भिटामिनकाे नाममा पानी बेच्दै पशुपन्छी औषधि व्यवसायी ढकाल (ल्याब रिपोर्टसहित)
राजन प्रसाईं ।
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यावसायी संघका केन्द्रीय उपाध्यक्ष यज्ञराज ढकाल नै गुणस्तरहीन भिटामिन बिक्रीवितरणमा संलग्न रहेको खुलासा भएको छ । उपाध्यक्ष ढकालले सञ्चालन गरेको यमुना भेट डिष्ट्रिब्युटरले भारतको ग्रोवल एग्रोभेट प्रालिले उत्पादन गरेको गुणस्तरहीन ‘ग्रोभिट ए’ नामको भिटामिन आयात गरी बिक्रीवितरण गरेको पाइएको हो । यमुना भेट उक्त भारतीय कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता हो ।
काडमाडौंकै एक कुखुरा पालक किसानले रिगा भेटेरिनरी गंगबुबाट खरिद गरेको उक्त भिटामिन गुणस्तरहीन रहेको र प्रक्रिया नै नपुर्याइ आयात गरेको खुलेको हो ।
हेर्नुहाेस् बिल–
उक्त भिटामिन आफ्नो फर्मको कुखुरालई खुवाइरहेको भए पनि अपेक्षित रुपमा कुखुराको वृद्धिविकास नभएपछि शंकाको आधारमा उक्त भिटामिनको ल्याब परीक्षण गर्दा गुणस्तरहीन रहेको रिपोर्ट प्राप्त भएको ती किसानले बताएका छन् ।
‘कुखुराको वृद्धि विकास राम्रो होस् भनेर मैले उक्त भिटामिन कुखुरालाई खुवाएको थिएँ,’ नाम उल्लेख नगर्ने शर्तमा ती किसानले भने, ‘तर कुखुराको तौल नै बढेन । भेटेरिनरी डाक्टरसँग परामर्श गर्दा भिटामिनको गुणस्तर परीक्षण गर्नुपर्ने सल्लाह भयो । ल्याबमा लगेर गुणस्तर परीक्षण पनि गराइयो । तर, उक्त भिटामिनमा आवश्यक भिटामिन तत्व नभई पानी मात्रै पाइयो ।’
भिटामिन उत्पादन गर्ने कम्पनी तथा आयातकर्ता र भेट फर्माहरुले वर्षौंदेखि भिटामिनको नाममा पानी बेचेको थाहा पाउँदा आफू आश्चर्यमा परेको समेत ती किसानले बताए ।
‘भिटामिनको नाममा पानी किनेर कुखुरालाई खुवाउँदा त्यसले मलाई र मेरो व्यवसायमा पारेको क्षति त छँदैछ,’ उनले भने, ‘त्यो भन्दा बढी त मलाई मलाई आश्चर्य यस मानेमा लागेको छ कि भिटामिनको नाममा निर्वाध रुपमा पानी बेच्न कसरी सके । अहिलेसम्म किन केही कारवाही भएन ?’
लेबलमा गुणस्तर, बोतलभित्र पानी
ती किसानले खरिद गरेको भिटामिनको बोतलमा टासिँएको लेबलअनुसार उक्त भिटामिन सन् २०१८ डिसेम्बरमा उत्पादन भएको छ । उक्त भिटामिनको उत्पादन ब्याच नं. जिभिए ०७३ रहेको छ । भिटामिन ए प्लामिटेकको मात्रा प्रति मिलिलिटर १ लाख आईयू रहेको उल्लेख छ । तर, परीक्षणको ल्याब रिपोर्टले भिटामिन ए प्लामिटेकको मात्रा प्रतिमिलिलिटर २६३६.१४६ आईयु (करिब २.६ प्रतिशत) मात्र रहेको देखाएको छ । यसबाट के स्पष्ट हुन्छ भने लेबलमा भिटामिन लेखिए पनि बास्तवमा यो पानी हो ।
हेर्नुहोस् ल्याब रिपोर्ट–
ल्याब रिपोर्ट पेश नै नगरी कसरी भयो आयात ?
