काठमाडौँमा कुकुर बिरालो दर्ता अनिवार्य, बिक्री गर्न माइक्रोचिप राख्नैपर्ने

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले कुकुर तथा बिरालाको चोरी, हराउने र छाडा छोड्ने समस्यालाई मध्यनजर गर्दै नयाँ नियम लागू गरेको छ। अबदेखि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुकुर र बिरालो बिक्री तथा वितरण गर्दा माइक्रोचिप अनिवार्य गरिएको छ।
महानगरपालिकाले २०८१ साल चैत्र २० गते प्रकाशित सूचनामार्फत यस नियमको जानकारी दिएको हो। सूचनामा भनिएको छ, “काठमाडौँ महानगरपालिका क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ्ग गरेर मात्र बिक्री/वितरण गर्नुपर्नेछ।”
साथै, महानगरले जनगुनासोका आधारमा अबदेखि आफ्ना घरपालुवा कुकुर वा बिरालोलाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराउन पनि सबैलाई अनुरोध गरेको छ।
महानगरले नियम लागू गर्नुको उद्देश्य जनस्वास्थ्य र सुरक्षाको दृष्टिकोणले कुकुर बिरालाको व्यवस्थापन गर्नु, चोरी नियन्त्रण गर्नु, हराएमा पहिचान सजिलो बनाउनु र छाडा जनावरको समस्या समाधान गर्नु रहेको बताएको छ।
महानगरपालिकाले सबै नागरिक, पशु व्यवसायी र सम्बन्धित निकायलाई नयाँ नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।