देशभर लो प्याथोजेनिक बर्ड फ्लु संक्रमण बढ्दो, सतर्क रहन पशु सेवा विभागको आग्रह
काठमाडौँ, चैत १ । नेपालका विभिन्न स्थानमा व्यावसायिक तथा घरपालुवा पन्छीहरूमा लो प्याथोजेनिक बर्ड फ्लु (एच–९) को संक्रमण बढ्दै गएको पाइएको छ। संक्रमणका कारण कुखुराहरू बिरामी पर्ने तथा मर्ने क्रम बढ्न थालेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभाग ले देशभरका किसान र सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका महानिर्देशक डा. उमेश दाहाल द्वारा जारी सार्वजनिक सूचनामा पछिल्लो समय देशका विभिन्न स्थानमा कुखुरा तथा अन्य पन्छीहरूमा संक्रमण फैलिएको जानकारी दिँदै रोग नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन भनिएको छ।
विभागका अनुसार लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच–९) कुखुरा लगायतका पन्छीमा देखिने संक्रामक रोग हो। यो रोग संक्रमित पन्छीसँगको प्रत्यक्ष सम्पर्क, संक्रमित पन्छीजन्य पदार्थको ओसारपसार, दाना तथा कुखुरा ढुवानी गर्ने सवारी साधन तथा स्वासप्रश्वासको माध्यमबाट समेत सजिलै सर्ने गर्दछ।
रोग नियन्त्रणका लागि विभागले किसानलाई फार्ममा जैविक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। फार्ममा अनावश्यक आगन्तुक तथा सवारी साधनको प्रवेशमा रोक लगाउनुपर्ने र अत्यावश्यक सवारीलाई पूर्ण रूपमा निःसंक्रमण गरेर मात्र भित्र पठाउनुपर्ने बताइएको छ।

त्यस्तै खोरभित्र र बाहिर नियमित सरसफाइ गर्न, हप्तामा कम्तीमा दुई पटक निःसंक्रमण औषधि छर्कन तथा खोरमा प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न विभागले सुझाव दिएको छ।
अण्डा राख्न प्रयोग गरिने कागजको क्रेट एकपटक प्रयोग भइसकेपछि पुनः प्रयोग नगर्न पनि सचेत गराइएको छ। रोग फैलिने जोखिम कम गर्न एउटै कामदारले विभिन्न फार्ममा आवतजावत नगर्न विभागले आग्रह गरेको छ।
यसैगरी रोग विरुद्ध गुणस्तरीय खोप प्रयोग गर्न र सम्भावित आर्थिक क्षति कम गर्न पन्छीको बीमा गर्न कृषकलाई सुझाव दिइएको छ। मरेका पन्छीहरूलाई सुरक्षित रूपमा गहिरो खाडलमा गाडेर विसर्जन गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।
फार्ममा अचानक धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।
