‘दाना उद्योगले क्षमताअनुसार उत्पादन गर्न पाएका छैनन्’
आधुनिक तौरतरिकाले गरिने कुखुरापालनमा दानाको भूमिका करिब ७० प्रतिशत रहन्छ । नेपालमा व्यावसायिक कखुरापालन सुरु भएसँगै उल्लेख्य मात्रामा दाना उद्योग खुलेका छन् । परिणामतः कुखुराको दानामा समेत नेपाल आत्मनिर्भर भएको छ । यद्यपि, दानाका कच्चा पदार्थ भने ठूलो मात्रामा आयात गर्नुपर्ने बाध्यता छ । साँघुरो बजारमा ठूलो संख्यामा खुलेका दाना उद्योग यसै पनि समस्यामा थिए । त्यसमा पनि पोल्ट्रीको वृद्धिदरमा प्रगति नभएपछि करोडौं लगानी गरेका दाना उद्योग समस्यामा परेका छन् । नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाका अनुसार दैनिक १० हजार मेट्रिक टन दाना उत्पादन क्षमता भएका उद्योगले अहिले ३ हजार ५०० हाराहारीमा मात्र उत्पादन गर्न पाएका छन् ।
पोल्ट्रीमा पछिल्लो समय देखापरेको मन्दी, दाना उद्योगले अहिले सामना गरिरहेका चुनौतीलगायत विषयमा दाना संघका अध्यक्ष सापकोटासँग भेट टाइम्स प्रतिनिधिले टेलिफोनमार्फत संवाद गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश ः
नेपालमा करोडौं लगानीमा दर्जनौं दाना उद्योग स्थापना भएका छन् । यी दाना उद्योगहरूको पछिल्लो अवस्था कस्तो पाउनुभएको छ ?
नेपालमा सबै गरेर १२० दाना उद्योग सञ्चालित छन् । कुखुरालाई आवश्यक पर्ने शत प्रतिशत दाना अहिले यी उद्योगहरूबाट उत्पादन हुने गरेको छ । गाईवस्तुको दाना भने बाहिरबाट आयात भइरहेको तथ्यांक पाइन्छ । लागत मूल्य बढी हुँदा गाईवस्तुको दाना बाहिरबाट आयात गर्नुपर्ने अवस्था बनेको हो । बाहिरबाट आयात हुने कच्चा पदार्थको भन्सार दर सरकारले कम गरिदिने हो भने गाईवस्तुको दाना पनि नेपालमै उत्पादन गर्न सकिन्थ्यो । यसका लागि म नेतृत्वको दाना संघले पहल गरिरहेको तपाईंमार्फत जानकारी गराउन चाहन्छु ।
नेपालका दाना उद्योगले अहिले कुखुरालगायतलाई आवश्यक पर्ने दाना उत्पादन गरिरहेका छन् । यी उद्योगहरूको प्रतिदिन उत्पादन क्षमता १० हजार मेट्रिक टन रहेको छ । तर उत्पादन भने त्योभन्दा निकै कम करिब करिब ३ हजार ५०० मेट्रिक टन मात्र छ । बजारमा माग कम भएकाले उद्योगले क्षमताभन्दा कम दाना उत्पादन गरेका हुन् । उत्पादन क्षमताअनुसार सञ्चालन हुन नसके पनि दाना उद्योग बन्दै भएका भने छैनन् । कुनैले आफ्नो क्षमताको ३० प्रतिशत त कुनैले ९० प्रतिशतसम्म उत्पादन गरिरहेका छन् ।
दैनिक १० हजार मेट्रिक टन दाना उत्पादन क्षमता भएका उद्योगले क्षमताभन्दा निकै कम ३ हजार ५०० मेट्रिक टन मात्र उत्पादनमा सीमित हुनुको अर्थ के हो ? के हामी संकटउन्मुख हुँदै गइरहेका हौं ?
