बर्डफ्लु नियन्त्रणमा कडाइ गर्न औषधि व्यवसायी संघको अपिल
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा {H5N1}) संक्रमण पुष्टि भएसँगै नेपाल पशुपन्छी औषधि व्यवसायी संघले रोग नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन अपिल गरेको छ। संघका महासचिव सादुराम ढकाल (आशिष) द्वारा जारी विज्ञप्तिमा पशु सेवा विभागको जानकारीअनुसार मोरङ जिल्लाका सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुरामा {H5N1} प्रजातिको बर्डफ्लु पुष्टि भएको उल्लेख गरिएको छ।

संघले उक्त रोगबाट उत्पन्न हुन सक्ने सम्भावित क्षति तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउँदै प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्न आग्रह गरेको छ। विज्ञप्तिमा बर्डफ्लु पूर्ण नियन्त्रणमा नआउँदासम्म विश्व पशु स्वास्थ्य संगठन तथा पशु सेवा विभागद्वारा जारी मापदण्ड, निर्देशन तथा नियन्त्रणसम्बन्धी प्रावधानहरूको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, रोग प्रभावित तथा उच्च जोखिमयुक्त क्षेत्रबाट कुखुरा, अण्डा, दाना तथा अन्य कुखुराजन्य उत्पादन र सामग्रीहरूको ओसारपसार नगर्न तथा नगराउन विशेष अनुरोध गरिएको छ। संघले पशुपन्छी औषधि व्यवसायी तथा सर्वसाधारणलाई समेत सचेत रहँदै संक्रमण नियन्त्रणमा सहयोग गर्न आह्वान गरेको छ। हाल मोरङसँगै झापा र सुनसरी जिल्लामा पनि बर्डफ्लु संक्रमणको जोखिम बढ्दो रहेको पाइएको छ। सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा कुखुरा नष्ट गर्ने, निसंक्रमण गर्ने तथा आवतजावतमा कडाइ गर्ने लगायतका नियन्त्रणका उपायहरू कार्यान्वयन गरिरहेका छन्।
विशेषज्ञहरूका अनुसार {H5N1} प्रजातिको बर्डफ्लु अत्यन्त संक्रामक र उच्च मृत्युदर हुने रोग भएकाले समयमै नियन्त्रण गर्न नसके पोल्ट्री क्षेत्रमा ठूलो आर्थिक क्षति हुनुका साथै आपूर्ति प्रणाली र जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्छ।
