कर तथा लेखा व्यवस्थापन र सकारात्मक सोच सम्बन्धी तालिम सम्पन्न

काठमाडौं।नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती जिल्ला शाखाले शुक्रबार राजधानीको येलो पगोडा होटलमा कर तथा लेखा व्यवस्थापन र सकारात्मक सोच तथा प्रेरणा अभिवृद्धि सम्बन्धी एक दिने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा बागमती जिल्ला शाखाका अध्यक्ष कृष्णबहादुर अधिकारी (रमेश) ले कर प्रणाली, लेखा व्यवस्थापन र व्यवसाय सञ्चालनमा सकारात्मक सोचको अपरिहार्यता औंल्याउनुभयो। उहाँले संघमा आबद्ध सम्पूर्ण व्यवसायीहरूले राष्ट्रिय कर प्रणाली, नियमकानूनको पालना गर्दै व्यवस्थित लेखा प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको बताउनुभयो। यसले व्यवसायीको व्यक्तिगत तथा राष्ट्रको व्यावसायिक प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

संघका पूर्वअध्यक्ष रेवती रमण निरौलाले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता तालिमहरू नियमित आयोजना गरिनुपर्नेमा जोड दिनुभयो। यस्ता कार्यक्रमले व्यवसायीहरूमा नयाँ सोच, ऊर्जा र ताजगी प्रदान गर्ने उहाँको विश्वास थियो।

तालिमको प्राविधिक सत्रमा चार्टर्ड एकाउन्टेन्ट मनोज थपलियाले कर तथा लेखासम्बन्धी विभिन्न व्यावसायिक आयामहरूमा प्रशिक्षण प्रदान गर्नुभयो। त्यस्तै, कर्पोरेट ट्रेनर तथा मोटिभेशनल कोच अनन्तराज घिमिरेले सहभागीहरूलाई सकारात्मक सोचको महत्व र उत्प्रेरणा अभिवृद्धि गर्ने उपायहरूबारे जानकारी गराउनुभयो।


कार्यक्रममा संघका सदस्य व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले तालिम अत्यन्तै उपयोगी, ज्ञानबर्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।

संघले आगामी दिनहरूमा यस्ता जनचेतनामूलक र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई अझ व्यापक रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *