राष्ट्रिय याक दिवस: जैविक धरोहरको उत्सव

“याक चौँरी प्रवर्द्धन: हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण” भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय याक दिवस २०८२ साल वैशाख ७ गते मनाइँदैछ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ सालको आश्विन २ गतेको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने घोषणा गरिएको हो। याक दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने कार्य प्रारम्भ गर्ने नेपाल विश्वमै पहिलो मुलुक हो। यस दिवसको मुख्य उद्देश्ययाकको जैविक, आर्थिक र सामाजिक महत्वलाई उजागर गर्दै यसको संरक्षण, प्रजनन सुधार तथा हिमाली क्षेत्रका समुदायहरूको समृद्धिमा याकको योगदानलाई प्रवर्द्धन गर्नु हो।
प्रकृतिको अनुपम उपहार याकचौँरी हिमाली जनजीवनको अभिन्न अंग हुन्। भौगोलिक विकटता, मौसमी प्रतिकुलता र आहाराको चरम अभाव जस्ता विषम परिस्थितीमा समेत उत्पादन दिन सक्ने विशेष गुण भएका याक चौँरीसामाजिक, आर्थिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण छन्।
यस प्रजातीमा शुद्ध भालेलाई “याक” भनिन्छ भने शुद्ध पोथीलाई “नाक”भनिन्छ। याक र स्थानीय गाईबाट प्राप्त सन्तानलाई “उराङ्ग चौरी”, नाक र स्थानीय बहरबाट प्राप्त सन्तानलाई “डिम्जो चौरी” भनिन्छ। भाले चौरीलाई “झोप्क्यो” भनिन्छ। समुन्द्री सतहदेखि ३००० मिटरदेखि ६००० मिटरको उचाईसम्म पाइने याकचौँरी नेपाल, चिन, भुटान, भारत, पाकिस्तान, मंगोलियालगायतका सीमीत मुलुकमा मात्र पालिन्छ।
याकचौँरी हिमाली क्षेत्रका बहुउपयोगी घरपालुवा जनावर हुन्। नाक र चौरीको दूध र दूधबाट बन्ने उत्पादनहरु जस्तैः घिऊ, चीज, छुर्पी, छेना तथा यीनको छालाबाट बन्ने दोक्चा, ज्याकेट, जुत्ता, पेटी, म्याट एवम् रौंबाट तयार गरिने चमर, स्विटर, मोजा जस्ता उत्पादनहरु हिमाली क्षेत्रका बासिन्दाको जीवनशैलीसँग जोडिएका छन्।
नाक चीज अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त छ र सो को निर्यात बर्षेनि बढ्दो क्रममा रहेको पाइन्छ। याक र झोप्क्योहरुसामान ढुवानी एवम् खेतबारी ज्योत्ने काममा प्रयोग गरिन्छ। त्यसैगरी पर्यटन प्रवर्धनमा समेत याक चौँरीको विशेष महत्व रहेको पाइन्छ। यसरी हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको जीविकोपार्जन, खाद्य तथा पोषण सुरक्षा, आयआर्जन, प्राङ्गगारिक पदार्थ एवं वातावरणीय सन्तुलनमा याकचौँरीलेमहत्वपूर्ण योगदान गरिरहेका छन्।
याकचौरी पालन व्यवसाय वर्षेनी घट्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदन अनुसार हाल नेपालका २९ जिल्लामा करिब ५३ हजारको संख्यामा याकचौँरी पालन भएको देखिन्छ। विगत २० बर्ष अघिको तथ्याङ्कसंग तुलना गर्दा हाल याकचौँरीको संख्या आधाले घटेको देखिन्छ।
जलवायु परिवर्तनका तापक्रम बढ्दा याकको प्रजननमा असर परेको छ, रोगको जोखिम बढेको छ, चरन क्षेत्र घटिरहेको छ, मौसमी चक्र अस्तव्यस्त भएको छ जसले गर्दा याकलाई अनुकुल वातावरण प्राप्त हुन सकेको छैन, कृषकको यस पेशामा आकर्षण घटेको छ फलस्वरुप याकचौरीको संख्या र तिनको उत्पादनमा ह्रास आएको छ।
तसर्थ, याकचौँरीको संरक्षण, व्यवसायिकरण र बहुउपयोगमा सम्बद्ध सबै सरोकारवालाहरूको ध्यान पुग्न जरूरी छ। यसका लागि सामाजिक, आर्थिक, वातावरणीय र संस्थागत सबै पक्षमा सुधार गर्न अत्यावश्यक देखिएको छ।
नेपाल सरकारले याक चौरीको विशेष महत्वलाई आत्मसाथ गर्दै वि.सं. २००९ मा रसुवाको लाङटाङमा याक चिज उत्पादन केन्द्र स्थापना गरेको थियो। त्यसैगरी याकको संरक्षण, प्रवर्द्धन र दिगो उपयोगको लागि सोलुखुम्बु जिल्लाको स्याङ्बोचेमा लागि वि.सं. २०३० बैशाख ७ गते याक आनुवांशिक स्रोत केन्द्र (तत्कालीन चौँरी विकास फार्म) को स्थापना भएको हो। हाल यस केन्द्रले याकको न्यूक्लियस हर्ड संरक्षण, आनुवांशिक सुधार, अनुसन्धान र प्रविधि विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
तीनै तहका सरकारहरू, निजी क्षेत्र, सहकारी तथा गैह्र सरकारी क्षेत्रको समन्वयमा काम गर्न सकेमा मात्र याकपालन व्यवसायको प्रवर्द्धन र विकास मार्फत हिमाली तथा उच्च पहाडी क्षेत्रमा आर्थिक योगदान एवं रोजगारी सिर्जनामा अपेक्षित उपलब्धी हासिल हुन सक्दछ। जलवायु परिवर्तनका कारण घट्दै गइरहेका चरन भू–भागहरूको पुनःस्थापनाका लागि सामुदायिक वनसँग सहकार्य गर्दै तत्काल दिगो चरन क्षेत्रको प्रबन्ध गर्न आवश्यक देखिन्छ। याकजन्य उत्पादन घ्यू, उन, दूध को ब्रान्डिङ, प्रशोधन र बजार व्यवस्थापनका लागि हिमाली जैविक उत्पादन अभियानसञ्चालन गर्नसके निर्यात प्रबर्धनमा टेवा पुग्ने देखिन्छ।
याकलाई संस्कृति र पर्यटनसँग जोड्दै ‘याक इको–ट्रेल‘ निर्माण र याकपालन सम्बन्धी वैज्ञानिक अनुसन्धान र प्रविधिको विकासका लागि ‘राष्ट्रिय याक अनुसन्धान केन्द्र‘ स्थापनाजस्ता कार्यक्रम सञ्चालन गरी हिमाली जनजीवनसँग गहिरो रूपमा जोडिएका याकचौंरीलाई संरक्षण, सुधार तथा व्यावसायिक रूपान्तरणमार्फत नयाँ ऊर्जा र सम्भावनासहित जोगाउन सकिने देखिन्छ।
याकचौँरीको संरक्षण र दिगो उपयोग मार्फत हिमाली क्षेत्रको खाद्य, पोषण सुरक्षा, जलवायु अनुकूलन र ग्रामीण जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ। याक रह्यो भने मात्र हिमाली संस्कृति जीवन्त रहन्छ,हिमाली क्षेत्रमा समृद्धि आउन याकचौँरी नेपालको हिमाली क्षेत्रको मौलिक जैविक सम्पदा हुन, राष्ट्रका गहना हुन्, यिनीहरुको संरक्षण एवं प्रवर्द्धनमा सबै सरोकारवालाहरु जुट्नुपर्ने आजको आवश्यकता हो।