भेटकन २०२६ चैत २७–२८ मा रुपन्देहीमा

काठमाडौँ । नेपालमा पशु स्वास्थ्य तथा “एक स्वास्थ्य” अवधारणालाई सुदृढ बनाउन १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) आयोजना हुने भएको छ। नेपाल भेटेरिनरी एसोसियसनको आयोजनामा सम्मेलन २०८२ चैत २७ र २८ गते रुपन्देहीको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा हुने आयोजकले जनाएको छ।

“दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग” मूल नारासहित हुने सम्मेलनमा मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धबारे वैज्ञानिक छलफल गरिनेछ। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवालाको सहभागिता रहनेछ।

सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने र १० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। साथै, १५ भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा र जलवायु परिवर्तनका विषयमा धारणा राख्नेछन्।

विद्यार्थीको क्षमता विकासका लागि पोस्टर प्रतियोगिता आयोजना गरिनेछ भने उत्कृष्टलाई पुरस्कार प्रदान गरिनेछ। २५ वर्षभन्दा बढी योगदान दिएका पशु चिकित्सकलाई विशेष सम्मान गरिने नेपाल भेटेरिनरी एसोसियसनका महासचिव डा. शंकर न्यौपानेले जानकारी दिए।

सम्मेलनमा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न निकाय तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ। प्रदर्शनीमार्फत औषधि, खोप, आहार तथा आधुनिक प्रविधिबारे जानकारी दिइनेछ।

नेपाल सरकारका निकायहरूका साथै खाद्य तथा कृषि संगठन (एफएओ), अमेरिकी सोयाबिन निर्यात परिषद् र नेपाल भेटेरिनरी काउन्सिललगायतको सहयोग रहनेछ। सम्मेलनका लागि अग्रिम दर्ता खुला भइसकेको छ।

आयोजकका अनुसार सम्मेलनले पशु स्वास्थ्य, अनुसन्धान र प्रविधि विकासमा टेवा पुर्‍याउँदै “एक स्वास्थ्य” अवधारणालाई व्यवहारमा उतार्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

१६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन (VetCon 2026) ले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान र नवीन प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। एक स्वास्थ्य अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा रहेको आयोजक नेपाल भेटेरिनरी एसोसियसनका अध्यक्ष डा. केदार सुबेदीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *