‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन: अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका छन्। इच्छाकामना गाउँपालिकास्थित दुई वटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बङ्गुर मरेका हुन्।

भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बँदेल तथा बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो। यो रोग नेपालमा पहिलोपटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो।

रोग सङ्क्रमित सुँगुर–बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्‍याल, मलमूत्र, रगत, मासु तथा लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार वा त्यहाँ गएका व्यक्तिले प्रयोग गरेका लुगाकपडा, जुत्ता–चप्पल आदिबाट पनि सर्न सक्ने न्यौपानेले जानकारी दिनुभयो।

यो रोग लागेका बङ्गुरहरू एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डामहरू देखापर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिज निस्कने, उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर र पेटको तल्लो भागको छाला रातो हुने, झोक्राउने तथा दानापानी खान छोड्ने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने र बच्चा तुहिने जस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो।

यस रोगबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने तथा फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ।

बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याउँदा सिधै फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, खोर तथा वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई अलग राख्ने जस्ता कार्यले क्षति कम गर्न सकिने न्यौपानेको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *