पोल्ट्री क्षेत्रको दिगो विकासका लागि सरकारी–निजी सहकार्य आवश्यक
भरतपुर । पोल्ट्री क्षेत्रको दिगो विकास, रोग नियन्त्रण तथा बजार व्यवस्थापनका लागि सरकारी र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य अपरिहार्य रहेको निष्कर्षसहित “पोल्ट्री क्षेत्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रको भूमिका” विषयक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिको आयोजनामा २०८२ माघ १४ गते भरतपुरमा सम्पन्न कार्यक्रममा पोल्ट्री व्यवसायको वर्तमान अवस्था, देखिएका समस्या, चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रम नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका संयोजक ज्ञानबहादुर बिसुरालको सभापतित्व तथा संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। विशिष्ट अतिथिका रूपमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने तथा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट सहभागी थिए।

कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल, चितवन–नवलपुर दाना वितरक संघका अध्यक्ष बिरबहादुर गुरुङ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका नरेश बोहारा, नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका कोषाध्यक्ष परशुराम अधिकारी तथा सदस्य कपिलबाबु खनाल र हरिकृष्ण खनाललगायतको उपस्थिति रहेको थियो।
सभापति बिसुरालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य पोल्ट्री क्षेत्रको समग्र विकासमा सरकारी र निजी क्षेत्रबीच सहकार्यलाई सुदृढ बनाउनु रहेको स्पष्ट पारे। गोष्ठी स्वरूपमा आयोजित कार्यक्रममा निजी क्षेत्रतर्फबाट नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराई र सरकारी क्षेत्रतर्फबाट पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्रमा पोल्ट्री व्यवसायको वर्तमान अवस्था, नीति–नियम, रोग व्यवस्थापन, बजार र मूल्य निर्धारणलगायतका विषय समेटिएका थिए।
कार्यपत्रमाथिको गम्भीर छलफलपछि कार्यक्रममा केही महत्वपूर्ण निष्कर्ष निकालिएका छन्। जसअनुसार पोल्ट्री क्षेत्रको विकासका लागि सरकारी र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य कायम गर्ने, पोल्ट्री व्यवसायसम्बन्धी तथ्यांक अद्यावधिक गर्न संयुक्त पहल गर्ने तथा प्यारेण्ट आयातका क्रममा पशु सेवा कार्यालयमा सिफारिस लिँदा नेपाल ह्याचरी उद्योग संघको सिफारिस अनिवार्य गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ।
यसैगरी, पोल्ट्री व्यवसाय अत्यन्त संवेदनशील भएको भन्दै पशुपंक्षी स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा रोग नलुकाई राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला, पशु सेवा कार्यालय, भेटेरिनरी शिक्षण अस्पताल रामपुर तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गर्ने निष्कर्ष निकालिएको छ। पोल्ट्रीजन्य वस्तुको मूल्य निर्धारणका लागि सरकारी–निजी संयुक्त कार्यदल गठन गर्ने, आमजनमानसमा नकारात्मक असर पार्ने भ्रामक समाचारको सरकारी निकायबाट खण्डन गर्ने तथा रोगको स्ट्रेनअनुसार उपयुक्त भ्याक्सिन उपलब्ध गराउने विषयमा सरकारी निकायले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले समग्र पोल्ट्री व्यवसायको अवस्था र संघ–संस्थाले गरेको पहलका बारेमा जानकारी गराए। राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले सरकारले तर्जुमा गरेका योजनाहरू, प्रयोगशालाबाट प्रदान हुँदै आएका सेवाहरूको विवरण प्रस्तुत गर्दै निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
पोल्ट्री व्यवसाय अत्यन्त संवेदनशील प्रकृतिको भएकाले देखिने रोगको स्ट्रेनअनुसार प्रभावकारी भ्याक्सिनको उपलब्धता र प्रयोग सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायले आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय लिने निष्कर्ष निकालिएको छ।

प्रमुख अतिथि नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले ह्याचरी उद्योगको वर्तमान अवस्था, चुनौती र सरकारी निकायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। कार्यक्रमको सञ्चालन नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी सचिव शिवप्रसाद बरालले गरेका थिए।
कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका पदाधिकारी तथा सदस्यहरू, नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका सदस्यहरू तथा पशु सेवा कार्यालय चितवनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
