झापामा ‘बर्ड फ्लु’ प्रकोपः संकट क्षेत्र घोषणा

झापा  । झापाका विभिन्न स्थानमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) देखापरेपछि प्रशासनले उच्च सतर्कता अपनाउँदै प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ।

दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियन्त्रणका कडा उपाय लागू गरेको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनाअनुसार, रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारैतिरका क्षेत्रमा निगरानी बढाइएको छ। संक्रमण फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट कुखुरा, अण्डा, दाना तथा अन्य पक्षीजन्य सामग्रीको ओसार–पसार पूर्ण रूपमा बन्द गरिएको छ।

भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार, दमक नगरपालिका–१० स्थित एक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ। संक्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो।

यसैबीच, दमक र झापा गाउँपालिकासँगै मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रबाट पनि कुखुरा मर्ने सूचना प्राप्त भएकाले संक्रमण फैलिने जोखिम बढेको आकलन गरिएको छ।

भट्टराईका अनुसार किसानहरूले ल्याएका नमूनामा गरिएको प्रारम्भिक ‘र्‍यापिड टेस्ट’मा पोजेटिभ देखिएपछि थप पुष्टि गर्न केन्द्रीय प्रयोगशालामा पीसीआर परीक्षणका लागि नमुना पठाइएको छ।

झापासँगै छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत बर्ड फ्लु फैलिइसकेको अवस्थामा क्षेत्रीय रूपमा जोखिम उच्च बन्दै गएको छ। पशु सेवा विभागले यसअघि मोरङका विभिन्न क्षेत्रमा H5N1 प्रजातिको बर्ड फ्लु पुष्टि गरी ‘संक्रमित क्षेत्र’ घोषणा गरिसकेको छ।

यस अवस्थालाई मध्यनजर गर्दै विज्ञहरूले समयमै कडा नियन्त्रणका उपाय नअपनाए पोल्ट्री क्षेत्रमा ठूलो आर्थिक क्षति हुने चेतावनी दिएका छन्। स्थानीय प्रशासनले सर्वसाधारण तथा किसानलाई सतर्क रहन, बिरामी वा मृत कुखुरा नछुन तथा शंकास्पद अवस्था देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *