लम्पी स्किन रोगबारे नेल्टाद्वारा सचेतनामूलक वेविनार आयोजना
काठमाडौं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा)ले नेपालमा हालै देखा परेको लम्पी स्किन रोगबारे पशु स्वास्थ्य प्राविधिकहरुका लागि सचेतनामूलक वेविनार कार्यक्रमको आयोजना गरेको छ । झण्डै एक महिनाअघि मोरङका गाईमा देखिएको यो नयाँ रोगको पुष्टि भने ११ साउनमा पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरबाट भएको नमुना परीक्षणबाट भएको थियो । रोग देखिएको १ महिनाभित्रमै देशका विभिन्न जिल्लाका यो रोग फैलिसकेको तथा गाई मर्नसमेत थालेपछि नेल्टाले प्राविधिकहरुका लागि अभिमुखिकरण गर्न वेविनार कार्यक्रमको आयोजना गरेको नेल्टाका अध्यक्ष जनक रावलले भेट खबरलाई बताए ।
संघमा आवद्ध झण्डै ८४ जना पशु स्वास्थ्य प्राविधिकहरुको सहभागिता रहेको सो वेविनार कार्यक्रममा पशु रोग विशेषज्ञ डा. सुरेन्द्र कार्कीले उक्त रोगबारे सचेतनामूलक कार्यपत्र प्रस्तुत गरेका थिए । विशेषज्ञ डा. कार्कीका अनुसार नेपालमा हालसम्म लम्पी स्किन रोगको खोप उपलब्ध छैन । उक्त रोगको खोप विश्वका अन्य मुलुकमा भए पनि नेपालमा नहुँदा यहाँ यो रोगबाट देखिने लक्षणका आधारमा उपचार गर्नुपर्ने बाध्यता छ । खास गरी गाई र कहिलेकाहीँ भैंसीमा समेत देखिने यो रोग सरुवा रोग हो ।
हालसम्म कुनै पनि देशले प्रभावकारी खोप नलगानी लम्पी स्किन रोग नियन्त्रण गर्न नसकेकोले नेपालमा पनि खोपको उपलब्धता अनिवार्य भएको उनले बताए । हाल लम्पी स्किन रोग देखिएका गाईका लागि ठोस उपचार नभएपनि लक्षणका आधारमा उपचार गरिरहेको उनले बताए । ज्वरो आयो भने ज्वरो घटाउने जस्ता उपाय अपनाएर उपचार गर्ने गरिएको छ ।
डा. कार्कीका अनुसार पक्स भाइरस(विषाणु) समूहको लम्पी स्किन भाइरसले यो रोग लाग्छ । यो रोग लागेका गाईका घाँटी, पुच्छर वरिपरीका भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागहरुमा साना ठूला गिर्खाहरु देखिने, १०५ डिग्री फरेनहाइटभन्दा बढी (उच्च ज्वरो) आउने, कचेरा र सिँगान बग्ने, तथा मुखबाट धेरै फिँज निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पान कम हुने, बाँझोपन हुने, ४५ प्रतिशतसम्म गाईभैंसीहरु बिरामी पर्ने, रोग लागेका मध्ये १० प्रतिशत जतिको मृत्यु हुने लक्षण देखिन्छन् । यो रोगको संक्रमण बढ्दै गए करिब आत्मनिर्भर भएको दूधको उत्पादनमै कमी आई दूधमा परनिर्भर हुनुपर्ने, व्यावसायीक रुपमा गाई पालन गरिरहेका किसानले व्यवसायबाट नै पलायन हुनुपर्ने जस्तो भयावह अवस्था आउन सक्ने देखिएको छ । खास गरी लामखुट्टे, टोक्ने झिँगा, किर्नालगायत जीवको टोकाइबाट यो रोग एक पशुबाट अर्को पशुमा सर्छ । त्यस्तै, गाईभैंसीसँगको लसपस, आसोरपसार, संक्रमित र स्वस्थ गाईभैंसीको उपचार, स्याहार, चरणका क्रममा हुने लसपस, एउटै सुईको प्रयोग, गर्भाधान गर्दा संक्रमित साँढेको विर्य प्रयोग, संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्चाबाच्छी, पाडापाडीमा यो रोग सर्छ ।
‘२ सय ओटा पशुलाई खोप लगाउने क्रममा एक दुई पशुमा यत्तिकै सरेको देखियो,’ कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘गाई ओसारपसार नियन्त्रण गर्नुपर्छ । लामखुट्टे, झिँगा, किर्ना नियन्त्रण गर्ने, गोठ सफा राख्ने जस्ता उपाय व्यवहारिकता हेरिकन अपनाउनु पर्छ ।’ यो पशुबाट मानवमा नसर्ने रोग हो ।
याे पनि पढ्नुहाेस्ः
http://vetkhabar.com/2020/08/1018/