यसमा विविध कुराले काम गरेको हुन्छ । सबैलाई एउटै डालोमा हालेर हेर्न मिल्दैन । किनभने, कुनै उद्योगले क्षमताको १० प्रतिशत मात्र उत्पादन गरिरहँदा कुनैले ३० प्रतिशत त कुनैले ९० प्रतिशतसम्म उत्पादन गरिरहेका छन् ।
सन् २००० देखि नेपालमा पोल्ट्रीको उत्पादन वार्षिक ५ प्रतिशतले वृद्धि हुँदै आइरहेको थियो । सन् २०१९ मा विश्वव्याधि महामारी कोरोनाभाइरसको प्रकोप आएपछि नेपालको मासु उपभोगको प्याटरन नै परिवर्तन भयो । अझ युवाहरूको विदेश पलायनले त त्यो ५ प्रतिशतको वृद्धि कायम हुन सकेन । पछिल्लो ६ वर्षयता यसको वृद्धिदर सुस्त छ । लगानी वृद्धि हुने तर खपतचाहिँ वृद्धि नहुने कारण दाना उद्योगमा अहिलेको समस्या आएको हो ।
हाम्रो बजार निकै साँघुरो छ । तैपनि दाना उद्योगहरू यति धेरै खुलेका छन् । दाना उद्योग समस्यामा पर्नुको कारण बजार विश्लेषणबिनै लगानी खन्याउनु पनि हो भन्ने गरिन्छ नि ?
दक्षता बढ्दै गएपछि क्षमता विस्तार गर्ने क्रम त रहन्छ नै । अर्को नयाँ लगानीकर्ता पनि यसमा आकर्षित भइरहेको पाइन्छ । औषधि उद्योग, रक्सी उद्योगमा जस्तो योभन्दा बढी खोल्न पाइँदैन भन्ने ‘लिमिटेसन’ यसमा छैन । फेरि बजार हेरेर, तथ्यांक विश्लेषण गरेर लगानी गर्ने परम्परा पनि हाम्रोमा छैन । अरूको हेरेर, देखासिकीमा लगानी गर्ने चलन यहाँ छ । यी कारणले पनि नेपालमा दाना उद्योग बढेका हुनसक्छन् ।
कुखुरापालन गर्ने किसानहरूको ठूलो संख्या पेशाबाट पलायन भएका छन् । दाना उद्योग, ह्याचरी उद्योगको अवस्था पनि सुदृढ छैन । यसले नेपालको आत्मनिर्भरमध्येको एक क्षेत्र पोल्ट्रीका सबै हाँगाबिँगाहरू समस्यामा रहेको संकेत गर्छ ।
यी सबै परिदृश्यको विश्लेषण कसरी गर्नुहुन्छ ?
कुनै पनि लगानी आफ्नो अनुभव, ज्ञान, सीपको आधारमा गर्नुपर्छ भन्ने मान्यता म राख्छु । बिना तालिम, बिना अनुभव, बिना बजार अध्ययन कुखुरापालन गर्दा कतिपय अवस्थामा सफलता हासिल नहुन सक्छ । खासगरी बजार, उत्पादनलगायत विविध क्षेत्रमा काम गरेका, खारिएका व्यक्ति चाहिँ सफल हुँदै गएका छन् । जो मान्छे देखासिकी या अन्य विभिन्न कारणले कुखुरापालनमा आएका छन्, तीचाहिँ असफल भएर पलायन भएको अवस्था छ । समष्टीगतमा हेर्दा विश्वमै प्रोटिनजन्य वस्तुको खपत बर्सेनि वृद्धि हुने गरेको छ । नेपाल भने यसको खपतमा विश्वको दाँजोमा मात्र होइन, एसियाको दाँजोमा पनि पुग्न सकेको छैन । प्रोटिनको खपतमा नेपाललाई कम्तीमा पनि एसियन एभ्रेजमा मात्र पु¥याउँदा अहिलेको तुलनामा दुई गुणाभन्दा बढी वृद्धि हुन्छ । यसकारण नेपालमा पोल्ट्रीको सम्भावना अथाह छ । तर यही स्थिति रह्यो, युवा पलायन रोकिए भने यसमा सुधार आउँदैन ।
दानामा प्रयोग हुने कच्चा पदार्थ भटमास र पिनाले लागत मूल्य बढाएको पाइन्छ । यसको उत्पादन देशमै बढाएर लागत घटाउनेतर्फ नसोचिएको हो कि नसकिएको हो ?
दाना उद्योगलाई वार्षिक करिब ३ लाख मेट्रिक टन भटमासजन्य वस्तु आवश्यक पर्ने गरेको छ । तर नेपालमा १० हजार मेट्रिक टनदेखि २० हजार मेट्रिक टनसम्म मात्र यसको उत्पादन हुन्छ । यसरी हेर्दा हामीले करिब ९८ प्रतिशत भटमासजन्य वस्तु आयात गरेर दाना उत्पादन गर्नुपर्ने बाध्यता छ । नेपालमा भटमासको उत्पादन वृद्धि गर्न त सकिएला तर आत्मनिर्भर नै बन्न भने सम्भव छैन । किनभने, भारत नै अहिले भटमासमा आत्मनिर्भर छैन । भारत मात्र होइन, चीन पनि भटमासमा अन्य मुलुकसँग निर्भर छ । चीन त सबैभन्दा ठूलो भटमास आयातकर्ता नै हो । ठूला राष्ट्रले त्यत्रो लगानी गरेर हासिल गर्न नसकेका कुरामा हामी अहिले नै आत्मनिर्भरतातिर जान सक्दैनौं । तथापि, यसमा केही प्रयास भने गर्न सकिन्छ ।
नेपालका दाना उद्योगले अहिले झेलिरहेका मुख्य समस्या के–के हुन् ?
दानामा मुख्य कच्चा पदार्थका रूपमा भटमास र मकै प्रयोग हुन्छ । सहायक कच्चा पदार्थका रूपमा पिनालगायत सह–उत्पादन प्रयोग गरिन्छ । भिटामिन, मिनरल्स पनि प्रयोग हुन्छ । यसमध्ये मकैको मूल्यमा खासै वृद्धि नभए पनि भटमासको मूल्य अत्यधिक बढेका कारणले दानाको लागत मूल्य बढेको अवस्था छ । नेपालको दानाको गुणस्तर एकदम राम्रो छ । तुलनात्मक रूपमा भन्ने हो भने भारत, चीन, अमेरिकामा उत्पादन हुने गुणस्तरकै दाना अहिले नेपालमा उत्पादन भइरहेको छ । खासगरी दानाको मुख्य कच्चा पदार्थ भटमास, पिनाको मूल्य वृद्धि र अन्य भिटामिन र मिनरल्सको मूल्य वृद्धिले दानाको लागत मूल्य बढ्न गएको अवस्था छ । कच्चा पदार्थ आयातमा पनि समस्या हुने गरेको छ ।
यद्यपि, मुख्य समस्याचाहिँ कच्चा पदार्थको मूल्य वृद्धि नै हो ।
किसानहरूको गुनासो छ कि दाना उद्योगीले अस्वाभाविक रूपमा बारम्बार दानाको मूल्य वृद्धि गर्दा लागत मूल्य बढेर यो क्षेत्रमा टिक्न सकिएन । यसबारे यहाँको भनाइ के छ ?
यो कुरा म मान्दिनँ । कुखुराको उत्पादनमा मुख्य भूमिका दानाकै हुन्छ । मेरो विचारमा यसको भूमिका करिब ७० प्रतिशत जति नै हुन्छ । जस्तो, एउटा ब्रोइलर कुखुरालाई ५ किलोग्राम दाना खुवाइयो भने तीन किलोग्राम तौल आउँछ । दानाको मूल्यमा उतारचढाव आएको स्थितिमा १–२ रूपैयाँ तलमाथि हुन्छ । तर कुखुराको मासुको मूल्य कहिले २०० रूपैयाँ हुन्छ भने कहिले ३५० रूपैयाँ पनि पुग्छ । तर दानाको कारणले धेरैमा प्रतिकिलो २ रूपैयाँ मात्र लागत बढ्छ । त्यसैले यी सबैको कारण दाना होइन, बजार हो । मैले माथि नै भनेँ नि दाना उद्योगले अहिले आफ्नो क्षमताअनुसार उत्पादन गर्नै पाएका छैनन् । दाना उद्योग धेरै भएकाले उनीहरूबीच तीव्र प्रतिस्पर्धा छ । सबैले मार्केट विस्तार गर्न चाहिरहेका छन् । न्यूनतम मार्जिन राखेर भने पनि उनीहरूले आफ्नो उत्पादन बिक्री गर्न चाहन्छन् । पूर्ण प्रतिस्पर्धाको यस्तो बजारमा कार्टेलिङ गर्ने, मूल्य नियन्त्रण गर्ने सम्भावना रहँदैन । आफ्नो लागत हेरेर, आफ्नो अनुकूलतामा, विभिन्न स्किम चलाएर उद्योगले उपभोक्ता लाभान्वित हुने गरी बिक्री प्रवद्र्धन गर्छन् । त्यसैले दानाको कारणले किसानलाई मर्का परेको अवस्था छैन । यसमा दानाले भन्दा अन्य फ्याक्टरले असर परेको हुनसक्छ । जस्तो, कहिलेकाहीँ चल्लाको मूल्य प्रतिगोटा ४० रूपैयाँ हुन्छ भने कहिलेकाहीँ ८० रूपैयाँ हुन्छ । दानाको मूल्यचाहिँ यसरी कहिल्यै पनि तलमाथि हुँदैन ।
भेट टाइम्स मासिकबाट

