जसले निषेधाज्ञामा भरिरहेका छन् मानिसदेखि पशुसम्मको भोको पेट

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि ०७८ वैशाख १६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा भयो । गत वर्षजस्तै गरिखाने वर्ग निषेधाज्ञाको सोझो मारमा परे ।
गरिखाने यो वर्ग केही दिनमै भोक र अभावले आलसतालस भइसकेको थियो । सिंहदरबार पसेका र त्यहाँ जान यिनै नागरिकलाई हतियार बनाउँदै आएका दलको आँखामा भने तिनको पीडा अहिलेसम्म पर्न सकेको छैन । तर नेपाल भेटेरिनेरी स्टुडेन्ट्स एसोसिएसनलाई असहाय नागरिक मात्रै होइन, सडकका भोका जनावरका दृश्यले पनि बेचैन बनायो ।

‘मानिस र जनावरको यो अवस्था देखेपछि त्यत्तिकै बस्न हामीभित्रको मानवताले दिएन,’ संस्थाका अध्यक्ष निश्चल घिमिरे भन्छन्, ‘त्यसपछि हामीले भोको पेटलाई खाना खुवाउने अभियान सञ्चालन गर्ने निधो गर्यौं ।’

अभियान सञ्चालन गर्ने योजना त बन्यो तर त्यसका लागि स्रोत चाहिन्थ्यो । जुन उनीहरूसँग थिएन । अब के गर्ने ? परोपकारी भावनामा स्रोत जुटाउने मामला पेचिलो बनेर खडा भयो । तर स्रोत अभावमै यसबाट पछि हट्ने अवस्था थिएन, किनभने सडकमा मानिस र पशुका चित्कारले उनीहरूको हृदय छियाछिया पारिसकेको थियो । उनीहरूले तत्कालै उपाय सुझाए– अभियानमा जोडिएका साथीले खल्तीबाटै रकम हाल्ने र भोकले आलसतालस प्राणीको पेट भर्ने ।

उनीहरूले अभियान सुरु गरे । तर पकेटबाट सञ्चालित अभियानले कति दिन चल्न सक्थ्यो र ? फेरि सुरुवातकै समस्यामा उनीहरू ठोक्किए । त्यसपछि उनीहरूले सोचे, यो पुण्यकर्ममा मनकारीहरूसँग हातेमालो किन नगर्ने ? अनि उनीहरूले आह्वान गरे मनकारी दातासँग सहयोग । संस्थाका अनुसार, मनकारी दाताहरूबाट खाद्यान्न र आर्थिक सहयोग जुटिरहेको छ । प्राप्त सहयोगबारे दाताको नाम फेसबुक पेजमार्फत सार्वजनिक गर्छन् ।

कहाँ–कहाँ खुवाइँदैछ खाना ?
एसोसिएनसले सुरुमा जेठ ११ देखि काठमाडौं उपत्यकाको पशुपतिक्षेत्र, महालक्ष्मीस्थान, पाटन, स्वयम्भू, कलंकी, कीर्तिपुर, चन्द्रागिरि, नयाँबसपार्क, सामाखुसी, टोखा, बूढानीलकण्ठ, जोरपाटी, गोकर्णेश्वर, अत्तरखेल, सुन्दरीजललगायत विभिन्न स्थानहरूमा विपन्न मानिसहरू र पशुचौपायलाई खाना खुवाउने अभियान सुरु गरेको थियो । स्रोत अभावपछि ३ दिन यो अभियान अघि बढ्न नसके पनि अहिले पूर्ववत् सञ्चालन भइरहेको छ । जसलाई उनीहरूले ल्ख्क्ब् ज्गलनभच च्भष्भिा एचयनचबm द्द।ण् नाम दिएका छन् । अभियानअन्तर्गत अहिलेसम्म १२०० जनालाई भोजन गराइसकिएको छ । दैनिक ५००–१००० पशुहरूको भोकलाई पनि अभियन्ताहरूले समन गराउँदै आएका छन् ।

