बर्डफ्लु नियन्त्रणमा उच्च सतर्कता अपनाउन नेपाल भेटेरिनरी एशोसियसनको आग्रह
काठमाडौँ ।पछिल्लो समय देशका विभिन्न भागमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) का घटना देखिन थालेपछि नेपाल भेटेरिनरी एशोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
एशोसियसनका महासचिव डा. शंकर न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा पोल्ट्री क्षेत्र नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने बहुआयामिक उद्योग भएको उल्लेख गर्दै यस क्षेत्रमा बर्डफ्लुले ठूलो आर्थिक क्षति पुर्याउने जोखिम औँल्याइएको छ। साथै, यसले जनस्वास्थ्यमा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

एशोसियसनले संघ, प्रदेश र स्थानीय तहका सरकार तथा सम्बन्धित निकायहरूलाई प्रभावकारी समन्वय गर्दै रोग नियन्त्रणका लागि कडाइका साथ कदम चाल्न आग्रह गरेको छ। रोग नियन्त्रण तथा व्यवस्थापनमा संलग्न पशु चिकित्सक, प्राविधिक जनशक्ति, प्रशासन तथा सुरक्षा निकायप्रति आभार व्यक्त गर्दै उनीहरूको भूमिकालाई महत्वपूर्ण ठहर गरिएको छ।
त्यस्तै, विश्व पशु स्वास्थ्य संगठन तथा पशु सेवा विभागद्वारा जारी मापदण्ड र निर्देशनहरू पूर्ण रूपमा पालना गर्न एशोसियसनले सबै सरोकारवालालाई आग्रह गरेको छ।
विशेषगरी, रोग प्रभावित तथा जोखिमयुक्त क्षेत्रबाट कुखुरा, कुखुराजन्य उत्पादन तथा सम्बन्धित सामग्रीको ओसारपसार नगर्न कडाइका साथ अनुरोध गरिएको छ। साथै, संवेदनशील अवस्थालाई ध्यानमा राख्दै बर्डफ्लु पुष्टि भएका वा उच्च जोखिमयुक्त क्षेत्रबाट पशु स्वास्थ्य प्रमाणपत्र जारी नगर्न सम्पूर्ण पशु चिकित्सकहरूलाई एशोसियसनले विशेष निर्देशन दिएको छ।
एशोसियसनले पोल्ट्री क्षेत्रले देशमा रोजगारी सिर्जना, मासु तथा अण्डामा आत्मनिर्भरता र समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यस्तो संक्रमण नियन्त्रणमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको जनाएको छ।
यसैबीच, पशु सेवा विभागले मोरङका सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा H5N1 प्रजातिको बर्डफ्लु पुष्टि भएसँगै प्रभावित क्षेत्रलाई “संक्रमित क्षेत्र” घोषणा गरी नियन्त्रणका उपायहरू लागू गरिसकेको छ।
