भारतीय कम्पनीले किसान ठग्दै, भिटामिन भन्दै सतप्रतिशत पानी बेच्दै(रिपोर्ट समेत)
राजन प्रसाई
काठमाडौं ।नेपालमा भिटामिनको नाममा पानी वेचेर किसानलाई ठगी गरी ठूलो धनराशी विदेश पलाएन गराउने गिरोह नै सक्रिय रहेको पाइएको छ ।
नेपालमा बिक्री वितरण भइरहेका ६ कम्पनीका पशुपन्छीको भिटामिन गुणस्तरहीन प्रमाणित भएसँगै यस्तो रहस्य बाहिर आएको हो ।
राजधानीको ज्येष्ट ल्याब्रोटरिजमा विभिन्न विदेशी कम्पनीका भिटामिनको गुणस्तर परीक्षण गरिएकोमा अधिकांशमा ९० प्रतिशत बढी पानी फेला परेको छ । केहीमा त सत् प्रतिशत नै पानी भेटिएको छ ।
भेट खबरलाई प्राप्त ल्याब टेस्ट रिपोर्टअनुसार, भारतको अल्जेन लाइभ साइन्स प्रालिकोे ब्याच नं.GVGA ०२ मा आईयूको मात्रा शून्य प्रमाणित भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पशुपन्छीको भिटामिनमा कम्तीमा एक लाख आईयू हुनुपर्छ ।
अल्जेजनले ५ मिलिलिटर परिमाणको भिटामिनलाई १ लाख आईयू दाबी गरेर नेपाली किसानलाई बिक्री गर्दै आइरहेको छ । तर प्रयोगशाला परीक्षणका क्रममा ९११ आइयू अर्थात शून्य दशमलब नौ प्रतिशत मात्र पाइएको छ ।
अल्जेनले उत्पादन गरेको भिटामिनको आधिकारिक बिक्रेता कमलामाई भेट सेन्टर हो । यसका सञ्चालक टीका श्रेष्ठ हुन् । प्रयोगशालाको रिपोर्टसँगै उनी किसान ठग्ने उद्यममा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको छ ।
सिन्धुलीमा कमलामाई भेट सेन्टर सञ्चालन गरिरहेका श्रेष्ठ स्थापित व्यावसायी हुन् । पशुपन्छी औषधिको व्यापारबाट आर्थिक हैसियत उकासेका श्रेष्ठले आफ्ना छोरा डा.सविन श्रेष्ठलाई समेत यही क्षेत्रमा तानेका छन् ।
राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यावस्थापन प्रयोगशालको रेकर्ड अनुसार सिन्धु भेट डिष्ट्रिव्युटरको नाममा आयात सिफारिस मागेको देखिन्छ ।
आफू आयातकर्ता रहेको भिटामिन गुणस्तरहीन महसुस गरेका डा. श्रेष्ठले आफैं प्रयोगशालामा परीक्षणको प्रयास गरेको जानकारी प्राप्त भएको छ । भिटामिन भनेर बिक्री गरिएको वस्तुमा सत् प्रतिशत पानी भेटिएपछि अत्तालिएका उनी र उनका पुत्र डा.श्रेष्ठले व्यावसायिक घराना अघि सारेर आर्थिक प्रलोभन देखाउँदै समाचार रोक्न लबिङ गर्दै आइरहेका छन् ।
किसानका पसिनामाथि मजाक गर्दै आइरहेका माफियासँग सम्झौता नगर्ने भेट टाइम्सको प्रष्टीकरणपछि उनी हच्किएका छन् । हेर्नुहोस रिपोर्ट
भेट खबरलाई प्राप्त अर्को परीक्षण रिपोर्टसमेत कहाली लाग्दो छ । भारतको ओजन बायोसेक्युरिटी एण्ड न्युट्रिसनला सर्भिस प्रालिले डिसेम्बर २०२० मा व्याच नं.OBGCK००५१२२०कोे गोल चिक्स नाम राखिएको भिटामीनमा समेत पानी मात्र पाइएको छ ।प्रति १०० एमएलमा २ लाख ५० हजार आईयू दाबी गर्दै किसानलाई महंगोमा बिक्री गरिएको भिटामिन सरकारी मान्यताप्राप्त प्रयोगशालामा परीक्षण गर्दा ७० हजार आईयू अर्थात २८ प्रतिशत मात्र पाइएको छ ।