अभियानमा घिमिरेसँगै राजबहादुर कठायत, अविनाश ठाकुर ‘भाल्टर’, प्रवीण मेहता, गेहेन्द्र बुढथापा र रोशन ऐर फिल्डमा प्राणीहरूको निरन्तर भोक र प्यास मेटाउन सक्रिय छन् ।
यो अभियानमा भेटेरिनरी विद्यार्थीलाई उनीहरूका अग्रजले पनि ढाडस दिँदै आएका छन् । मंगलबार मात्रै नेपाल भेटेरिनरी काउन्सिलका पुर्व रजिस्ट्रार डा. नारायणप्रसाद घिमिरे र नेपाल भेटेरीनेरी एसोसिएसनका अध्यक्ष एवं काउन्सिल सदस्य डा. शीतलकाजी श्रेष्ठले सहभागिता जनाएर विद्यार्थीको भरोसा भरे । ‘भेटेरिनरी क्षेत्रका अग्रजहरूको उपस्थितिले अभियन्ताहरूमा थप उत्साह भरेको छ । यसलाई निरन्तरता दिन ऊर्जा मिलेको छ,’ एनभीएस्का वरिष्ठ उपाध्यक्ष राजबहादुर कठायतले उत्साहित हुँदै भने ।

घर–घरमाप पुर्याउँदै राहत पोको

NVSA Hunger Relief Program अभियान सडकमा खाना खुवाउनेमा मात्र सीमित छैन । खाद्यान्न तथा राहतको पोको लिएर हुनेखानेको डेराडेरामा समेत पुगिरहेको छ ।

कठायतका अनुसार अहिलेसम्म ६००० घरधुरीलाई राहत प्याकेज उपलब्ध गराइसकिएको छ । समय र दाताले साथ दिएमा हुनेखाने वर्गलाई यसरी नै राहतको मल्हम लगाइरहने योजना अभियानको छ ।

त्यसैगरी, कोरोना भाइरस महामारी फैलन नदिन पनि अभियानले स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । कठायतका अनुसार, हालसम्म ३००० थान सर्जिकल मास्क वितरण गरिएको छ ।

बचाउँदै घाइते पशुचौपाया
काठमाडौं उपत्यकामा यततत्र सर्वत्र पशुचौपाया छाड्ने गरिएको छ । यस्ता पशुचौपाया उत्तिकै मात्रामा बिरामी हुने गरेका छन् । खासगरी, सवारी साधनको ठक्करबाट पशुचौपाया बढी मात्रामा घाइते हुने गरेका छन् ।
तर यस्ता पशुको उपचारमा सरकारले कुनै चासो दिने गरेको छैन । तर यो अभियानले यस्ता घाइते पशु चौपायाको उपचारमा पनि उत्तिकै दिलचस्पी राख्दै आएको छ । अभियानका अनुसार, अहिलेसम्म ५० वटा कुकुरहरुलाई सामान्य उपचार गरिएको छ ।

समस्या आएपछि मात्रै होइन, आउन नदिन पनि भेटेरिनरी विषय अध्ययन गरिरहेका विद्यार्थी उत्तिकै चनाखो छन् । त्यसैले उनीहरूले १५० वटा कुकुरलाई रात्रिकालीन सवारीको ठक्कर र दुर्घटनाहरूवाट जोगाउन रेडियम बेल्ट बाँधेका छन् । गौशलाको मठ–मन्दिर, गाईबाच्छा तथा समाज विकाश अभियान’मा गाईवस्तुका निम्ति आहारा साथै औषधिहरू सहयोग गरेका छन् ।

कसरी गर्ने सहयोग ?
यो अभियानलाई लकडाउन अवधिभर निरन्तरता दिने योजना बनाएको एनभीएसएका सचिव अविनाश ठाकु भाल्टरले जानकारी दिए ।

यो अभियानमा सहयोग गर्न इच्छुक व्यक्तिले सहयोगचाहिँ कसरी गर्न सक्छन् त ? भाल्टरका अनुसार, अभियानमा संलग्न हुन चाहनेले ९८६९३६१६४१ वा ९८६८२४०४०६ मा सम्पर्क गर्न सक्नुहुनेछ । अभियानले सरकारी निकायको भने सहयोग लिने नीति बनाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *