पशु प्राविधिकदेखि आयातकर्तासम्म

आजभन्दा करिब दुई दशक अघिसम्म घरपालुवा जनावर (पेट एनिमल) को औषधोउपचार गर्ने र पूरक आहारा (फिड सप्लिमेन्ट) खुवाउने चलन नेपालमा खासै विकास भइसकेको थिएन । एक त कुकुर, बिरालाजस्ता जनावर पाल्ने ‘कल्चर’ नै कम थियो, अर्को यस्ता जनावर पाल्नेहरूमा पालनपोषणको आधारभूत ज्ञान पनि थिएन । पेटको औषधि, आहारालगायत सामान बिक्री वितरणमा छुट्टै पहिचान बनाएका लुक्सी भेट फर्माका सञ्चालक नारायण प्रसाद अधिकारी भने त्यही कठिन समयमा चुनौती मोलेर यो क्षेत्रमा हेलिएका थिए । नारायणले अहिले भारतीय विभिन्न कम्पनीका पेट औषधि, फिड सप्लिमेन्टलगायत यसका लागि आवश्यक पर्ने सबैजसो सामग्री देशभर बिक्री वितरण गर्दै आइरहेका छन् । थपमा उनले स्वदेशी कम्पनीका पेटसम्बन्धी उत्पादनहरू पनि आफ्नो सञ्जालमार्फत उपभोक्तासमक्ष पु¥याउँदै आइरहेका छन् । एक हिसाबले भन्नुपर्दा नेपालको पेट क्षेत्रमा नारायणले अलग्गै पहिचान स्थापित गरेका छन् । त्योभन्दा महत्वपूर्ण कुरा रेबिज रोगविरुद्धको खोप लगाउने बाहेक अरू नजानेको समाजमा घरपालुवा जनावर कसरी हुर्काउनु पर्छ भनेर नारायणलगायतका यो क्षेत्रका अगुवाहरूले जागरण ल्याएका छन् । नारायण आफैं पनि आफूले गरेका कामबाट प्रसन्न सुनिन्छन् तर उनले यहाँसम्म आइपुग्न पार गरेका संघर्षका चरण भने आफैंमा रोचक, प्रेरक अनि चाखलाग्दा छन् ।

राम्रो विषय अध्ययन गर्ने, राम्रो आयआर्जन गर्ने र उन्नत जीवनशैली ज्युने चाहना अपवादबाहेक सबैमा हुन्छ । स्थायी थाततलो अर्खाखाँची भएका नारायणको पनि कुनै संकायमा स्नातकोत्तरसम्म अध्ययन गर्ने सपना थियो । गाउँबाट एसएलसी उत्तीर्ण गरेपछि भने नारायणको प्रारम्भिक सपनामा बद्लाव आयो । आफूलाई आवश्यक पर्ने खर्चका लागि बुवाआमा र दाजुभाइसँग हात थाप्नुपर्ने बाध्यताबाट मुक्ति पाउन उनले पशु प्राविधिक विषय अध्ययन गर्ने निर्णय लिए । यो निचोडमा चाहिँ उनी पशु प्राविधिक काका कारण पुगेका थिए ।

‘सधैंभरि बुवाआमा, दाजुभाइसँग पैसा मागेर चल्न गाह्रो हुन्थ्यो । त्यसैले छोटो समयमै कसरी पैसा कमाउन सकिन्छ त भनेर घोत्लिएँ,’ तीन दशकअघिको विगततिर फर्कंदै नारायणले सुनाए, ‘घरमा पालेको बहर गोरु सुमर्न प्राविधिक विषय पढेका काकालाई बोलाउँथ्यौं । उहाँले नयाँ प्रविधि प्रयोग गरेर सजिलै त्यो काम गर्नुहुन्थ्यो । त्यसबापत पैसा पाउनुहुन्थ्यो । उहाँको काम देखेपछि मलाई लाग्यो, पशु प्राविधिक हुन पाए त छिटोमिठो कमाइ पो हुने रहेछ ।’

पशु प्राविधिक बन्ने दृढ निश्चय गरेर अघि बढेका नारायणले बुटवल लुम्बिनी प्राविधिक शिक्षालयमा भर्ना भएर पशु प्राविधिक अध्ययन गरेँ । यो ०५३÷५४ सालको कुरा थियो । त्यस समय १२ महिना पढाइ हुन्थ्यो भने ३ महिना जिल्ला पशु सेवा कार्यालयमा इन्टर्नसिप गर्नुपथ्र्यो । त्यसक्रममा उनी पशुवस्तुको उपचार गर्दै अर्घाखाँचीका गाउँहरू चहारे । यसक्रममा किसानका गोठका पशुवस्तुमा लाग्ने रोग र तिनको उपचार अवस्थाबारे आफूले थाहा पाएको नारायण बताउँछन् ।
आजभन्दा तीन दशकअघि पशुवस्तुको उपचार निकै दुरुह थियो । सबैभन्दा महत्वपूर्ण कुरा पशुवस्तुको उपचार गर्नुपर्छ भन्ने जागरण थिएन । पशु स्वास्थ्य क्षेत्रमा सरकारी उपस्थिति पनि त्यति व्यापक र व्यवस्थित थिएन । त्यसो त अहिले पनि यसमा उल्लेखनीय विकास हुन सकेको पाइँदैन । यी सबै परिस्थिति विश्लेषण गरेपछि नारायणलाई लाग्यो, पशुवस्तुको उपचारका लागि महत्वपूर्ण कुरा औषधि हो । अब औषधि पसल खोलेर पशुवस्तुको उपचार गर्नुपर्छ ।

आफूले अध्ययन गरेकै विषयमा केही गर्ने उद्देश्य पालेर नारायण बुटवल झरे । सजिलो के भइदियो भने उनलाई प्राविधिक विषय पढाएका गुरुको बुटवलमा औषधि पसल थियो । उनका लागि यो एउटा अवसर पनि थियो किनभने औषधिबाहेकका थप लगानी जुटाउनु परेन । पशुवस्तुका औषधि राखेर व्यावसायिक यात्रा अघि बढाउने उनको पहिलो प्रयास यही थियो । तर पहिलो गाँसमै ढुंगा भनेझैं त्यसले सफलताको दिशा पक्डेन । ‘निकै उत्साहका साथ औषधि पसल सुरु गरिएको भए पनि एक महिनामा १०० रूपैयाँको पनि व्यापार भएन,’ पेट क्षेत्रमा हेलिएर तरक्की गरेका नारायण मलिन सुनिए ।

करिअरको प्रारम्भमै, त्यो पनि ठूलो उत्साहका साथ सुरु गरिएको काममा मिल्ने असफलताले जोकसैलाई विचलित गराउँछ । यो अनपेक्षित परिणामले नारायण पनि रन्थनिए । के गर्ने, कसो गर्ने भन्ने अन्योलताले उनलाई बेस्सरी घेराबन्दी ग¥यो । नारायणले संकटबीच तत्काल निर्णय लिए, ‘बाँकी औषधि अर्घाखाँची गएर साथीलाई बाँडिदिने र काठमाडौं पस्ने । ‘त्यसपछि नबिकेको औषधि पोको पारेर अर्घाखाँची उक्लियौं र बाँकी औषधि साथीभाइलाई बेचेर काठमाडौं लाग्यौं,’ जीवनको त्यो टर्निङ प्वाइन्टबारे नारायणले सुनाए । सायद कुवामा बसेर हुँदैन, समुद्रमै हेलिएर चुनौती सामना गर्नुपर्छ भन्ने मनसुवाले नारायण उतिबेला त्यो जोखिम मोल्न तयार भएका हुँदा हुन् ।

सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन…

दिनेश अधिकारीको रचना, नातिकाजीको संगीत र तारादेवीको स्वरमा सजिएको गीतले भनेझैं जीवन सोचे जस्तो सायदै हुन्छ । जीवन त नेपाली आहान ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भने जस्तै विपरीत हिँडिरहेको हुन्छ ।
नारायणका लागि पनि काठमाडौंको बिरानो शहर प्रारम्भमा सोचे जस्तो सहज भइदिएन । जागिरका लागि धेरै ठाउँ भौतारिए । कहिले कता पुग्थे, कहिले कता । बायो डाटा छाड्दै हिँड्थे । जागिर पाउने आशमा नेताका पछाडि पनि लागे, लोक सेवा दिए । कतैबाट चाहेजस्तो परिणाम निस्किएन । सबै सम्भावनाका गोरेटा बन्द भएपछि अब आफैंले केही गर्नुपर्छ भनेर सोचिरहेका बेला पशुपन्छी औषधि पसलमा जागिर खाने अवसर मिल्यो । त्यहाँ उनले झण्डै ४ वर्ष काम गरे ।

यसक्रममा पशुपन्छी औषधि व्यवसायबारे धेरै कुरा सिकेको नारायण सुनाउँछन् । ०६२ मा पशुपन्छी औषधिको व्यवसाय उनले त्यही अनुभव र वस्तुगत आवश्यकताका आधारमा सुरु गरेका हुन् । ‘प्राविधिक विषय अध्ययन गरेर फिल्डमा जाँदा सधैं औषधिको अभाव भइरह्यो । औषधि नहुँदासम्म पशुवस्तु बचाउन नसकिने भएकाले जसरी हुन्छ बचाउन पर्छ भनेर सरकारी ऐन, कानून फलो गरेर आफैंले आयात थालेको हुँ,’ यो क्षेत्रलाई अर्जुनदृष्टि बनाएर लाग्नुको कारण नारायणले खुलाए । चुनौतीहरू पन्छाएर यो व्यवसायमा अघि बढेका उनले अहिले बजारमा राम्रो उपस्थिति जनाएका छन् । ‘भेनुअल, हिमालय, फरइभरको औषधि÷फिड सप्लिमेन्ट आयात गरेर बिक्री गरिरहेको छु । अरूले इम्पोर्ट गरेका पनि बिक्री गर्छु । सुपर प्लस डिष्टिव्युटर दुवै काम गर्छु । भर्खर फस्टाउँदै गरेको व्यवसाय भएकाले एउटै कामले पुग्ने स्थिति छैन,’ नारायण भन्छन् ।

नारायणका अनुसार, २० वर्ष अघिसम्म पेटका राम्रा कम्पनी नेपालमा भित्रिएका थिएनन् । आफूहरूले व्यवसाय थालेसँगै विभिन्न राम्रा कम्पनी नेपालमा भित्रिएको उनको अनुभव छ । यति मात्र होइन, घरपालुवा जनावर कसरी पाल्नुपर्छ भनेर जागरणसमेत पलाएको र यसले पशुको हेरचाहदेखि व्यवसायसम्मको क्षितिज फराकिलो पारेको उनको निचोड छ । ‘पहिले–पहिले रेबिजको मात्र खोप लगाइन्थ्यो भने अहिले अन्य खोप पनि लगाउनु पर्छ भन्ने जागरण आएको छ । पहिले पहिले घरपालुवा जनावरको उपचार नै गरिँदैनथ्यो भने अहिले गर्नुपर्छ भन्ने चेतना आएको छ,’ नारायण भन्छन् । तर देशको आर्थिक अवस्थाका कारण व्यापार भने डामाडोल बन्दै गएको नारायणको तीतो अनुभव छ । ‘सुरुमा चेतनाका कारण राम्रो नभए पनि बीचमा राम्रो भएको थियो । अहिले फेरि आर्थिक स्थिति बिग्रँदा व्यापार खस्किएको छ,’ कारणसहित नारायणले सुनाए ।

खुला सीमाका कारण पेटका सामानहरू पनि अवैध बाटो हुँदै नेपाल भित्रिने गरेका छन् । यसले एकातिर वैध बाटोबाट भित्रिएका वस्तुको बिक्री गर्न समस्या भएको छ भने अर्कातिर राजस्व पनि गुमिरहेको छ । खुला सिमानाबाट भित्रिने पेट सामग्रीले समस्या पारेकाले यसको नियन्त्रणतर्फ चनाखो हुनुपर्नेमा नारायणको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *