उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठीसहित बोका वितरण

वालिङ ।स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलालाई उत्पादनमा जोड्न बाख्राका बीउ पाठीसहित बीउ बोका वितरण गरिएको छ। स्थानीय साहारा बाख्रापालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई यो वितरण गरिएको हो।

‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको वालिङ कृषि विकास परियोजनाअन्तर्गत बीउ स्वरूपमा बाख्राका पाठी र बोका वितरण गरिएको हो। उक्त परियोजना वालिङ नगरपालिकाहेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित छ।

कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरूलाई उत्पादनमा सक्रिय बनाउन बाख्रापालन कार्यक्रम सुरु गरिएको बताए। साना किसानलाई उत्पादनसँग जोड्न सकेमा मात्र महिलाहरू आर्थिक रूपमा सबल हुने उहाँको भनाइ थियो। ग्रामीण क्षेत्रको विकासका लागि महिलाहरूलाई उत्पादनसँग जोडिनु आवश्यक रहेको उहाँले जोड दिनुभयो।

वालिङ नगरपालिका पशु सेवा शाखाका प्रमुख डा. रोशन बस्यालले बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउन बीउ बोका पनि वितरण गरिएको जानकारी दिनुभयो। नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाबाट निरन्तर सहयोग भइरहेकाले दीर्घकालीन लाभ हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले बाख्रापालनका क्रममा देखिने समस्याहरूको समाधानका उपायबारे कृषकलाई जानकारीसमेत गराउनुभयो।

परियोजनाअन्तर्गत साहारा बाख्रापालन स्वावलम्बी महिला कृषक समूहका २१ जना सदस्यलाई पाठा–पाठी वितरण गरिएको हो। समूहका अधिकांश सदस्य दलित महिलाहरू हुन्। उनीहरूलाई आवश्यक तालिम दिई क्रमिक रूपमा उत्पादनमा संलग्न गराउने परियोजनाको भनाइ छ।

कार्यक्रममा कार्यपालिका सदस्य सीता बिक, वडा सदस्यहरू शोभाकान्त काफ्ले, सम्भव अर्याल, खिना काफ्ले, समूहकी अध्यक्ष सुधा बिकलगायतले बाख्रापालन तथा वडा कार्यालयको गतिविधिबारे जानकारी गराएका थिए।

वालिङ नगरपालिका वडा नं. १ देखि ७ सम्म सञ्चालन भइरहेको यस परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न कार्यक्रमहरू अघि सारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *