विदेश नजुर्दा फापेको व्यवसाय
तीन वर्षअघि मात्रै उनले दाना उद्योग सुनगाभा फिड सञ्चालनमा ल्याएका थिए । इटहरी–१३ स्थित खनारमा रहेको दाना उद्योगबाट अहिले ब्रोइलर, लियर्स, सुँगुर, गाईबस्तु, , गिरिराजलगायत पशुपन्छीका सबैजसो दाना उत्पादन भइरहेको छ । कोशी, मधेस र बागमती प्रदेशका बजारलाई लक्ष्य गर्दै सञ्चालनमा ल्याइएको उद्योगका दानाले अहिले बजार र प्रतिक्रिया दुवै राम्रो पाइरहेको न्यौपाने बताउँछन् । गुणस्तरमा ध्यान दिएर दाना उत्पादन गरेकाले किसानहरूको रोजाइमा आफ्नो उद्योगको दाना परेको उनी बताउँछन् । किसानले आफ्नो उद्योगको दाना रुचाएकाले मासिक १६ सय टनदेखि १७ सय टनसम्म दाना उत्पादन भइरहेको न्यौपानेको भनाइ छ ।

‘सुनगाभाले अप, डाउन केही नगरी, किसानसँग जोडिएर, उनीहरूसँगको परामर्शमा एकनाशको दाना उत्पादन गर्छ । गुणस्तरमा पनि सम्झौता गर्दैन,’ किसानले किन सुनगाभाकै दाना प्रयोग गर्ने भन्ने भेट टाइम्स मासिकको प्रश्न भुइँमा खस्न नपाउँदै न्यौपानेले त्यसको कारण खुलाए । आफ्नो उद्योगको दानासँग उपभोक्ता सन्तुष्ट भएकोमा खुशी देखिएका न्यौपानेले आगामी दिनमा दाना उद्योगलाई थप विस्तार गर्दै किसानमैत्री बनाउने सोच बुनेका छन् ।
दाना उद्योगका उद्योगका अलावा न्यौपानेको टिमले सप्तकोशी ह्याचरी उद्योग पनि सञ्चालन गरिरहेको छ । इटहरीमा रहेको यो ह्याचरी उद्योगबाट कब ५०० जातका चल्ला उत्पादन भइरहेको छ । किसानलाई लक्ष्य गरेर सातामा २५ हजारदेखि ४० हजारसम्म चल्ला उत्पादन गरिरहेको न्यौपानेले बताए ।
दाना उद्योग र ह्याचरी उद्योग सञ्चालनमा ल्याएका न्यौपानेले कुखुरापालन भने सुरुदेखि नै गर्दै आइरहेका छन् । पोल्ट्रीमा उनको पहिलो पाइला कुखुरापालन नै थियो । यो क्षेत्रमा उनको प्रवेश नै ब्रोइलर कुखुरापालनबाट भएको थियो । त्यसलाई निरन्तरता दिँदै उनले अहिले आफ्नो फार्ममा ४० हजार लियर्स कुखुरा पालिरहेका छन् । अण्डा दिने लियर्स जातको कुखुरापालनबाट सन्तुष्ट न्यौपाने आगामी दिनमा यसलाई बढाउने योजनामा छन् । ‘लियर्स कुखुराबाट राम्रो आम्दानी भइरहेकाले आगामी दिनमा यसलाई बढाउने विचार छ,’ आफ्नो भावी योजनाबारे सुनाउँदै उनले भने ।
विदेश नजुर्दा जमेको व्यवसाय
पोल्ट्री क्षेत्रमा मनोजले गरेको लगानी यतिबेला हजार, लाख हुँदै करोडौंको भइसकेको छ । पोल्ट्रीमा हासिल यो सफलतामा भने एउटा संयोग र बाध्यताले उनलाई नजानिँदो ढंगले डोहो¥याएको देखिन्छ । सायद भाग्यवादीले यसलाई ‘कर्मको खेल’ पनि भन्न सक्छन् । मनोजले यसलाई के भन्दा हुन् ? सायद अर्को बसाइँका लागि एउटा रोचक अनि गम्भीर सवाल हुनसक्छ ।
मनोजका अनुसार, आजभन्दा २० वर्षअघि वैदेशिक रोजगारीमा जाने योजना बुनेर उनले घर छाडेका थिए । यही निम्छरो सपना पूरा गर्न उनले काठमाडौंलाई अढाइ वर्ष मुकाम बनाए । संयुक्त अरब इमिरेट्स (दुबई) का लागि भिसा पनि आयो । ‘दुबईको भिसा आएपछि म उत्साहित थिएँ । तर निमोनियाको दाग देखाएकाले विदेश जान मिलेन,’ मनोजले त्यो क्षण सम्झिए । विदेश जाने योजनामा शारीरिक समस्या बाधक बनेपछि बल्ल आफ्नो यात्रा पोल्ट्रीतर्फ मोडिएको उनी बताउँछन् । ‘विदेश जान नमिल्ने भएपछि रिक्ततामा पुगे । के गर्ने भन्ने अन्योल भयो । तर त्यसै बस्ने सुविधा थिएन,’ पोल्ट्री क्षेत्रमा लगानी गर्नुअघिको समयतिर फर्कंदै मनोज नोस्टाल्जिक भए, ‘त्यसपछि अब त केही न केही गर्नुपर्छ भन्ने सोचेर इटहरीमा एकसाथ खाद्यान्न र पोल्ट्री फार्म सँगै सञ्चालन गरेँ ।’
मनोजले व्यवसाय सञ्चालनमा निकै असहजता झेले । अनुभवविहीन थिए, रोगले कुखुरा सखाप हुन्थे । बल्ल तल्ल हुर्काएर मासुका लागि तयार बनायो, बिचौलियाले भाउ नै दिँदैनथे । हिजोको यो समस्या आज पनि छ । कैयन् किसान बिचौलियाकै कारण व्यवसायमा टिक्न नसकेको गुनासो बोकेर लुखुर लुखुर घिसिपिटे कुखुरापालन गरिरहेका छन् । तर मनोजले बिचौलियाको मेख मार्न जुक्ति निकाले, आफूले उत्पादन गरेका कुखुराको बजारीकरण पनि आफैं गर्ने । ‘बिचौलिया हाबीका कारण कुखुरा बिक्री गर्दा निकै ठूलो समस्या भयो । आफूले उत्पादन गरेका उत्पादन आफैंले बजारीकरण गर्नुपर्यो भनेर फ्रेस हाउस खोलेँ । दानाको डिलर पनि खोलेँ,’ बिचौलियाका कारण परेको अप्ठ्यारोमा आफूले निकालेको समाधानको बाटो स्मरण गर्दै मनोजले भने । व्यवसाय अगाडि खडा हुने तगाराले मनोजलाई सोचमग्न बनाउँथ्यो । उनी हरेक समस्याको समाधानमा थप व्यवसायको योजना कोरल्थे । तीन वर्षअघि मनोजले सञ्चालनमा ल्याएको सुनगाभा दाना फिडलाई चलन चल्तीमा प्रयोग हुने कथाको माग भन्न सकिन्छ । खैर, मनोज यसलाई आवश्यकताको सिद्धान्त भन्न रुचाउँछन् । ‘मैले पोल्ट्रीका विभिन्न क्षेत्रमा अहिले लगानी गरिरहेको छु,’ मनोज अगाडि थप्छन्, ‘ती सबैजसो व्यवसाय आवश्यकताको सिद्धान्तअनुसार नै भएका छन् ।’
२०० लाई अहिले दि“दैछन् जागिर
मनोजको सोच व्यवसाय होइन, जागिर खाने थियो । आफ्नो थातथलो इटहरीमै कुनै नोकरी मिलेको भए उनी त्यहाँबाट विरानो शहर काठमाडौं उक्लने नै थिएनन् ।
काठमाडौंलाई अढाइ वर्ष मुकाम बनाएर भौतारिनुको मक्सद उही एकथान रोजगारी थियो । तर त्यसका लागि सात समुन्द्रपारिको विदेशी कम्पनीले पत्याए पनि उनकै शरीरले उनलाई साथ दिएन ।
दुई दशकअघि रोजगारीका लागि भौतारिएको किशोरका उद्योगबाट अहिले २०० जनालाई प्रत्यक्ष रोजगारी मिलिरहेको छ । मनोज र उनको टिमले सञ्चालनमा ल्याएका फार्म, ह्याचरी र दाना उद्योगमा २०० ले प्रत्यक्ष रोजगारी पाएका हुन् । यसले आफूलाई निकै नै सुखानुभूति मिल्ने मनोज सुनाउँछन् । ‘दाना उद्योगमा १०० जना र फार्म तथा ह्याचरीमा थप १०० जना गरी कुल २०० जनाले प्रत्यक्ष रोजगारी पाइरहनु भएको छ,’ मनोज भन्छन्, ‘कुनै समय रोजगारीका लागि भौतारिएको
मान्छेले यतिका जनालाई अहिले रोजीरोटीको प्रबन्ध गर्न सक्दा निकै खुसी लाग्छ ।’
मनोजले पोल्ट्री क्षेत्रमै अझै केही काम गर्ने योजना साँचेर राखेका छन् । हाल लियर्स कुखुरा फार्म सञ्चालन गरिरहेका मनोज सुरुवाती दिनमा जस्तो फेरि ठूलो भोल्युममा ब्रोइलर कुखुरा पालन गर्न चाहन्छन् । यसरी पालिएका ब्रोइलर कुखुरा आफ्नै कोल्ड स्टोर सञ्चालन गरेर उपभोक्तासमक्ष पु¥याउने उनको इच्छा छ । पोल्ट्री व्यवसायबाट मनोज सन्तुष्ट छन् । बैंकको ब्याजमा आएको गिरावटले राहत मिले पनि अनुदानलगायतमा राज्यले जति गर्नु पर्ने हो, त्यति गर्न नसकेको उनको बुझाइ छ ।

