कुखुरापालन गर्ने मजस्ता धेरै किसान यसबाट पलायन भएका छन्
नेपालको कुखुरापालनको अहिलेको अवस्था कस्तो छ ?
भक्तपुरको नगरकोटमा विगत १५ वर्षदेखि कुखुरापालन गर्दै आइरहेको छु । अहिले पनि मेरो खोरमा ६ हजार कुखुरा छन् । तर कुखुरापालनको अहिलेको अवस्था त्यति सन्तोषजनक छैन । चल्लाको भाउ महँगो हुन्छ तर मासुको मूल्य घटने र बढ्ने भइरहन्छ । चल्ला पनि कहिले राम्रो पर्छ, कहिले पर्दैन । बिक्री गर्ने बेला कोल्ड स्टोरहरूले त्यसै बिक्री गरिदिँदैनन्, प्रति किलोग्राममा १५ रूपैयाँसम्मका दरले कमिसन दिनुपर्छ ।
पहिलेको तुलनामा कुखुरापालन गर्ने किसानको संख्या पनि घटेको हो ?
कुखुरापालनमा रहेका धेरै किसान यसबाट पलायन भएका छन् । बरु फिडवाला आफैं अहिले कुखुरापालनमा लागेका छन् ।
किसानहरू किन कुखुरापालनबाट पलायन भएका होलान् ?
कुखुराको लागत मूल्य निकै बढी छ । पहिलो त हामीले चल्ला नै महँगोमा खरिद गरेर पाल्नु पर्छ । खोरमा हालेको सबै चल्ला बाँच्दा पनि बाँच्दैनन् । कतिपय बीचमै मर्छन् । दाना पनि महँगो छ । कुखुरापालनमा अग्रसर भएका फिडवालाले चल्ला, दाना सबै आफैं उत्पादन गर्छन् । जसको मारमा किसानहरू छन् किनभने, कम लागतमा कुखुरा उत्पादन गरेका उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था अहिले छैन । बजारमा उनीहरूको करिब एकाधिकार जस्तै छ । हाम्रो कुखुरा बिक्री गर्ने बेला मितलेमतो र चलखेलमा बजारमा भाउ पनि घटाइन्छ ।
किसानलाई मर्का पर्नेगरी त्यस्तो चलखेलचाहिँ कसले गर्ने रहेछ ?
बजार प्रभावित पार्ने काम त व्यापारीले नै गर्छन् । खुला सीमाको फाइदा उठाउँदै भइरहेको तस्करीले पनि कुखुराको मासुको मूल्यमा नकारात्मक असर गरिरहेको छ । उताबाट सस्तोमा कुखुरा भित्रिने भएकाले हामीले पनि सस्तोमा बिक्री गर्नुपर्ने अवस्था छ ।

आफूले झेलेका यस्ता समस्याबारे राज्यका निकायको ध्यानाकर्षण गराउनुभएको छैन त ?
यसबारे हामीले बेलाबेला राज्यका निकायलाई झक्झक्याउने काम गर्दै आइरहेका छौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू उपप्रधान तथा गृहमन्त्री हुँदा हामीले यसबारे अवगत गराएका थियौं । उहाँले हाम्रै अगाडिबाट सम्बन्धित निकायलाई निर्देशन दिएपछि यो समस्या हटेको थियो । रवि लामिछानेज्यूले लिएको त्यो पहलकदमीलाई हामीले सम्झिरहेका छौं किनभने उहाँको तदारुकताले कुखुरापालक कृषकलाई धेरै राम्रो भएको थियो । तर जब उहाँ सरकारबाट बाहिरिनुभयो, उही पुरानै समस्या पुनरावृत्त भयो ।
कृषि तथा पशुपन्छी क्षेत्रको लागि राज्यका विभिन्न निकायहरू छन् । ती निकायबाट किसानले कत्तिको साथ सहयोग पाइरहेका छन् ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा त भन्नु मात्र हो, समाधान केही आउँदैन ।

कुखुरापालक किसानको सरकार र राज्यसँग अपेक्षा के छ ?
खुला सिमानाबाट अवैध रूपमा कुखुराको मासु भित्रिँदा हामीले उनीहरूसँग प्रतिस्पर्धा गर्न सकेका छैनौं । भारतबाट सस्तोमा भित्रिने कुखुराको मासुका कारण हामी लागत मूल्यभन्दा कममा मासु बिक्री गर्न बाध्य छौं । खुला नाकाको फाइदा उठाउँदै भइरहेको कुखुराको तस्करी नियन्त्रणमा राज्यले पहलकदमी लिइदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ ।
फिडवालाहरूले बजार विश्लेषण नगरी आफ्नो फाइदाका लागि किसानलाई चल्ला बाँडिदिने गरेका छन् । कुखुराको मासु मागभन्दा बढी उत्पादन हुँदा सस्तोमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले उहाँहरूले किसानको मर्का बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।
