आवश्यकता र महत्वकांक्षाले जन्मियो रोयल केनल
विकसित देशमा निकै अगाडिदेखि व्यावसायिक रूपमा कुकुरपालन र किनबेच चलेको थियो । नेपालमा भने यसको इतिहास मात्रै तीन दशकको छ । नेपालमा यो व्यवसायका सूत्राधार नीनबहादुर केसी हुन् । तर अहिले उनी यो संसारमा छैनन् । उनी परलोक भए पनि उनले बाटो देखाएकाहरू यो क्षेत्रलाई फलाउन फुलाउन लागिरहेका छन् । तिनैमध्येका एक हुन्, केशर केसी । नीनबहादुरले केनल क्लब खोलेसँगै यसमा जोडिएका केशर कुकुर अपरिहार्य प्राणी भएको बताउँछन् । ०५८ देखि केनल क्लब सञ्चालनमा ल्याएका केसीले विगतको संघर्ष, यो क्षेत्रको सम्भावना र समस्याबारे भेट टाइम्स प्रतिनिधिलाई यसरी सुनाए :
नेपालमा केनल व्यवसाय थाल्ने पहिलो व्यक्ति नीनबहादुर केसी हुनुहुन्थ्यो । उहाँ अहिले यो संसारमा हुनुहुन्न । परलोक भइसक्नु भयो । प्रहरीको डग शाखामा उहाँको नोकरी थियो । तर उहाँ जागिरमा उति धेरै रमाउन सक्नु भएन । त्यहाँको सीप, दक्षता र अनुभव लिएर उहाँले ०४८ मा केनल क्लब खोल्नु भयो ।
नयाँ व्यवसाय थालेपछि उहाँलाई जनशक्ति आवश्यक भयो । ०४७ मा एसएलसी पास गरेर प्यूठानको ओखरकोटबाट काठमाडौं पसेको मलाईचाहिँ जागिर । दुईबीचको स्वार्थ आपसमा मिल्न गएकाले म उहाँको केनल क्लबमा जोडिन पुगेँ । हिमबहादुर केसी पनि यसमा जोडिनु भयो ।
कुकुर किनबेचदेखि तालिम दिनेसम्मका काम यो क्लबले गथ्र्यो । ०५३ सम्म यो क्षेत्रमा हाम्रो एकाधिकार थियो । नेपालमा कसैले पनि यो व्यवसाय थाल्नु भएको थिएन ।
व्यावसायिक ढंगले कुकुर किनबेच नहुने भएकाले त्यतिबेला नेपालमा कुकुर उत्पादन हुँदैनथ्यो । भारतका दिल्ली, लखनउ, कोलकत्ता, बैंग्लोर पुगरे हामीले कुकुर ल्याउनु पथ्र्यो । मेरो जिम्मा त्यहीबाट कुकुर ल्याएर सप्लाइ गर्ने थियो ।
ग्राहकले हामीलाई कुकुर चाहिएको अर्डर गर्नुहुन्थ्यो । त्यही अर्डरबमोजिम एक पटकमा २५-३० कुकुर हामी ल्याउँथ्यौं । उतिबेला बाइ एयर कुकुर ल्याउनु पथ्र्यो ।
आवश्यकता र महत्वकांक्षाले जन्मियो रोयल केनल
जागिर मात्र खाँदा नाफाको हिस्सा सबै अफिसलाई हुन्थ्यो । हामीलाई चोखो तलब मात्र आउँथ्यो । यसले सुरुवातमा आवश्यकता पूरा भए पनि पछि नपुग्ने भयो । बिहावारी सन्तान भए । आवश्यकता बढ्दै जागिरले खर्च नपुग्ने भयो । सँगै कति जागिर मात्र खानु, आफैं केही गर्न पाए हुन्थ्यो भन्ने मानसिकता पनि विकास भयो । सँगै काम गर्ने हिमबहादुर केसीलाई समेत मलाई जस्तै लागेको रहेछ । दुवैको सोच मिलेकाले ०५८ मा जन्मियो- रोयल केनल प्रालि ।
अन्य क्षेत्रमा २० औं, ३० औं लाख लगानी गर्नुपर्छ । तर यो क्षेत्रमा खासै लगानी गर्नु पर्दैन । ५-७ लाख रूपैयाँ भए जति पनि पुग्छ । यो व्यवसायका लागि आवश्यक पर्ने अधिकांश सरसामग्री उधारोमा लिएर कुकुर बिक्री भएपछि तिर्न सकिन्छ ।
०५३ सालसम्म नेपालमा केनल क्लबको संख्या २ वटा थियो । कम लगानीमा पनि गर्न सकिने भएर होला अहिले ५०-६० वटा पुगेका छन् ।
हामी आफैंको कुरा गर्दा ०५८ मा हामीले २/३ वटा कुकुरपालनबाट यो व्यवसाय थालेका थियौं । तर अहिले ३०-४० वटा पुगेको छ । डिलरले फिमेल र हामीले मेल कुकुर पालेका छौं । दुई पक्षको आपसी सहकार्यमा कुकुर उत्पादन भइरहेको छ ।
सुरुमा यो व्यवसायमा हात हाल्दा हामी आशावादी नै थियौं । कताकता त्रास पनि थियो । तर यो व्यवसायबाट अपेक्षित सन्तोष नै मिलिरहेको छ ।
सुरुमा प्यूठानबाट काठमाडौं आउँदा एउटा ज्यान पाल्न पनि धौ धौ थियो । यसकै लागि केनल क्लबमा जागिर सुरु गरेको थिएँ । अहिले यही व्यवसायबाट घर घडेरी जोड्न सफल भएको छु । सन्तानका शिक्षा-दीक्षा र आवश्यकता पनि यसबाटै परिपूर्ति भइरहेको छ । यो व्यवसायबाट म पूणर् रूपमा सन्तुष्ट छु ।
पहिलेदेखि नै आफैंले दुःख गरेर व्यवसायलाई यहाँसम्म ल्याएकाले स्टाफ भने ५-६ जना मात्रै हुनुहुन्छ ।
तन्कियो बजार
केनल क्लबको संख्या मात्र होइन, अहिले बजार पनि बढेको छ । ०५३ सालमा महिनाको ५०-६० वटा कुकुर बिक्री हुन्थ्यो भने अहिले करिब १००० वटा जान्छ ।
सुरुमा काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, जनकपुरजस्ता देशका मुख्य सहरी क्षेत्रमा बसोबास गर्नेले मात्र कुकुर किनेर पाल्थे । अहिले सहरदेखि गाउँसम्मै कुकुरपालन गर्ने संस्कृति विकास भएको छ । यसले कुकुरको बजार ह्वात्तै बढाएको छ ।
०६५ सम्म नेपालमा व्यावसायिक ढंगले कुकुर उत्पादन हुँदैनथ्यो । त्यसैले हामीसँग भारत या अन्य देश जानुको विकल्प थिएन ।
अहिले कुकुर लिन पहिलेजस्तो भारत गइराख्नु पर्दैन । मेल, फिमेल कुकुर पालेर नेपालमै उत्पादन भइरहेको छ । यसले एकातिर लाखौं रूपैयाँ विदेशिने अवस्था अन्त्य भएको छ भने अर्कातिर उद्यम र रोजगारीको ढोका खोलेको छ ।
यो व्यवसायमा हात हाल्नेको संख्या पहिलेभन्दा बढे पनि स्पेस अझै छ । १ लाख, २ लाख खर्च गरेर केही हजारका लागि अरबका मरुभूमिमा पसिना सिञ्चित गर्ने युवाले त्यति नै लगानीमा यही बसेर त्यहाँभन्दा निकै राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।
कुकुरको व्यवसायिक उत्पादन गर्न रुचि भएकाले कसरी यो क्षेत्रमा प्रवेश गर्न सक्छन् ? यहाँनिर यो प्रश्न उब्जन्छ । यदि कोही कुकुर उत्पादन कार्य गर्न इच्छुक हुनुहुन्छ भने उहाँहरूले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ । हामी यस्ता नवप्रवेशीलाई कपी उपलब्ध गराउँछौं । कुकुर उत्पादन भएपछि कहाँ बेच्ने ? यसमा पनि सुर्ता गर्नु पर्दैन । त्यस्ता कुकुर हामी नै उचित मूल्य दिएर किनिदिन्छौं ।
यही व्यवसायमा जोडिएर अहिले पनि प्रहरी, सेनालगायतबाट जागिर सकाएर अवकास जीवन बिताइरहनु भएकाले मनग्य आम्दानी गरिरहनु भएको छ । विदेश बसेर फर्किएकाले पनि यही व्यवसाय गरिरहनु भएको छ ।
किन पाल्ने कुकुर ?
उपत्यकाका रैथानेले कुकुर पाल्दै नपाल्ने होइन, पाल्नु हुन्छ । तर अधिकांशचाहिँ उपत्यका बाहिरबाट आउनेहरू हुनुहुन्छ ।
४ आनामा बनेको घरको रेखदेख तथा सुरक्षाका लागि पनि यो अतिआवश्यक हुन्छ । दिउँसो सबै मानिस घरमै हुन्छन् भन्ने छैन । जागिर तथा व्यवसाय गरेर दिउँसोको समय घर खाली गर्नेको संख्या उत्तिकै छ । एउटा पाले राख्ने हो भने उसलाई मासिक ३० हजार तलब दिनुपर्ने हुन्छ । यदि कुकुरलाई गेटमा छाडिदिने हो भने उसले बिना तलब घरको रखबारी गर्छ ।
किन पाल्ने कुकुर ?