नेपालको प्रचलित कानुनअनुसार कुनै फिड सप्लिमेन्ट, भिटामिन आयात गर्न उत्पादन गर्ने देशको मान्यता प्राप्त प्रयोगशालाको ल्याब रिपोर्ट लिनु अनिवार्य हुन्छ । आयातकर्ताले पनि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालाबाट गुणस्तर प्रमाणित गरिएको ल्याव रिपोर्टसमेत समावेश गरेर निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । दुबैतर्फको ल्याब रिपोर्टको नतिजाले उत्पादनको गुणस्तर सही छ र आवश्यक छ भने त्यस्तो सप्लिमेन्ट वा भिटामिन आयात गर्ने अनुमति दिइन्छ ।
पशुपन्छीसम्बन्धी यस्तो भिटामिनको आयात अनुमति पशु सेवा विभागअन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले दिने गरेको छ । यो भिटामिनको आयात अनुमति पनि त्यही निकायले नै दिएको पाइएको छ । तर, कानुनविपरीत आयातकर्ता यज्ञराज ढकालको कम्पनीलाई ल्याब रिपोर्ट नै पेश नगरी भिटामिन आयातको अनुमति उक्त प्रयोगशालाले किन दियो भन्ने खोजीको विषय भएको छ । यस्तो स्पष्ट व्यवस्था हुँदा हुँदै आयातकर्ता यज्ञराज ढकालले भने सबै उत्पादनकाे ल्याब रिपोर्ट पेश गर्नुपर्ने व्यावस्था नभएको झुटो दाबीसमेत भेट खबरसँग गरेका छन् ।
अनुमति दिने निकाय राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका सूचना अधिकारी डा. अमर रायले गुण्स्तरहीन भिटामिन आयात गर्ने आयातकर्ताको विषयमा आफूहरुले अध्ययन गरेर थप विषय बताउने जानकारी दिए ।
‘अहिले हामी चितवनका दाना उद्योगको अनुगमनमा निस्किएका छौं,’ उनले भने, ‘कार्यालय फर्किएपछि थप अध्ययन गरेर जानकारी गराउने छौं ।’
यस विषयमा जानकारी लिन अनुमति दिने निकाय पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ रहेको पाइयो । उनी कार्यालयमा समेत नरहेको जानकारी उनको सचिवालयले गराएको छ ।
त्यस्तै, विभाग अन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाकी प्रमुख डा. नम्रता सिंहसँग सम्पर्क गर्न खोज्दा २ दिनदेखि उनी फोन सम्पर्कमा आउन चाहिनन् । कार्यालयमा समेत नरहेकोले भेटसमेत हुन सकेन ।
हेर्नुहोस् कानुनी व्यवस्था –
भिटामिन गुणस्तर नभएको सत्य हो : आयातकर्ता
गुणस्तरहीन भिटामिनबारे आयातकर्ता यमुना भेटका संञ्चालक यज्ञराज ढकालसँग जिज्ञासा राख्दा उनले उत्पादनमा कैफियत रहेको स्वीकारेका छन् । ‘यो कुरा मलाई पनि किसानले जानकारी गराउनु भएको थियो,’ उनले भने, ‘गुणस्तर पत्ता लगाउन म पनि ल्याब परीक्षण गराउँछु ।’ यदी गुणस्तरहीन नै देखिएको हो भने उक्त कम्पनीको उत्पादन नेपाल भित्रिन दिनु हुँदैन । नेपालमा गुणस्तरीय उत्पादन आउनु पर्छ । यस्ताे विवाद देखिएपछि मैले उक्त कम्पनीको औषधि तथा भिटामिन आयत गर्न छोडिसकेको छु । अन्य आयातकर्ता साथीहरुले पनि अब ल्याउनु भएन ।’
गुणस्तरहीन भन्दै, पुनः आयात अनुमति लिँदै
रोचक त के छ भने यमुना भेट डिष्ट्रिव्युटरले त्यही गुणस्तरहीन भिटामिन आयात गर्न राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला पुनः अनुमति लिएको छ । यमुना भेटले चालू आर्थिक वर्षका लागि समेत त्यही कम्पनीकाे भिटामिन अायात गर्न २०७७ साउनमा अनुमति लिएको पाइएको हो ।
यस विषयमा भेट खबरले राखेको जिज्ञासामा नेपालका अन्य आयातकर्ताले पनि उक्त कम्पनीको गुणस्तरहीन औषधि तथा भिटामिन आयात नगरुन् भनेर अनुमति पत्र आफूले होल्ड मात्र गरेको ढकालले दाबी गरे ।
‘मैले त त्यो कम्पनीको उत्पादन आयात गर्दै गर्दिनँ,’ उनले भने, ‘अरुले पनि नल्याउन् भनेर अनुमति पत्र होल्ड मात्र गरेको हुँ । त्यो कम्पनीको उत्पादन आयात गर्दिन भनेर लिखित रुपमा मै पशु सेवा विभागलाई भोलि नै जानकारी गराउने छु ।’