डा. टिकाराम न्यौपानेको दर्ता पुनः कायम
काठमाडौं — नेपाल पशु चिकित्सा परिषद्ले पशु चिकित्सक डा. टिकाराम न्यौपानेको नाम पुनः दर्ता किताबमा कायम गर्ने निर्णय गरेको छ। यसअघि गम्भीर व्यावसायिक विचलनको आरोपमा दर्ता खारेज गरिएका उनलाई आवश्यक छानबिन तथा कानुनी प्रक्रिया पूरा भएपछि पुनः अभ्यास गर्न अनुमति दिइएको परिषद्ले जनाएको छ।
परिषद्ले २०८२ चैत २३ गते सार्वजनिक गरेको सूचनाअनुसार, उनीमाथि लगाइएका आरोपहरूबारे आवश्यक छानबिन सम्पन्न भएपछि नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा १४ (२) बमोजिम पुनः दर्ता गरिएको हो।
यसअघि परिषद्ले २०८२ जेठ २० गते डा. न्यौपानेको दर्ता खारेज गरेको थियो। निलम्बन अवधिमा नियम उल्लंघन गर्दै हेटौंडाबाट महोत्तरीतर्फ रोगी पशु ढुवानीका लागि प्रमाणपत्र जारी गरेको आरोपमा उनीमाथि उक्त कारबाही गरिएको थियो। त्यसपछि उनी पशु चिकित्सकीय अभ्यासबाट वञ्चित भएका थिए।
परिषद्को २०८२ माघ १२ गतेको बैठकले पुनः दर्ता गर्ने निर्णय गरेको थियो, जसलाई अध्यक्षबाट २०८२ चैत २२ गते स्वीकृति दिइएको हो। परिषद्ले सोही मितिदेखि लागू हुने गरी डा. न्यौपानेको नाम दर्ता किताबमा पुनः कायम गरिएको जनाएको छ।
यो निर्णयसँगै डा. न्यौपानेले पुनः कानुनी रूपमा पशु चिकित्सकीय अभ्यास गर्न तथा आवश्यक प्रमाणपत्रहरू जारी गर्न पाउने भएका छन्। परिषद्को यस्तो निर्णयलाई पशु चिकित्सा क्षेत्रमा महत्वपूर्ण रूपमा हेरिएको छ।
