छ । संस्थाको नेतृत्व परिवर्तनपिच्छे सल्लाहकार परिवर्तन भयरहेका हुन्छन् । तर आजसम्म कुन विषयमा, कति पटक, कुन सल्लाकारले सल्लाह दिए ? कति पटक सल्लाहकार बैठकमा आमन्त्रि गरियो ? सायद यसको चित्त बुझ्दो जवाफ सायदैसँग होला ।

मानको खातिर मान पदवी दिने हो भने मेरो भन्नु केही छैन । होइन भने, संस्थाको हित निम्ति सल्लाहकारले आफ्नो धर्म निर्वाह गर्नै पर्छ ।

नेतृत्व परिर्वतन किन र केका लागि भन्ने विषय महत्वपूणर् छ । कस्ता व्यक्ति नेतृत्वमा आउन जरुरी छ, कस्ता व्यक्तिहरूलाई पदाधिकारी तथा सदस्यहरूमा जिताउन जरुरी छ भन्ने विषय पनि उत्तिकै महत्वको हो । तर हामी यी गम्भीर मामलामा कहिल्यै घोत्लियनौं ।

सही नेतृत्व आएन भने के हुन्छ ? संस्थाको मान मर्यादा, इज्जत , अस्तित्व कहाँ पुग्छ ? यी र यस्ता प्रश्नले अहिले मनासिव जवाफ खोजिरहेका छन् ।

संघको महाधिवेशन छिट्टै गर्नुपर्ने छ । विधानको व्यवस्थाले पनि यसलाई पछाडि धकेल्ने सुविधा हामीलाई छैन । पटक पटक सारिएको महाधिवेशन अहिले कोभिड-१९ भाइरस महामारीका कारण निर्धारित मितिमा गर्नसक्ने अवस्था छैन । तथापि, अवस्था सहज भएपछि महाधिवेशन हुनेछ । संघको नेतृत्वमा कसले बाजी मार्छ, अहिले नै भन्न गाह्रो छ । तर जो आए पनि व्यवसायीभित्रकै आउने पक्का छ । आगामी नेतृत्वमा केही व्यवसायी साथीले दाबी पेश गरिसकेको अवस्था छ । यसरी नेतृत्वमा रुचि देखाइरहेका व्यवसायी सक्षम हुनुहुन्छ ? उहाँमा संघ हाँक्न आवश्यक लिडरसिप छ ? राष्ट्रियस्तरमा पहुँच के कति छ ? संस्थाका विषयहरू उठान गर्न सक्नुुहुन्छ कि सक्नुहुन्न ? नीति नियमका बारेमा कति जानकार हुनुहुन्छ ? व्यवसायीबीच कति भिज्नु भएको छ ? व्यावहारिक पक्ष के छ ? सन्तुलन कायम राखेर सबैलाई मिलाउने क्षमता छ कि छैन ? नेतृत्व चयनबारे निणर्य लिनुअघि यी र यस्ता प्रश्नमाथि घोत्लिन जरुरी छ ।

मुलुकका अन्य व्यवसायिक संगठनभन्दा संघ पृथक छ । यहाँ उद्योगीहरू अटाएका छन्, आयतकर्ताहरू अटाएका छन् ।थोक तथा खुद्रा व्यवसायीहरू अटाएका छन् । सबैको समान हैसियत हुन पनि जरुरी छ । सबैले सबैबाट र सबैले सबैलाई सम्मान गरे मात्र गन्तव्यमा पुग्न सकिन्छ । यदि त्यसो गरेनौं भने गन्तव्य टाढिन्छ । यसतर्फ सोचेर समीक्षा गर्न पनि उत्तिकै जरुरी छ ।

हामी सबैको उद्देश्य संस्था बलियो बनाउनु नै हो । संस्था बलियो भए, व्यवसायी बलियो हुन्छन् । व्यवसायी नैतिकवान् भए मात्रै संस्थाको शीर उँचो हुन्छ । उन्नति र प्रगत हासिल हुन्छ । त्यसैले पनि असल र सबल नेतृत्व आउन जरुरी छ । पटक-पटक संस्थाका पूर्वअध्यक्षहरूका बारेमा पनि टिका-टिप्पणी हुने गरेका छन् । पूर्व अध्यक्षहरूको हैसियत के ? संस्थाले पूर्व अध्यक्षहरूको सम्मान कति गर्‍यो ? के-के विषयमा सहयोग माग्यो ? यसको जवाफ खोज्न पनि उत्तिकै ढिलो भइसकेको छ ।

संघमा एकदेखि दुई कार्यकाल व्यतीत गरेका पूर्वअध्यक्षहरू हुनुहुन्छ । एउटा संस्थामा यति धेरै लामो आबद्धता भएका व्यक्तिसँगको अनुभव संस्थाको सम्पत्ति हुनुपर्छ । पूर्वअध्यक्षसँगको अनुभव लिएर हामीले कति फाइदा लियौं ? पूर्वअध्यक्षका सोच र योजनाहरूलाई नेतृत्वले कतिसम्म मनन गर्‍यो ? केवल विभागका डेलिगेसन, मन्त्रालयका भेटघाट, शुभकामना तथा बधाई दिनका लागि मात्रै प्रयोग भयो कि ? संस्थाका हितका खातिर कति पटक आमन्त्रण गर्‍यौं ? के-के सल्लाह दिनुभयो ? को कति सक्रिय भएर संस्थाको हक हितका लागि लाग्नु भयो ? यसको लेखाजोखा गर्ने बेला पनि यही हो ।

जब संघको महाधिवेसन आउँछ तब नयाँ नेतृत्व लिने मित्रहरू पूर्व अध्यक्षले यस्तो भनिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नुहुन्छ । हामी पूर्व अध्यक्षहरू पनि कुनै प्यानलको पक्ष लिनु आपत्तिको विषय होइन भन्ने ठानेर खुलिदिन्छौं । तर यो विषय गम्भीर विषय रहेछ । कार्य समितिका अन्य पक्षहरू संस्थापन पक्ष जसरी लाग्नु पर्छ, त्यसैगरी पूर्व अध्यक्षहरू खुलेरै लाग्नु संस्थाका लागि त्यति हितकर नहुने हो कि ? यो विषयलाई मैले यसपटक उठाउन गर्न चाहेको छु । कसैलाई भोट दिनु त छँदै छ , कोही आइदिओस् भन्ने पनि होला । त्योभन्दा यो आउँदा संस्थालाई राम्रो होला भन्ने पनि लागेको होला । तर यी र यस्ता विषय मन मै सीमित होस् भन्ने मेरो चाहना छ । पूर्वअध्यक्षहरूले अबको नेतृत्व यसले गर्न सक्छ, यसलाई दिनु पर्छ भनेर सहमति निर्माण गर्न सके त्यो अझै सुनमा सुगन्ध हुनेछ ।

मेरो विचारमा वर्तमान कार्यसमितिले नै अब नेतृत्व यो हो, उहाँलाई सर्मथन गर्नुपर्छ भनेर जादा सबैभन्दा उत्तम हुन्छ । यी र यस्ता विषयलाई नेतृत्वले लिन उत्सुक र उत्साहित मित्रहरूले आफ्नो मत, लोकप्रियता सर्मथन बुझेर मात्रै र सकेसम्म परार्मश गरेर आफ्नो उम्मदेवारी घोषणा गर्नु उपयुक्त हुन्छ । फेसबुककै सहारा लिएर उमेदवारी घोषणा गर्नु उपयुक्त हुँदैन । त्यसैले आदरणीय मित्रहरूलाई नेतृत्व चयन संस्थालाई बलियो र गति दिने विषय हो भनेर बुझिदिन आग्रह गर्न चाहन्छु । यस्ता विषयहरूलाई मनन गरेर मात्रै आफ्नो मत जायर गर्नुहुनेछ भन्ने अर्को अपेक्षा पनि छ ।

आजको अर्को खट्किरहने विषय पत्रकारिता पनि हो । पत्रकार मित्रहरूले यो व्यवसायलाई संवद्र्धन र व्यवस्थित गर्न के कति भूमिका खेल्नुभयो त ? एउटा व्यवसयी अर्को व्यवसायीलाई बजाएर मात्रै बस्यो कि ? गुणस्तर र नीति नियमबारेमा लेखेर व्यवसायीहरूलाई त्राहीमान बनायो कि ? वा गुणस्तरका बारेमा जनचेतना जगायो कि ? व्यवसायीहरूका हितखातिर सरकारको कटाक्ष गर्‍यो कि ? सरकारका निकायहरूसँग व्यवसायीहरूमा परेका समस्याहरू, तालिम, दर्ता, नवीकरण, आयत भन्सार शुल्क ,औषधि दर्ता, सिफारिसका विषयमा कति पटक परार्मश गर्दै समाचार सम्प्रेषण गर्‍यो ? यी विषयमा अबको नेतृत्वले अन्तरक्रिया गर्न उत्तिकै जरुरी छ ।

केवल आफ्नो व्यवसाय सुरक्षित छ कि छैन, मेरा गलत समाचार आउँछ कि आउदैन, त्यसलाई कसरी ढाकछोप गर्ने भन्नेतिर चिन्ता गर्नुभन्दा सम्रग व्यवसायीहरूको संरक्षण र संवद्र्धनबारे सोच्न सबैका निम्ति हितकर हुनेछ ।

दर्ता, नवीकरण, सिफारिस , भंसार शुल्क, तालिम, पशुऔषधि ऐन र गुणस्तर आजका अति आवश्यक र ज्वलन्त विषय हुन । यिनै विषयहरूलाई उजागर गर्न तथा दुवै विभाग र मन्त्रालयहरूसँग समन्वय गर्न सञ्चार माध्यमको साथ लिन सकिन्छ । सञ्चारकर्मीका लागि पनि सरकारभन्दा व्यवसायी नजिकका हुन् । त्यसैले व्यवसायी र सञ्चारकर्मीले देश, व्यवसायी र समग्र पशुपन्छीपालन क्षेत्रमा कसरी फाइदा पुग्छ भन्ने विषयमा सोच्न जरुरी हुन्छ । र सहकार्य गर्न पनि जरुरी हुन्छ । पत्रकारदेखि ब्यवसायी डराउनु पर्ने कारण छैन । व्यवसायीका साना तिना विषय उजागर गर्नुपर्ने वातावरणको अन्त्य जरुरी छ । अब आउने नेतृत्वले यस्ता विषयहरूका बारेमा सोचोस् । आफ्नो नितान्त स्वार्थभन्दा माथि उठेर सम्रग ब्यवसायको हकहितका लागि सोचोस् । सबैको सम्मान गरोस्, सबैलाई समेट्न सकोस् , यही शुभकामना छ ।

अन्त्यमा नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्न तथा त्यसो हुन नसकेमा लोकतान्त्रिक विधि र प्रक्रिया अवलम्बन गर्न आग्रह गर्न चाहन्छु ।

नवराज शर्मा तिमिल्सिना
पूर्वअध्यक्ष, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *