रूपन्देहीमा भेटेरिनरी सम्मेलन, विज्ञ र अनुसन्धानकर्ताको सहभागिता रहने
काठमाडौँ । नेपालका पशु चिकित्सक तथा प्राविधिकहरूको सहभागितामा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन आयोजना हुने भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै “एक स्वास्थ्य” अवधारणालाई सुदृढ बनाउने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलन यही चैत २७ र २८ गते रूपन्देहीको मणिग्राममा हुनेछ। “दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग” भन्ने नारासहित आयोजना हुने सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढङ्गले उजागर गर्ने लक्ष्य राखेको छ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीका अनुसार सम्मेलनमा नेपालसहित ७ भन्दा बढी देशका प्रतिनिधि तथा १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताको सहभागिता रहनेछ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभावजस्ता विषयमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुनेछन्।
अध्यक्ष सुवेदीले नेपाल मासु उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि किसान र उपभोक्ताबीच ठूलो अन्तर रहेको उल्लेख गरे। “हामी मासुमा आत्मनिर्भर भइरहेका छौं, तर किसान र उपभोक्ताबीच ठूलो खाडल छ। किसानले उचित मूल्य पाइरहेका छैनन् भने उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको अवस्था छ। यस्ता विषयमा पनि सम्मेलनमा छलफल हुनेछ,” उनले भने।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शङ्कर न्यौपानेका अनुसार सम्मेलनमा पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिसम्बन्धी प्रदर्शनी स्टलहरू समेत राखिनेछन्। “सम्मेलनमा सहभागीहरूले पशु चिकित्सा क्षेत्रमा विकसित नवीनतम प्रविधि र व्यवहारिक अभ्यासबारे जानकारी लिन सक्नेछन्,” उनले भने।
उनका अनुसार पशुपन्छी क्षेत्र, जसले अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ, त्यस क्षेत्रमा देखिएका समस्या, चुनौती तथा आवश्यक प्राविधिक सुधारका विषयमा सम्मेलनमा विस्तृत बहस गरिनेछ।
सम्मेलनमा सहभागिताका लागि हालसम्म २५० जना पशु चिकित्सकले दर्ता गरिसकेका छन् भने करिब ५०० जनाको उपस्थिति रहने अनुमान गरिएको छ।
यसैबीच, सम्मेलनको पूर्वसन्ध्यामा चैत २६ गते रूपन्देहीस्थित एक्स्ट्रा टेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देशभरका भेटेरिनरीयनहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिने कार्यक्रम रहेको छ।
