पशु सेवा विभागद्वारा बर्डफ्लु पुष्टि, मोरङ ‘संक्रमित क्षेत्र’ घोषणा
काठमाडौँ । पशु सेवा विभागले मोरङ जिल्लाका दुई स्थानीय तहमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको जनाएको छ। नियमित निगरानीका क्रममा संकलित नमुना परीक्षण गर्दा H5N1 प्रजातिको उच्च रोगजन्य बर्डफ्लु पुष्टि भएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिएका छन्।
उनका अनुसार सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुराबाट संकलित नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रभावित क्षेत्रलाई “संक्रमित क्षेत्र” घोषणा गरी बर्डफ्लु नियन्त्रणसम्बन्धी कार्यहरू तीव्र पारिएको विभागले जनाएको छ।
विभागका अनुसार प्रभावित क्षेत्रभित्रका कुखुरा, अण्डा तथा अन्य कुखुराजन्य उत्पादनहरूको सुरक्षित नष्ट गर्ने तथा आवश्यक स्थानमा निसंक्रमण (डिसइन्फेक्सन) गर्ने कार्य सुरु गरिएको छ। संक्रमण थप फैलिन नदिन तत्काल नियन्त्रण तथा रोकथामका उपाय लागू गरिएको छ।
यसैक्रममा प्रभावित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य सामग्रीको ओसारपसारमा कडाइ गरिएको छ। स्थानीय, प्रदेश र संघीय निकायबीच समन्वय गरी नियन्त्रण अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ।

