चार वर्षअघि ३४० ह्याचरी रहेकोमा अहिले घटेर १०९ मा झरेको छ

अवैध चल्ला रोक्न नाकाका प्रहरीलाई प्रोत्साहन रकम दिने गरेका छौं

पोल्ट्री क्षेत्रले सम्भावना देखाएसँगै ह्याचरी उद्योगमा उल्लेख्य लगानी भएको छ । आजभन्दा ४ वर्ष अगाडिसम्म नेपालमा ह्याचरी उद्योग ३४० को संख्यामा थिए । तर अहिले ह्याचरी उद्योगमा ठूलो गिरावट आएको छ । अहिले सञ्चालनमा रहेका उद्योगले पनि आफ्नो क्षमताअनुसार चल्ला उत्पादन गर्न पाएका छैनन् ।

नेपाल ह्याचरी संघका महासचिव नवराज पौडेल ह्याचरी उद्योगहरूले अहिले निकै प्रतिकूल परिस्थित सामना गरिरहेको बताउँछन् । प्रहरी प्रशासनलाई प्रोत्साहन रकम दिएर खुला सीमाबाट हुने तस्करी नियन्त्रणको प्रयास भए पनि त्यसले समेत समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।

ह्याचरी उद्योगको पछिल्लो अवस्था, यसले झेलेका समस्यालगायत विषयमा पौडेलसँग भेट टाइम्स मासिक प्रतिनिधिले गरेको संवादको सम्पादित अंशः

ह्याचरी उद्योग र यसको पछिल्लो अवस्था कस्तो छ ?

आजभन्दा ३÷४ वर्ष अगाडिसम्म नेपालमा ३४० ह्याचरी उद्योग दर्ता थिए । ०७३ सालमा म आफैंले ह्याचरी उद्योग दर्ता गर्दा २९२औं नम्बर थियो । दर्ता गरिएका यी सबै ह्याचरी सञ्चालनमा समेत थिए । तर अहिले यीमध्ये १०९ ह्याचरी मात्र छन् । यसमा पनि प्यारेन्ट फार्म भएकाको संख्या ९८ हाराहारी मात्र छ । अण्डा पार्ने प्यारेन्ट कुखुरा पालेर, त्यसको अण्डा मेसिनमा हालेर चल्ला निस्किएपछि बल्ल बजारमा लगिन्छ । लियर्स ह्याचरी पनि घटेका छन् । यस्ता ह्याचरीको संख्या पहिले १४ वटा रहेकोमा अहिले घटेर सात वटामा झरेको अवस्था छ ।

धेरै ह्याचरी उद्योग बन्द भएको र सञ्चालनमा रहेकामध्ये पनि ९८ वटासँग मात्र प्यारेन्ट रहेको बताउनुभयो । यस्तो अवस्था किन निम्तिएको होला ?

ह्याचरी उद्योगले अहिले सामना गरिरहेको समस्याका कारण मुख्यतया २÷३ वटा छन् । एउटाचाहिँ भारतसँगको हाम्रो खुला सीमा नै हो । भारतमा कुखुराको चल्ला उत्पादन लागत कम पर्ने भएकाले खुला सीमाको फाइदा उठाउँदै नेपालतर्फ पठाइने गरेको छ । उताबाट नेपालमा चल्ला भित्रिएपछि हप्तामा ३० देखि ४० प्रतिशतसम्म बजार ड्रप हुने गरेको छ । खुला सीमा भएकाले कसैले रोक्न सक्ने स्थिति छैन ।

अर्को कुरा, हामीलाई चाहिने ७० प्रतिशत कच्चा पदार्थ बाहिरबाटै आउँछन् । यसरी बाहिरबाट कच्चा पदार्थ ल्याउँदा लागत मूल्य बढ्न जान्छ । फेरि कुखुराको मासुको मूल्य पनि लामो समयदेखि एउटै बिन्दुमा छ । आजभन्दा १० वर्षअघि कुखुराको मासु प्रति किलोग्राम ३०० रूपैयाँ हुँदा खसीको मासु ४५०÷५०० रूपैयाँ थियो । अहिले खसीको मासु १ हजार ४०० रूपैयाँ पुगिसकेको छ तर कुखुराको मासु ३००÷३५० रूपैयाँमै पाइन्छ । कथंकदाचित मूल्य केही बढिहाल्यो भने पनि ४०० रूपैयाँसम्म पुग्छ । यो फ्याक्टरले पनि ह्याचरी उद्योगलाई प्रतिकूल असर गरेको छ । किनभने, ह्याचरी र कुखुरापालन एकअर्कासँग अन्तर सम्बन्धित छन् । कुखुराको मासुको मूल्य वृद्धि भयो भने न चल्लाको पनि बढाउन सकिन्छ, बजार पनि विस्तार हुन्छ ।

भारतमा सस्तोमा पाइने चल्ला तथा मासु नेपालमा भित्रिँदा समस्या भइरहेको सुनाउनुभयो । भारतले सस्तोमा उत्पादन गरिरहेको त्यही चिज नेपालमा किन महँगो भइरहेको छ ? हामीले किन भारतले जसरी सस्तोमा उत्पादन गर्न सकिरहेका छैनौं ?

यसका एक मात्र नभएर अनेक कारण छन् । एउटाचाहिँ कच्चा पदार्थको फ्याक्टर छ । भारततिरको कच्चा पदार्थ जहिले पनि नेपालको भन्दा २० प्रतिशतले सस्तो पर्छ । तर हामीले भारतबाट आयात गर्नुपर्ने, भन्सार, भ्याट तिर्नुपर्ने कारणहरूले महँगो पर्छ । भारतले बाहिरबाटै कच्चा पदार्थ ल्याए पनि ढुवानी सस्तो पर्ने भएकाले धेरै पर्न जाँदैन । भारतको बजार पनि ठूलो छ, प्रोडक्सन पनि ठूलै स्केलमा हुन्छ । जब ठूलो स्केलमा उत्पादन गरिन्छ, लागत कम पर्न जान्छ । फेरि भारतमा कृषिमा धेरै किसिमका अनुदानको व्यवस्था पनि गरिएको छ । त्यसैले कुखुराको चल्ला, अण्डा र मासु मात्र होइन हरेक कुरा भारतमा सस्तो पर्छ । जस्तो, भारतमा प्रति किलोग्राम ६० रूपैयाँ रहेको बासमती चामल नेपालमा आइपुग्दा झण्डै झण्डै १०० रूपैयाँ पर्छ । भ्याक्सिन, मेडिसिनले पनि भारत र नेपालको मूल्यमा असर गर्ने गरेको छ । भारतले आवश्यक औषधि आफैं उत्पादन गर्छ भने हामी अन्य मुलुकमा निर्भर हुनुपरेको छ । यी सबै कारणले गर्दा कुखुराको चल्ला र मासु भारतको तुलनामा नेपालमा महँगो हुने गरेको छ ।

नेपालको सीमित बजारलाई ख्याल नगरी, बिना अध्ययन, हचुवाका भरमा असीमित ह्याचरी उद्योग खुल्दा पनि समस्या भयो भनिन्छ नि ?

यो सत्य कुरा हो तर आजको होइन हिजोको हो । देखासिकीमा, हचुवाका भरमा ह्याचरी उद्योग सञ्चालन गर्ने करिब सबैजसो नै यो क्षेत्रबाट बाहिरसक्नुभएको अवस्था छ । अहिले सञ्चालनमा रहेका ह्याचरी उद्योगलाई नियाल्नुभयो भने यो विषयसँग सम्बन्धित, ३०÷४० वर्षदेखि ह्याचरी उद्योग चलाएकाहरू बढी हुनुहुन्छ । व्यवसायमा मन्दी आएपछि कतिपयले नयाँ विधिसमेत अवलम्बन गरिरहनुभएको अवस्था देख्न सकिन्छ ।

कस्तो नयाँ विधि ?