पशु सेवा विभागको राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण नियन्त्रण प्रयोशालाको रेकर्डमा यसको नेपालस्थित आधिकारिक आयातकर्ता पेन्टा भेट सप्लायर्स हो । साझेदारीमा सञ्चालित पेन्टाका लगानीकर्तामध्ये एक राजेश काररञ्जित हुन् । कारञ्जितले आफू प्रायः आफ्नो सप्लायर्समा भन्दा पसलमा व्यस्त हुने जनाउँदै कम्पनीको जिम्मा भतिज नाता पर्ने सचिन कारञ्जितलाई दिएको भन्दै पन्छिए । उनले आयात गरेको गुणस्तरबारे प्रश्न गर्दा उनले आफू यसमा निकै चनाखो भएको भन्दै यस्ता समाचारलाई आफूले सकारात्मक रूपमा लिने बताए । प्रयोगशाला रिपोर्टबारे जानकारी गराएपछि उनले भने, ‘त्यस्तो त नहुनुपर्ने हो । यदि यस्तै हो भने तुरुन्तै कम्पनीलाई जानकारी गराउँछु ।
एकै पटक प्रयोगशालामा गरिएका नमुना परीक्षणमा गुणस्तरमा शून्यदेखि अधिकतम २८ प्रतिशतसम्म देखिइरहेको अवस्थामा अर्को भारतिय कम्पनी फिएसान्त बायो, भारतको उत्पादन समेत गुणस्तरहीन भेटिएको छ । हेर्नुहोस रिपोर्ट
औषधि व्यवसायीका नेता पनि संलग्न
नेपाल पशुपन्छी औषधि व्यावसायी संघका केन्द्रीय सदस्य दिनेश कट्टेलले आधिकारिक आयातकर्ता बनेर नेपाल बिक्री–वितरण गरिरहेको उत्पादन ग्रभिटा गोल्डमा समेत १ करोड आईयु दाबी गरिए पनि नतिजा भने जम्मा २३ लाख ८७ हजार ९ सय चार अर्थात् २३ प्रतिशत मात्र पाइएको छ ।
पशुपन्छी हकहितका लागि संस्थागत सुधारमा रहेका कट्टेलले संञ्चार माध्यमको यस कामको प्रशंसा रहेको बताउदै आफूले रिपोर्टसमेत हेरेर कम्पनीलाई क्लेम गर्ने बताए । उनले कम्पनीलाई यसअघि नै गुणस्तरमा कुनै सम्झौता नगर्न चेतावनी दिएको पनि उनले दाबी गरे ।
उनले व्यावसायिक धर्मबाट पछाडि नहटन्े प्रतिबद्धता जनाउँदै कम्पनीको गल्तीलाई आफूसँग नजोडिदिन आग्रह गरे । गुणस्तर कायम गर्ने मामलामा आफू सधैं सबैको साथमा रहेको उनले बताए । कट्ेल संञ्चालक रहेको सूर्य भेटेरिनरी नेपालका लागि उक्त कम्पनीको आधिकारिक आयातकर्ता हो ।हेर्नुहोस रिपोर्ट
ज्येष्ठ ल्याब्रोेटरिमै गरिएको एजिलिज हेल्थकेयर भारतको व्याच MAS.03/21 राखेर जनवरी २०२१मा उत्पादन गरेको म्याग्निपिक–७ को प्रयोगशालाको परिणाम हेर्दा नेपाली किसानलाई भारतीय कम्पनीले ठग्ने परकाष्ठाको अर्को झल्को देखिन्छ ।
उक्त कम्पनीको रिपोर्टमा १० एमएलमा ५ लाख आईयू दाबी गरिएता पनि परीक्षण रिपोर्टमा ९०९१ आईयू मात्र देख्न सकिन्छ । उक्त्त कम्पनीको नेपालका आधिकारिक आयातकर्ता एभिन्यू भेट सेन्टर ललितपुर हो ।
यसका सञ्चालक शुव अधिकारी रहेको उक्त भेटेरिनरिका सञ्चालक लामो समयदेखि प्रतिष्ठित संस्थाका अनुभव संगालेका व्यक्ति हुन् ।यद्यपी आधिकारिक प्रतिकृया लिन मोबाईलमा सम्पर्क गर्दा अधिकारीले फोन उठाएनन् ।हेर्नुहोस रिपोर्ट
भारतले नेपालको राज्य संरचनाका साथै राजनैतिक रूपमा जसरी हस्तक्षेपको कुरा नेपाली जनताले महसुस गरेका छन्, भारतीय उद्योगीहरूको नेपाल हेर्ने नजरीया पनि दुरुस्त छ ।
उनीहरूले नेपालको भेटेरिनरी क्षेत्रलाई पेलेर डम्पिङ साइटको रूपमा कामै नलाग्ने समान सप्लाई गरेको प्रष्ट देख्न सकिन्छ । यसैको अर्को उदाहरण रियल रेमिडिज हो ।
भारतीय यो कम्पनीले नेपालमा सप्लाई गरेको पिउरिभेट एको भिटामिनको मात्रा परीक्षण गर्दा त्यसमा लेखिएको एकलाख आईयूमा जम्मा ५ हजार तीनसय चौवालिस आईयूले प्रष्ट हुन्छ ।
नेपालका आधिकारिक आयातकर्ता नारायणबहादुर भुजेलले रिर्पोट सुन्नासाथ भारतीय कम्पनीको शैलीप्रति आक्रोस समेत पोखे । उनले भने, ‘यो मात्र नभई सबै कम्पनीका नतिजा सुन्दा मलाई पूरै भारतीय कम्पनीले हामीमाथि हेपेको महसुस भएको छ ।’ अब सम्पूर्ण पीडित व्यवसायी एक भएर गुणस्तरका सम्बन्धमा संघर्ष गर्नुपर्ने बताए । हेर्नुहोस रिपोर्ट
नेपाली किसानले रुचिका साथ प्रयोग गरिरहेका यस्ता उत्पादनको नतिजा प्राप्त हुँदा सायदै कुनै किसान नहोला यस्ता उत्पादन प्रयोग गरेकोमा दुःख नमान्ने ।
तर नेपालको सिफारिस दिने राज्य संयन्त्रको परीक्षण विधि र पूर्वाधार नभएको र अनुगमनसमेत नहुँदा आफूहरूले नेपाली किसानलाई दिइरहेको वस्तु गुणस्तर नहुँदा पीडा महसुस गरेका पाल्कोन भेट डिष्ट्रिव्युटर्स संञ्चालन तथा भारतीय कम्पनी एमिनोरिचका नेपाली आयातकर्ता केशव शर्मा बताउँछन् ।
उनको वस्तुको प्रयोगशाला रिर्पोट परीक्षण गर्दा ५ करोडमा नौ लाख देखिएको हो । नेपाल पशुपन्छी औषधी व्यावसायी संघ,बाग्मती प्रदेशका अध्यक्षसमेत रहेका शर्माले गुणस्तरताको विषयमा आफ्नो नभएर कम्पनीको गल्ती रहेको औंल्याए ।
‘कुनै पनि उद्योगले वस्तु उत्पादन गर्दा कुनै प्राविधिक कारणले कुनै व्याचमा समस्या आउन सक्छ।’ उनले भने, ‘त्यस्ता समानको जिम्मा उत्पादक कम्पनीको हो ।’ हेर्नुहोस रिपोर्ट
नेपाल पशुपन्छी औषधी व्यावसायी संघका केन्द्रिय अध्यक्ष भुपेन्द्रप्रसाद गौतमले यस्तो अनपेक्षित नतिजाले लज्जित बनाएको बताए ।उनले उस अवस्थामा सम्पुर्ण व्यावसायीहरु एकजुट भएर गुणस्तरता कायममा लाग्न ढिला भएको प्रतिक्रिया दिए ।
नेपालमा भिटामिनको नाममा पानी नै विक्रिवितरण गरेर किसान,व्यावसायी तथा सरकारी निकाय लगाए सबैको चिन्ताको वियष भएको जानकारहरु बताउँनछन् ।
नेपाल पशुपन्छी फिड सप्लिमेन्ट उत्पादक संघका महासचिव नवराज शर्मा तिमल्सेनाले यस प्रकरणमा पशु सेवा विभाग प्रमुख जिम्मेवार रहेको बताए । उनले भने, ‘व्यावासयी संघको आसन्न चुनावी माहोलमा गुणस्तर कायम गर्ने विषय जोड्नु भयो, यो एक दमै राम्रो काम हो ।
यसमा सवैको ध्यानाकर्षण जरुरी छ ’ शर्माले आफ्नो संस्थाका सदस्यहरुमा पशुसेवा विभाग वाट हेपाहा शैलीमा स्वदेशी उत्पादकलाई झण्झटिलो नियम लगाएर कच्चा पदार्थ ल्याउनै नदिने तर यसरी भिटामिनको नाममा पानी ल्याउन कसरी दिए ?भन्दै प्रतीप्रश्न गरे ।उनले भने ‘पानी नै ल्याउन छ भने ति भारतीय बाेततलमा भारतको पानी भर्न भन्दा हाम्रै वाग्मती नदीको जल पवित्र छ, बरु त्यसो गर्नुस् किसान मार्न भारतीय पानी बेच्न बन्द गर्नपर्छ ’ भन्दै यसरी खुलेआम भारतीय दादागिरीको भण्डाफोर गर्ने बताए ।
नेपाल पशुपन्छी औषधी व्यावसायी संघका पूर्वअध्यक्ष हेमराज बडाल नियमनकारी निकाय पशु सेवा विभागका महानिर्देशकले यो बेथितिको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताउँछन् । ‘यसको सम्पूर्ण जिम्मेवारी पशु सेवा विभागका महानिर्देशक र सिफरिस दिने कार्यालयको हाकिम नै हो,’ उनको प्रश्न छ, ‘आयातका क्रममा गुणस्तरयुक्त छ÷छैन किन हेरिएन ?’
आफै सिफारिस दिने र अनुगमन परीक्षण गर्न जनशक्ति छैन भनेर पन्छिने विभागको रवैयाप्रति पनि उनले आक्रोस पोखे ।
औषधि व्यवस्था विभागलाई दिइएको अधिकार फिर्ता गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । भने, ‘०५१ मा लिएको अधिकार औषधि व्यवस्था विभागलाई फिर्ता गरे हुन्छ । राज्यको जिम्मेबार तहमा बसेर आफूले अधिकार लिने तर त्यसको प्रयोग नगर्ने हो भने कुनै औचित्य रहन्न ।’
नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष एवं नेपाल सरकार स्वास्थ्य मन्त्रालय औषधि सल्लाहकार समितिका सदस्य दीपक दाहाल यसअघि पशुसेवा विभागको प्रांगणमा गरिएको परीक्षणमा कैयौं गुणस्तरहीन प्रमाणित हुँदासमेत विभागले कुनै कारबाही नगरेको बताउँछन् ।
उनका अनुसार, विगतमा सिफारिस गर्नुपूर्व रिपोर्ट राख्ने चलन भए पनि अहिले रिपोर्ट एउटा पेस गरेर अर्कै सामान ल्याउने प्रवृत्ति बढेको छ ।
पशु सेवा विभागले आयात गर्ने प्रत्येक व्याचको नमुना भन्सारबाटै लिएर परीक्षण गर्नुपर्ने उनको सुझाव छ ।
‘पशुसेवा विभाग साँच्चिकै जिम्मेवार छ भने उसले आजै बजारमा पुगेका गुणस्तरहीन उत्पादन जफत गरी डिस्पोज गर्नुपर्छ,’ उनले अगाडि थपे । यस्ता गुणस्तरहीन उत्पादन नेपालमा पठाउने कम्पनीलाई रोक लगाउनुपर्ने सुझाव पनि उनको छ ।
भारतीय उत्पादन मात्र नभएर नेपाली उद्योगको गुणस्तर परीक्षण गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । ‘यदि नेपालकै उत्पादन पनि गुणस्तर छैनन् भने कारवाही गर्नै पर्छ,’ भेट टाइम्ससँग उनले भने, ‘हाम्रा स्वदेशी उद्योगले प्रत्येक उत्पादनको ल्याव परीक्षण गरेका छौं । हामी तिनको रिपोर्ट सार्वजनिक गर्छौं ।’
नेपाल पशुपन्छी औषधी पैठारीकर्ता संघका अध्यक्ष दिनेशराज मिश्र यसरी गुणस्तरहीन उत्पादन गर्ने उत्पादक कम्पनीलाई सिफारिस दिने निकायले पनि पत्राचार गर्ने र कुनै व्याचमा कमजोरी देखिए रिकल गर्ने व्यावस्था हुनुपर्ने औंल्याउँछन् । तर लेबलमा क्लेम गरेको तत्व भने हुनुपर्ने उनी बताउँछन् ।,
‘पशुपन्छी भनेका मान्छे जस्तो हुँदैनन् । यिनीहरूको बारेमा हामी संवेशनशील हुनैपर्छ । अब हामीहरूले विभागसंग सहकार्य गरेर यो प्रवृत्तिको अन्त्य गर्नुपर्छ,’ उनले भने ।,
उनले अगाडि थपे, ‘म पैठारीकर्ता मात्र नभएर एक पोल्ट्री किसान हुँ । त्यसैले यो ठगी अन्त्य हुनैपर्छ । गुणस्तरको विषय उठाउनु भएकोमा धन्यवाद ।’
राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यावस्थापन प्रयोगशालाका नि.कार्यालय प्रमुख डा.इन्दिरा शर्माले गुणस्तरको मामलामा प्रश्न उठेकाले एक्सन लिने तयारी भइरहेको जानकारी दिइन । त्यसका लागि अन्य सरोकारवालासँग सहकार्य गर्न लागेको उनले सुनाए । ‘केही ऐनहरु खाद्यअन्तर्गत रहेको यहाँहरुलाई जानकारी नै छ । हामीले हाम्रो क्षेत्राधिकारको प्रयोग गर्दै प्राप्त प्रमाणहरुको आधारमा अनुगमन गरेर कम्पनीको आयात सिफारिस पहिलो चरणमा नै रद्द गर्दैछौं । यसरी गुणस्तरको सवालमा म मात्र नभएर सिंगो कार्यालय एवं हाम्रो विभागले समेत आवश्यक कदम चाल्ने कुरा म यहाँहरुमार्फत जानकारी गराउँदछु ।’
उनले अगाडि थप्दै भनिन, ‘तपाईंहरूले जानकारी दिएअनुसार, कतिपयले विभागमा सिफारिसका लागि कुनै निवेदन नदिएको पाइएको छ । जसमा चर्चित बहुराष्ट्रिय कम्पनी भिरब्याकको भिटाब्लेन्ड डब्लू एम फोर्टसँग मिल्दोजुल्दो नाम राखेर भारतीय कम्पनी इलिसिड फर्माले ब्राण्ड चोरी गरेर भिटाब्लेन्ड ए नामक नक्कली उत्पादन नेपाली बजारमा पठाएको हो भन्ने कुरामा उक्त उत्पादनको हकमा यस विभागले कुनै पनि अनुमति नदिएको समेत जानकारी गराउँदछु । अन्यको हकमा पनि हामी अध्ययन गरिरहेका छौं ।’
पशुसेवा विभागका महानिर्देशक डा.दमयन्ती श्रेष्ठसँग गुणस्तरहीन भिटामिनबारे जिज्ञासा राख्दा अध्ययन गरेर जानकारी दिने बताइन् ।
नेपालमा संञ्चालनमा रहेका स्वदेशी उत्पादनहरुको समेत गुणस्तर परिक्षणको क्रममा रहेको र प्रमाणित सुचना प्राप्त हुनासाथ प्रकाशन गर्ने छौं ।