न्यूहोपको दादागिरी : अवैध एमबीएम नेपाल भित्र्याउने प्रयास असफल
राजन प्रसाँई
काठमाडौं । नेपालको कानुनमाथि शक्तिको आडमा कसरी र कसकसले परेड खेल्छन् भन्ने एउटा गतिलो उदाहरण फेरि सार्वजनिक भएको छ । राजनीतिक अस्थिरता तथा व्यक्तिगत स्वार्थमा रुमल्लिएका नेतृत्वकर्ताका कारण देश कसरी शक्ति केन्द्रको परेड खेल्ने मैदान बनेको छ भन्ने भन्ने गतिलो उदाहरण फेरि सतहमा आएको छ । यो चिनियाँ लगानीमा चितवनमा सञ्चालित न्युहोप एग्रो बिजनेश नेपाल नामको दाना उद्योगको शक्ति प्रर्दशनको नमुना उदाहरण हो ।
न्यूहोपले शक्तिकै आडमा नेपालको कानुनको धज्जी उडाउँदै प्रतिबन्धित मिट एन्ड बोन मिल (एमबिएम) प्रोसिन जबरजस्ती नेपाल भित्र्याउन गरेको खुलासा भएको छ । तर, उद्योगको उक्त प्रयास भने असफल भएको छ । कानुनविपरीत दाना पदार्थको रुपमा रहेको उक्त एमबीएम जबरजस्ती उद्योगले वीरगन्ज भन्सारबाट नेपाल भित्र्याउन खोजेको हो ।
उद्योगले पशु सेवा विभागबाट २०७६ फागुनमा लिएको सिफारिस पत्रको म्याद सकिएपछि पनि शक्तिको आडमा एभरेष्ट बैंक लिमिटेड पुल्चोकबाट एमबीएम ल्याउन एलसी खोलेको थियो । यसमा एभरेष्ट बैंकको समेत मिलेमतो देखिएको छ । म्याद नै सकिएको सिफारिस पत्रका आधारमा उसले एलसी खोलेबाटै मिलेमतोको पुष्टि भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण प्रयोगशालाले चलानी नम्बर ३४१ राखेर, २०७६ फागुन १३ गते एमबीएम ल्याउन उद्योगलाई उक्त सिफारिसपत्र दिएको थियो । ‘एमबीएम ल्याउन प्रयोगशालाले सिफारिस दिएको हो,’ प्रयोगशालाकी प्रमुख डा. नम्रता सिंहले भनिन्, ‘सिफारिस पत्रको म्याद नाघिसकेपछि उद्योगले सामान ल्याएको थियो । भन्सारबाट उक्त सामान पास हुन सकेन । र, फिर्ता पठाउने तयारीमा थिए ।’
दाना तथा दानाजन्य पदार्थको आयात गर्न प्रयोगशालाले जारी गरेको उक्त सिफारिस पत्रको म्याद ४ महिना मात्रै रहने कानुनी व्यवस्था छ । यस अनुसार उक्त सिफारिस पत्रको म्याद २०७७ असार १२ गतेसम्म मात्र मान्य रहने थियो । जबकी एभरेष्ट बैंक लिमिटेडले त्यही म्याद सकिएको सिफारिस पत्रका आधारमा न्यु होप सिंगापुर प्रालि, सिंगापुरबाट उक्त एमबीएम ल्याउन २०७७ असार २३ गते एलसी खोलेको छ ।
अफ्रिकन स्वाइन फिवरका कारण प्रतिबन्धित एमबीएम जबरजस्ती आयात
उक्त एमबीएम आयात अवैध ठहरिनुमा सिफारिस पत्रको म्यादबाहेक अर्को पनि कारण छ । उक्त समयमा भारतमा सुँगुर तथा बंगुरमा लाग्ने रोग अफ्रिकन स्वाइन फिबर फैलिएको थियो । यो रोगले भारतमा महामारीकै रुप लिएको थियो । अहिले पनि यो रोग भारतका विभन्नि दक्षिणी राज्यहरुमा फैलिरहेकै छ ।
त्यसैले भारत तथा भारतको बाटो भएर समेत उक्त पशुजन्य दाना पदार्थ नेपालमा आयात गर्न नमिल्ने विश्व पशु स्वास्थ संगठन (ओआइए)ले २१ मे २०२०मा (८ जेठ २०७७) मै जानकारी गराइसकेको थियो । त्यही मितिमा नेपालले समेत यस्ता वस्तुलाई दिएको सिफारिस रद्ध हुने बाध्यकारी व्यवस्था गरेको थियो । अर्कोतर्फ न्यु होपले ल्याउन लागेको उक्त एमबीएम बंगुरको मासु र हड्डीबाट बनेको प्रमाणित भएको थियो । तर, नेपाली कानुनी व्यवस्थाको बर्खिलाप जबरजस्ती प्रतिबन्धित बस्तुको आयात गर्न २०७७ असार २३ गते उद्योग र बैंकको मिलेमतोमा एलसी खोलेको हो ।
नेपाल राष्ट्र बैंकको आयात निर्यात सिफारिस कार्यविधिमा समेत सम्बन्धित निकायले जारी गरेको सिफारिस पत्रका आधारमा बैंकले एलसी खोल्नु पर्ने व्यवस्था छ । त्यस्तै, सिफारिस पत्रको म्याद समाप्त भएको अवस्थामा नेपालमा रकम अन्यत्र मुलुकमा पठाउने गरी एलसी खोल्न नमिल्ने बाध्यकारी नियमको समेत विपरीत हुने गरी एलसी खोलेर एमबीएम आयात भएको पाइएको छ ।
एक करोड मूल्यको अवैध एमबीएम नष्ट
सिफारिस पत्रको म्याद सकिएपछि पनि उक्त एमबीएम भित्र्याउन न्यु होपको जबरजस्त प्रयासले वीरगन्ज भन्सार नाकासम्म ल्याउन त सफल भयो । तर, भन्सार कार्यालयले उक्त प्रतिबन्धित तथा अवैध एमबीएम नेपाल भित्र्याउन दिएन । आयातकर्तालाई उक्त पदार्थ ल्याएकै ठाउँमा फिर्ता गर्न भन्यो ।
‘उद्योगले फिर्ता लैजान पाऊँ भनेर अनुमतिका लागि पशु सेवा विभागमा निवेदन पनि दिएको थियो,’ प्रमुख सिंहले भनिन्, ‘त्यसपछि सामान नष्ट गरेको हामीलाई जानकारी छैन । उक्त एमबीएमको म्याद उत्पादन भएको मितिले ६ महिनासम्म मात्रै हुन्छ । म्याद नाघेकोले पनि सायद सामान फिर्ता पठाउन सकेनन् होला ।’
पशु सेवा विभाग अन्तर्गतको पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख वरिष्ठ पुश चिकित्सक डा. हरेराम यादवका अनुसार उक्त एमबीएम नष्ट गरिएको छ । ‘स्वाइन फिवरका कारण बंगुरजन्य पदार्थ नेपाल आयातमा प्रतिबन्ध छ,’ उनले भने, ‘तर, उक्त एमबीएम बंगुरको मासु र हड्डीबाट बनेको देखियो । सिफारिस पत्रको म्याद पनि सकिएको छ । कम्पनीले न्यु होप सिंगापुरलाई नै फिर्ता पठाउन हामीले भन्यौं । तर, फिर्ता गर्न नसकेपछि नष्ट गरिएको हो ।’
यसरी शक्तिको आडमा कानुनविपरीत गरिएको जबरजस्तीले झण्डै एक करोड मूल्य बराबरको एमबीएम नष्ट गर्न न्यु होप बाध्य भएको छ । चैत २७ गते उक्त एमबीएम नष्ट गरिएको छ । यसबारे आधिकारिक धारणा बुझ्न भेट टाइम्सले न्यु होपका प्रतिनिधिसँग सम्पर्क गर्न खोजे पनि उनी सम्पर्कमा आएनन् ।
र यो पनि पढ्नुहोस्-
http://vetkhabar.com/2020/08/1099/