उपत्यकाका रैथानेले कुकुर पाल्दै नपाल्ने होइन, पाल्नु हुन्छ । तर अधिकांशचाहिँ उपत्यका बाहिरबाट आउनेहरू हुनुहुन्छ ।
४ आनामा बनेको घरको रेखदेख तथा सुरक्षाका लागि पनि यो अतिआवश्यक हुन्छ । दिउँसो सबै मानिस घरमै हुन्छन् भन्ने छैन । जागिर तथा व्यवसाय गरेर दिउँसोको समय घर खाली गर्नेको संख्या उत्तिकै छ । एउटा पाले राख्ने हो भने उसलाई मासिक ३० हजार तलब दिनुपर्ने हुन्छ । यदि कुकुरलाई गेटमा छाडिदिने हो भने उसले बिना तलब घरको रखबारी गर्छ ।
फिमेल कुकुर किनेर व्यवसाय गर्न र शोकका लागि पाल्ने अर्को जमात पनि छ । साथीहरूको देखासिकीमा कुकुर पाल्नेहरू पनि हुनुहुन्छ ।
कुनै बेला ठूलोमा जर्मन केथर्ड, सानोमा जात मिश्रितको माग बढी थियो । अहिले पनि यसको माग छ । तर धेरै मागचाहिँ नयाँ जातका कुकुरको छ । कम्तीमा ७ हजार रूपैयाँदेखि बढीमा साढे २ लाखसम्मका कुकुर हामीसँग छन् । यीमध्ये पनि ७ हजारभन्दा माथि ६५ हजारसम्मका कुकुर बढी बिक्री हुन्छन् ।
कुकुरको साइजअनुसार क्षेत्रफल आवश्यक हुन्छ । त्यसैले थोरै क्षेत्रफल हुनेले सानो र धेरै हुनेले ठूलो कुकुर पाल्नु उपयुक्त हुन्छ ।
पहिले कुकुरपालनसम्बन्धी ज्ञान कम भएकाले विगतमा अर्काकोमा लगेर दिसापिसाव गराउने प्रचलन थियो । तर अहिले त्यस्तो छैन । सामाजिक सञ्जालका कारण मानिस धेरै बुझ्ने भइसकेका छन् । घरमा पालिएको कुकुरले छिमेकीलाई असर हुने गतिविधि गर्न हुँदैन भनेर मानिसहरू सचेत छन् ।
खाना धेरै खाएर बमेटिङ, डायरिया हुने, ज्वरो आउने समस्या अहिले कुकुरमा अत्यधिक छ । यद्यपि, यो अहिले नर्मल भइसक्यो । कुकुरपालक किसान आफैंले नै यस्ता समस्याको निदान गर्न सक्नुहुन्छ । तर फंगल अहिले अत्यधिक समस्या बनेको छ । यसको उपचार त हुन्छ, तर पटक पटक दोहोरिरहने भएकाले दुःख र आर्थिक नोक्सानी बढी पुग्छ । कुकुर संक्रमित भएर निको नै नहुने अर्को भाइरस पनि छ । त्यसको संक्रमण काठमाडौंमा वर्षको २-३ पटक आउँछ । जसबाट वर्षकै २-४ करोडको कुकुर मरिरहेको हुन्छ ।
कुकुरको भ्याक्सिनेसनदेखि नियमित काम सबै कुकुर खरिद गरेर ल्याएको ठाउँबाटै हुन्छ । कहिलेकाही कुकुरमा गम्भीर समस्या आउन सक्छ । यस्तो बेला उपचार गर्न चौबीसै घण्टा खुल्ने अस्पताल अहिले सञ्चालनमा छन् । त्यहाँ मान्छेलाई जस्तै भर्ना गरेर उपचार हुन्छ ।
हामीले बिक्री गरेको स्वस्थ कुकुरलाई कहिलेकाहीँ केही दिनपछि नै रोगको संक्रमण भइदिन्छ । यस्तो बेला रोगी कुकुर भिडायो भनेर आरोप खेप्नुपर्छ । त्यस्तै एउटा जातको भनेर बिक्री गरेको कुकुर कहिलेकाहीँ मिसमास भएर अर्कै भइदिन्छ ।
(रोयल केनल क्लबका सञ्चालक केसीसँग गरिएको कुराकानीमा आधारित)