बर्डफ्लु संक्रमित क्षेत्रबाट पशु स्वास्थ्य प्रमाणपत्र जारी नगर्न परिषद्को निर्देशन
काठमाडौँ — देशका विभिन्न जिल्लामा बर्डफ्लु (H5N1) संक्रमण फैलिँदै गएपछि नेपाल पशु चिकित्सा परिषद्ले रोग नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षाका लागि शु चिकित्सकहरूलाई संक्रमित तथा उच्च जोखिमयुक्त क्षेत्रबाट अन्यत्र पन्छी तथा पन्छीजन्य वस्तु ढुवानीका लागि प्रयोग हुने पशु स्वास्थ्य प्रमाणपत्र अर्को सूचना नभएसम्म जारी नगर्न निर्देशन दिएको छ।
परिषद्का अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुरामा गरिएको प्रयोगशाला परीक्षणबाट ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (H5N1) पुष्टि भएको छ। मोरङका साथै सुनसरी र झापाका केही स्थानमा समेत संक्रमण देखिएको जानकारी प्राप्त भएको परिषद्ले जनाएको छ।
परिषद्का रजिष्ट्रार डा. रामकुमार मण्डलद्वारा जारी सूचनामा आफ्नो कार्यक्षेत्रभित्र कुखुरामा असामान्य बिरामीपन वा मृत्यु देखिएमा तुरुन्त सम्बन्धित निकायसँग समन्वय गरी जानकारी गराउन आग्रह गरिएको छ।
पशु सेवा विभागले मोरङका प्रभावित क्षेत्रलाई यसअघि नै “संक्रमित क्षेत्र” घोषणा गरी नियन्त्रणका उपायहरू लागू गरिसकेको छ। विज्ञहरूका अनुसार H5N1 प्रजातिको बर्डफ्लु अत्यन्त संक्रामक र उच्च मृत्युदर हुने रोग भएकाले समयमै कडा सतर्कता नअपनाए पोल्ट्री क्षेत्र र जनस्वास्थ्य दुवैमा गम्भीर असर पर्न सक्छ।
परिषद्ले सबै पशु चिकित्सक तथा सरोकारवालालाई सरकारी निर्देशनहरूको पूर्ण पालना गर्न र उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
