विभागको महानिर्देशक बन्न रिले दौड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागको रिक्त महानिर्देशक पद हत्याउन आकांक्षीहरूबीच दौड सुरु भएको छ । मन्त्रालयका चार वरिष्ठ सहसचिवले महानिर्देशक बन्न रुचि देखाएपछि पशुपन्छी क्षेत्रमा विभिन्न अनुमान हुन थालेका छन् ।
कृषि मन्त्री रामनाथ अधिकारी खासमा मधेस प्रदेशको सचिवमा सरूवा भएर गएका डा. उमेश दाहाललाई नै विभागको महानिर्देशकमा निरन्तरता दिन चाहन्थे । डा. दाहालले राम्रो काम गरिरहेकाले उनको विकल्प खोज्ने पक्षमा उनी थिएनन् । स्रोतका अनुसार मन्त्री अधिकारीले आफूलाई जानकारी नै नदिई उनको सरुवा गरिएको भन्दै गुनासो गरेका छन् । उमेशको सरुवा बदर गरेर फेरि डा. दाहाललाई नै फेरि विभागको नेतृत्वमा ल्याउने सोचका साथ मन्त्री अधिकारीले प्रधानमन्त्रीसँग कुरा राख्ने तयारी पनि अघि बढाएका थिए । तर डा. उमेशले सरुवा गरिएको मधेस प्रदेशमै गएर काम गर्ने रुचि देखाएपछि अवस्था परिवर्तन भएको छ ।
स्रोतका अनुसार, महानिर्देशकमा अहिले चार जनाले रुचि देखाउँदै लबिङ तीव्र पारेका छन् । जसमा यसअघि विभागको नेतृत्व लिइसकेकादेखि नयाँ अनुहारसम्म छन् । विभागको महानिर्देशकको बलियो दाबेदारका रूपमा बैकुण्ठ अधिकारीलाई हेरिएको छ । कृषितर्फका सबैभन्दा वरिष्ठ सह–सचिव रहेकाले पनि मन्त्री अधिकारीको छनोटमा उनी पर्ने अनुमान गरिएको छ । मत्स्यतर्फका सहसचिव डा. अधिकारी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामा कार्यरत छन् ।
यसअघि ६ महिना विभागको महानिर्देशक बनिसकेका डा. रामानन्दन तिवारीले पनि फेरि त्यहीँ फर्कने रहर गरेका छन् । तर यसअघिको कार्यकाल निकै विवादित बनेकाले उनी महानिर्देशक बन्ने सम्भावना कमजोर रहेको कृषि मन्त्रालय स्रोत बताउँछन् । ०७८ मा महानिर्देशक हुँदा डा. तिवारीले सवारी सिक्ने क्रममा विभागको टोयटा हाइलक्स जीप गम्भीर दुर्घटना गराएर क्षतिग्रस्त पारेका थिए । ब्रेक ठानेर एक्सिलेटर दबाउँदा भएको उक्त दुर्घटनामा लाखौं रूपैयाँको क्षति हुनुका साथै हात समेत भाँचिएको थियो । सरकारी सम्पत्तिमा क्षति पुर्याएकाले उतिबेला तिवारीमाथि कारबाही गर्नुपर्ने चर्को आवाज उठेको थियो । तर उनलाई कुनै कारबाही नगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जिम्मेवारी दिएपछि चर्को आलोचना भएको थियो ।
डा. तिवारीलाई विस्थापित गर्दै विभागको महानिर्देशक बनेकी डा. सम्झनाकुमारी काफ्ले पाण्डेले पनि पुनः विभाग फर्कंने मनसुवा पालेको कृषि मन्त्रालयतिर चर्चा छ । वरिष्ठता र अनुभवका दृष्टिले काफ्ले महानिर्देशकको प्रबल दाबेदार रहे पनि एक पटक जिम्मेवारी सम्हालिसकेको हुनाले उनको सम्भावना यस पटक कम रहेको बताइन्छ ।
विभागको महानिर्देशकमा अर्का वरिष्ठ सहसचिव डा. लेखराज दाहाल आउन लागेको चर्चा पनि चुलिएको छ । कोशी प्रदेशमा कृषि सचिवको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका दाहाल हाल पशु सेवा विभागको उपमहानिर्देशकमा कार्यरत छन् । विभागको काम गरेको अनुभव समेत भएकाले उनले उक्त पद पाउने सम्भावना अन्यको भन्दा बढी रहेको स्रोत बताउँछ ।
कोशी प्रदेशको कृषि मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे पनि विभागको महानिर्देशक बन्ने चर्चा विभाग परिसरमा चलेको छ । यद्यपि, डा. पाण्डेले भने विभागको महानिर्देशकमा भन्दा बढी गण्डकी प्रदेशको सचिवमा सरुवा हुने रुचि देखाएको स्रोतको भनाइ छ ।