किसान ‘आइडल’तर्फ: ‘दूध’ ले बदल्यो पशुपालनको कथा

काठमाडौं । खेत, गोठ र पसिनासँग जोडिएको पशुपालन पेसालाई टेलिभिजनको मुख्य मञ्चमा उभ्याउँदै नेपालमै पहिलो पटक आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ ले किसानको जीवन, संघर्ष र सम्मानलाई नयाँ उचाइमा पुर्‍याएको छ। सो कार्यक्रमका विजेता ताराप्रसाद पाठक बनेका छन्।

हरेक मंगलबार साँझ एपी वान टेलिभिजन, ‘मेरो सेरोफेरो’ युट्युब च्यानल तथा सिनर्जी एफएम चितवनबाट प्रसारण हुँदै आएको ‘दूध’ शोमा भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालक किसानबीच प्रतिस्पर्धा गराइएको थियो। दूध विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्दै आएका २० जना किसानलाई छनोट गरी प्रतियोगितामा सहभागी गराइएको थियो।

प्रतियोगितामा वासुदेव पौडेल दोस्रो, मथुरा महतो तेस्रो तथा धनमाया भण्डारी सान्त्वना स्थानमा रहे। तर यो शो केवल अंक र स्थानको प्रतिस्पर्धा मात्र रहेन, यसले किसानका जीवनका मोड, संघर्ष र परिवर्तनका कथा पनि उजागर गर्‍यो।

विजेता पाठकले विभिन्न पेसा त्यागेर पशुपालन रोजेको पृष्ठभूमि बोकेका छन्। अमेरिका जाने क्रममा ठगीमा परेपछि उनले आफ्नै माटो र गोठमै भविष्य खोज्ने निर्णय गरेका थिए। तेस्रो भएका मथुरा महतोले कुलत त्यागेर पशुपालनमा लागेर जीवनलाई नयाँ दिशा दिएको कथा दर्शकका लागि प्रेरणादायी बन्यो। सान्त्वना प्राप्त भण्डारीको परिवार पुस्तौंदेखि पशुपालनमै निर्भर रहँदै आएको छ।

गाईका कल्चौँडोसँग अभ्यस्त किसानलाई बजारसम्म पुग्ने दूधका ‘ब्रान्ड एम्बेसडर’का रूपमा स्थापित गर्नु, पशुपालन पेसालाई मर्यादित र सम्मानित बनाउनु नै शोको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका निर्माता रविन सुवेदीका अनुसार किसानको दूध दुहुने सीप मात्र नभई पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठको सरसफाइ र दूधको शुद्धता जस्ता व्यावहारिक र वैज्ञानिक पक्षलाई मूल्यांकनको आधार बनाइएको थियो। “यो कार्यक्रमले मेहनती किसानको सम्मान मात्र होइन, पशुपालकको यथार्थ अवस्था र संघर्षलाई नयाँ पुस्ताले बुझ्ने भाषामा प्रस्तुत गरेको छ,” उनले भने।

पहिलो संस्करणले सकारात्मक प्रतिक्रिया पाएको भन्दै सुवेदीले नेपाल सरकारसँग सहकार्य गरेर आगामी दिनमा कार्यक्रमलाई अझ जानकारीमूलक र बृहत् बनाउने योजना रहेको जानकारी दिए।

कार्यक्रम संयोजक गोविन्द न्यौपानेले पशुपालनकै माध्यमबाट धेरै किसानले आर्थिक उन्नति गरिरहेको अवस्थामा किसानलाई समाजका ‘आइडल’का रूपमा स्थापित गर्ने उद्देश्यले शो सञ्चालन गरिएको बताए।

खेती नामक संस्थाको मुख्य प्रायोजनमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका प्रवद्र्धकको रूपमा रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका थिए। कार्यक्रमको होस्ट तथा परिकल्पनाकार विवेक पोख्रेल थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *