रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
चितवन। सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका नगरपालिकाले स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सम्पन्न गरेको छ। सामुदायिक कुकुर तथा बिरालोहरू जङ्गली जनावरसँग सम्पर्कमा आउने भएकाले रोग फैलिने जोखिम उच्च हुने भन्दै अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका पशु चिकित्सक डा. राजुप्रसाद न्यौपानेले नेपाल सरकारको लक्ष्यअनुसार रेबिज नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। अभियानअन्तर्गत नगरपालिकाका सबै वडामा पुगेर कुकुर तथा बिरालो सङ्कलन गरी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाइएको उहाँले जानकारी दिनुभयो।
यही चैत १२ देखि १४ गतेसम्म दुई सय ७२ कुकुर र दुई बिरालोको स्थायी बन्ध्याकरण गरिएको थियो। “यो कार्यक्रम गत वर्ष पनि सञ्चालन गरिएको थियो। त्यसको निरन्तरता र सामुदायिक कुकुर–बिरालो नियन्त्रणलाई अझ प्रभावकारी बनाउन यस वर्ष पनि अभियान सञ्चालन गरिएको हो,” डा. न्यौपानेले भन्नुभयो।
नेपाल सरकारले सन् २०३० सम्म कुकुर तथा बिरालोका कारण हुने रेबिजबाट मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको र सोही लक्ष्यअनुसार ‘एनिमल बर्थ कन्ट्रोल’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको जनाइएको छ। गत वर्ष करिब एक सय ५० कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको थियो।
बन्ध्याकरणपछि स्वास्थ्य अवस्था जाँच गरी आवश्यक उपचारसमेत गरिएको डा. न्यौपानेले जानकारी दिनुभयो।