जसले इन्ट्रिगेसनमा गएर कुखुरा पाल्ने, दाना र चल्ला उत्पादन गर्ने, स्लटिङ गर्ने काम गर्नुहुन्छ, उहाँहरूलाई व्यवसाय गर्न सजिलो छ । त्यसैले,कतिपय व्यवसायी पोल्ट्रीको समग्र साइकलमै सहभागी हुने गर्नुभएको छ । यसो गर्दा बीचमा कसैलाई पनि फाइदा र कमिसन दिनुपर्ने बाध्यता हुँदैन र व्यवसाय पनि सस्टेन रहन्छ । कतिपय सानो स्केलमा पाल्नेहरू यो व्यवसायबाटै पलायन हुनुभएको छ । सानो स्केलमा कुखुरापालन गर्दा लागत बढी पर्ने भएकाले उहाँहरू पलायन हुनुभएको हो जस्तो मलाई लाग्छ ।

भारतसँगको खुला सीमाले व्यवसायीहरूलाई लामो समयदेखि पिरोल्दै आइरहेको छ । व्यवसायीले बारम्बार यो गुनासो गरिरहेका हुन्छन् । र पनि यो समस्या ज्युँकात्यूँ छ । किन होला ?

नेपाल सरकारले सीमा नाकाको जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । नाकामा प्रत्येक १०÷१० किलोमिटरमा बिओपी पनि खडा छन् । यसबारे उहाँहरूलाई अवगत गराउँदा स्रोत र साधन पर्याप्त नभएको बताउनुहुन्छ । उहाँहरूका अनुसार बिओपी स्थापना गरिए पनि जनशक्ति एकदमै कम परिचालन गरिएको छ । मुख्य नाका नियन्त्रणमा भए पनि कुनाकाप्चाका नाका नियन्त्रणमा लिन सहज नरहेको भनाइ उहाँहरूको रहने गर्छ । यसको सबैभन्दा ठूलो मारमा ह्याचरी उद्योग पर्दै आइरहेका छन् । भारतबाट चल्ला भित्रिँदा एक दिनमै बिक्री गर्नुपर्ने चल्लाहरू नबिक्ने समस्या सामना गर्नुपरेको स्थिति छ । त्यसैले नेपाल सरकार र भारत सरकारबीचको सहकार्यबिना सीमा नाकाबाट अहिले भइरहेको कुखुराजन्य वस्तुको तस्करी नियन्त्रण सम्भव होलाजस्तो मलाई लाग्दैन । भारतले चाहने हो भने अवैध हिसाबले कुनै पनि सामान नेपाल भित्रिन सक्दैन । उसले यसरी भित्रिने वस्तुको मात्रा शून्यमै झारिदिन सक्छ । यो कुरा बिहारलगायतमा निर्वाचन हुँदा भारतीय पक्षले गर्ने सीमा नाकाको कडाइले पनि पुष्टि गर्दै आइरहेको छ ।

ह्याचरी संघले व्यवसायीहरूले झेलिरहेका यावत् समस्या समाधानका लागि कसरी काम गरिरहेको छ ?

भारतबाट भित्रिने अवैध चल्ला ह्याचरी उद्योगको सबैभन्दा ठूलो चुनौती भएकाले त्यसलाई नियन्त्रण गर्न सरकारी निकायसँग सहकार्य गरेर संघले काम गरिरहेको छ । भारतसँग सीमा नाका जोडिएका, अवैध रूपमा चल्ला भित्रिरहेका र भित्रिने सम्भावना भएका स्थानमा पुगेर अवलोकन गर्ने, प्रहरी प्रशासनलाई जानकारी गराएर नियन्त्रणमा भूमिका खेलिदिन अनुरोध गर्ने काम निरन्तर चलिरहेको छ । पूर्ण नियन्त्रण नभए पनि प्रहरी प्रशासनलाई अवैध चल्ला नियन्त्रण गर्नुपर्छ भन्ने भावना जागृत गराउन यो प्रभावकारी देखिएको छ ।

सीमा नाकाबाट भइरहेको कुखुराको अवैध तस्करीलाई रोक्न हामीले प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं । जसमा प्रहरी प्रशासनले चल्ला र ठूला कुखुरा नियन्त्रणमा लिएको खण्डमा प्रोत्साहनस्वरूप रकम दिने गरिएको छ । दाना संघ र ह्याचरी संघले बनाएको फण्डबाट कुखुरा नियन्त्रणमा लिएको खण्डमा प्रति कुखुरा २५ रूपैयाँ र चल्ला नियन्त्रणमा लिएमा प्रति चल्ला ५ रूपैयाँ प्रहरी प्रशासनलाई उपलब्ध गराउने गरेका छौं ।

प्रहरीहरूले तपाईंहरूले प्रोत्साहनस्वरूप दिएको उक्त रकम सहजै लिइरहनुभएको छ ?

हो, उहाँहरूले यस्तो रकम औपचारिक रूपमै लिइरहनुभएको छ । बिओपीले नियन्त्रणमा लियो भने बिओपी, जिल्ला प्रशासनले समात्यो भने जिल्ला प्रशासनलाई हस्तान्तरण गर्ने गरिएको छ । खाजासाजा खानुस्, नाका हेरिदिनुहोस् भन्नका लागि मात्र हामीले यो रकम दिएका हौं ।

दाना, ह्याचरी, कुखुरापालक कृषक एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन् । पोल्ट्रीको अहिलेको समग्र स्थितिलाई यहाँले कसरी नियाल्नुभएको छ ?

पोल्ट्री व्यवसाय चुनौतीपूर्ण छ । यो चुनौतीको सामनाका लागि बीमा वरदान हुनसक्छ । तर अवस्था कस्तो छ भने ४ प्रतिशतले मात्र बीमा गरेका छन्, ९६ प्रतिशत बीमा बाहिरै छन् । बीमा शुल्क महँगो भएकाले बीमाप्रति आकर्षण नभएको हो जस्तो मलाई लाग्छ । बर्डफ्लूबाहेकका अन्य रोग आएर किसानले नोक्सानी व्यहोरे भने राहत नै नपाउने अवस्था अहिले छ । त्यसैले बीमाको पाटोलाई सरकारले सम्बोधन गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्य सामान्य भवनहरू, उद्योगहरूलाई पनि सरकारले व्यवस्था गरिदिनुपर्छ । यसो भयो भने व्यवसायी जोखिममुक्त हुने थिए ।

ह्याचरी उद्योगले चल्लाको मूल्य अस्वाभाविक रूपमा वृद्धि गर्दा व्यवसायमा टिक्न नसकिने अवस्था आयो भनेर किसानहरूले गुनासो गर्नुहुन्छ । यसबारे यहाँको भनाइ के छ ?

यसबारे हाम्रैबीचमा पनि बहस भइरहेको छ । चल्लाको मूल्यमा देशभर एकरूपता कायम गर्नुपर्नेमा मनपरी भयो भन्ने कुुरा चलेको छ । अहिले नेपालमा चल्ला उत्पादनको लागत मूल्य ७० रूपैया हाराहारी छ । यसलाई आधार मानेर न्यूनतम मार्जिन राखेर बिक्री गर्ने कुरा चलिरहेको छ । ७० रूपैयाँ, ७५ रूपैयाँमा बिक्री गर्ने भनेर एकरूपता कायम गर्दा पनि अप्ठ्यारो परिस्थिति आउने खतरा हुन्छ किनभने, सीमा नाकाबाट भित्रिएका चल्लाका कारण २०÷३० रूपैयाँमा बिक्री गरेको अवस्था पनि छ । त्यसकारण यी सबैलाई हेर्दा कहिलेकाहीँ चल्लाको मूल्य उच्च हुँदा पनि आत्तिनु पर्दैन । सँगसँगै एकदमै मनोपोली गरेर जे पायो त्यही गर्न मिल्दैन भनेर छलफल चलिरहेको छ । यसबारे सेमिनार गरेर निकास निकाल्ने योजनामा हामी छौं । किसान बाँचे, ह्याचरी बाँच्छ र ह्याचरी बाँचे व्यवसाय बाँच्छ । त्यसैले सबैका लागि विन–विन हुने हिसाबले काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ र त्यसैअनुरूप हामी अघि बढिरहेका छौं ।

भेट टाइम्स मासिकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *