नेपालमा यस वर्ष खोरेतको अलि बढी जोखिम देखिन्छ
नेपालमा पशुवस्तुहरू विभिन्न रोगहरूको चपेटामा पर्दै आइरहेका छन् । कतिपय रोगहरूले त महामारीकै रूप लिने गरेका छन् । पशुजन्य रोगहरूले महामारीको आकार लिँदा त्यसको सबैभन्दा ठूलो मारमा किसान वर्ग पर्ने गरेका छन् । केही समयअघि मात्रै लम्पीस्किन, अफ्रिकन स्वाइन फिभरबाट किसानले ठूलो नोक्सानी व्यहोरेका थिए । अहिले फेरि खोरेत रोगको संत्रास फैलिएको छ ।
पशुजन्य रोगका कारण किसानले क्षति व्यहोरिरहेका बेला हामीले पशुपन्छीको रोगबारे खोज अनुसन्धान गर्ने सरकारी निकाय केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका कार्यालय प्रमुख डा. वरुण कुमार शर्मासँग नेपालमा देखिने पशुपन्छीजन्य रोग, यसको जोखिमलगायत विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
नेपालका पशुपन्छीमा हाल कस्ता–कस्ता रोगहरू देखिरहेका छन् ?
हालको अवस्थालाई हेर्ने हो भने ‘अफ्रिकन स्वाइन फिभर’ धेरैतिर देखिएको छ । यसबाहेक, भेडामा ‘इन्टेरोटोक्सिमिया’ र गाईभैँसी जस्ता ठूला पशुहरूमा खोरेतका केशहरू देखिन थालेका छन् । ‘लम्पी स्किन’को प्रकोप पहिलेको तुलनामा अलि घटेको छ भने रेबिजका केशहरू पनि फाट्टफुट्ट देखिइरहेका छन् ।
नेपालका किसानले सबैभन्दा क्षति कुन रोगबाट बेहोरिरहेका छन् ?
यसको यकिन तथ्यांकका लागि त पशु सेवा विभागसँगै सोध्नुपर्ला । केही वर्षदेखिको अवस्थालाई नियाल्ने हो भने नेपालमा सबैभन्दा बढी क्षति लम्पीस्किनबाट भएको छ । अफ्रिकन स्वाइन फिभरबाट पनि किसानले उत्तिकै नोक्सानी व्यहोरेका छन् । बंगुरका लागि त अफ्रिकन स्वाइन फिभर विनाशकारी नै रह्यो । अफ्रिकन स्वाइन फिभरका कारण कतिपय किसानको त खोर नै रित्तिएका छन् ।
खोरेत रोगले फेरि महामारीको रूप लिन लागेको चिन्ता व्यक्त हुन थालेको छ । यो रोगको पछिल्लो अवस्था कस्तो पाउनुभएको छ ?
विगत २०–३० वर्षको तथ्यांक विश्लेषण गर्दा खोरेत रोग हरेक २ देखि ३ वर्षको अन्तरालमा बढ्ने गरेको पाइन्छ । नेपालमा गएको दुई वर्षमा त्यति धेरै केश नदेखिएको हुनाले यस वर्ष खोरेतको जोखिम अलि बढी हुन सक्ने देखिन्छ । यद्यपि, पछिल्लो समय खोप (भ्याक्सिनेसन) को पहुँच बढेकाले विगतको जस्तो भयावह अवस्था नआउला भन्ने हाम्रो अनुमान छ ।
खोरेत रोग लामो समयदेखि टाउको दुखाइका रूपमा छ । यसले पशुपालक कृषकलाई ठूलो नोक्सानीमा पारेको त छ नै अन्तर्राष्ट्रिय बजारमा पशुजन्य वस्तु निर्यात गर्न पनि समस्या भइरहेको छ । लामो समयसम्म यो रोग निदान हुन नसक्नुको कारण के हो ?
यो एक उच्च संक्रामक (ऋयलतबनष्यगक) रोग हो । यसको मुख्य चुनौती भनेकै प्रतिरोधात्मक क्षमता (क्ष्mmगलष्तथ) को अवधि छोटो हुनु हो । खोप लगाए पनि वा रोग लागेर निको भए पनि यसको इम्युनिटी ६ महिनादेखि एक वर्ष मात्र रहन्छ । त्यसैले, यो रोग समय–समयमा दोहोरिरहने गर्दछ ।
लामो समयदेखि बारम्बार यो रोग देखापर्दा हाम्रो प्रयास नै पर्याप्त भएन कि भन्ने कोणबाट पनि प्रश्नहरू उठ्ने गर्छन् । यसबारे यहाँको भनाइ के छ ?
नेपालको सन्दर्भमा यो रोग नियन्त्रण गर्ने सबैभन्दा राम्रो विधि खोप नै हो । पहिले भ्याक्सिनेसन अलि कम, थोरै स्केलमा थियो । अहिले यो बढेको छ । मास स्केलमा भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरिएको हुनाले पहिलेको भन्दा यसको प्रकोप घटेको छ । तर पनि ट्रेडसँग जोडिएको रोग भएकाले अध्ययन, अनुसन्धान गर्न जरुरी छ ।
रोगको निदान र फैलावट नियन्त्रणका लागि प्रयोगशालाले कस्तो कार्ययोजना बनाएर काम गरिरहेको छ ?
पशुवस्तुमा लाग्ने रोगहरू धेरै छन् । तीमध्ये कुनै रोग नेपालमा देखिएका छैनन् । हाम्रो क्षेत्रमा त्यसमध्येका कतिपय नयाँ रोग आउन सक्छन् । त्यस्ता रोग भित्रिएको खण्डमा कसरी सामना गर्ने भन्ने जस्ता कुरामा काम गर्नुपर्छ । मुख्यतः हामीले नेपालका पशुवस्तुमा देखिने रोगहरूको निदान क्षमता बढाउनु पर्छ । एड्भान्स लेबलको डायग्नोसिस सेवाका लागि केन्द्रमै आउनुपर्ने बाध्यतालाई हटाएर तलबाटै ती सेवा दिनेगरी हामीले काम गरिरहेका छौं । त्यहीँअनुसार विकास पनि हुँदै गइरहेको छ । पहिले जे भए पनि माथि नै पठाइन्थ्यो भने अहिले ती काम विस्तारै तल हुन थालेको छ । सकारात्मक कुरा के भने यसले माथिको कार्यबोझ घटाएको छ । कार्यबोझ घट्दा अन्य एड्भान्स लेभलको काम गर्न बाटो खुलेको छ ।
पशुवस्तुको रोगहरूको निदानमा एक्लै अघि बढ्न सकिँदैन । छिमेक र विश्वका अन्य मुलुकमा के भइरहेको छ भनेर पनि हेर्नुपर्छ । त्यहाँको जस्तो सुविधा हाम्रोमा पनि विस्तारै बढाउँदै लैजानु पर्नेछ । त्यसका लागि ठूलो लगानी गर्न सक्ने आर्थिक अवस्था नेपालको छैन । हाम्रो लागि कुन उपयुक्त हुन्छ, त्यहीअनुसार निर्णय गरेर प्रयोगशाला अघि बढिरहेको अवस्था छ ।
रोगहरूको खोज, अनुसन्धान र अन्वेषण गर्ने काम विश्वमै छ । यसमा विश्वका अरू मुलुकसँग हामीलाई तुलना गर्दा हामी कहाँनिर भेटिन्छौं ?
ठ्याक्कै यहीँनिर छौं भनेर यो कुराको मूल्यांकन गर्न अलि गाह्रै छ । एउटा पिटी (प्रोक्सिमिटी टेस्टिङ) भन्ने हुन्छ । यो प्रयोगशाला परीक्षण ठीक छ कि छैन भनेर क्रस चेकका लागि अपनाइने विधि हो । विश्व पशु स्वास्थ्य संगठनले थाहा नभएको कुनै नमुना हाम्रो प्रयोगशालामा पिटी टेस्टका लागि पठाउँछन् । सबै रोगहरूको त्यस्ता नमुना परीक्षण गर्दा ८० देखि ९० प्रतिशत हाराहारीमा मिलेको छ । यो भनेको संसारका राम्रा प्रयोगशालाको स्तर हो । पिसिआर गर्दा हामी सि टी भ्यालु भन्छौं । मानौं, उसले पठाएको सि टी १९ छ भने हाम्रोमा १९ नआउँला, २० आउला अथवा १८ आउला तर हाम्रोले भाइरस डिटेक्ट गरेको छ । किसानलाई त सि टी भ्यालु भन्दा पनि रोग पहिचान हुनुपर्छ । यो काममा कुनै द्विविधा छैन ।
स्रोत, साधन र पूर्वाधारमा प्रयोगशालाको अवस्था के छ ?
हाम्रोमा हाइली एड्भान्स टेस्ट जस्तै सिक्वेन्सिङ्ग सुविधा छैन तर रोग पहिचान गर्ने प्रविधि आधुुनिकस्तरका नै छन् । क्लालिटेटिभमा हामी पक्का भए पनि क्वान्टिटेटिभका हिसाबले गर्न हामीले अझै लगानी गर्नुपर्नेछ । पिटीका हिसाबले हामी संसारका अरू ल्याबभन्दा कम छैनौं । देशबाहिरका फोरमहरूमा गएर कुरा गर्दा पनि यसमा नेपाल कम छैन भन्ने कुरा हुन्छ । स्रोत, साधन र पूर्वाधारमा लगानी गर्ने हो भने यसलाई हामीले अझै अब्बल बनाउन सक्छौं ।

