पशु चिकित्सा परिषद्को निर्देशनको अवज्ञा, निलम्बित अवधिमा समेत प्रमाणपत्र जारी

काठमाडौं। नेपालमा पशुपन्छीको ओसारपसारका लागि प्रयोग गरिने भेटेरिनरी प्रमाणपत्रको दुरुपयोगबारे भेट टाइम्सले पटक–पटक समाचार प्रकाशन गर्दै परिषद्को ध्यानाकर्षण गराउँदै आएको छ।
यसै सन्दर्भमा, नेपाल पशु चिकित्सा परिषद्ले आफ्ना दर्तावाल पशु चिकित्सक डा. टिकाराम न्यौपाने (दर्ता नं. २३३) ले आचार संहिताविपरीत कार्य गरेको पाइएकाले नेपाल पशु चिकित्सा परिषद् नियमावली, २०५६ को नियम २१ (१) बमोजिम फागुन २१ गतेदेखि दुई महिनाका लागि निलम्बन गरेको छ।
तर, डा. न्यौपानेले परिषद्को निर्देशनको अवज्ञा गर्दै पशु चिकित्सकीय कार्य गरिरहेको खुलासा भएको छ। परिषद्ले निलम्बन गरेपछि उनलाई पशु चिकित्सा व्यवसाय सञ्चालन गर्न अयोग्य ठहराइएको भए तापनि, उनले निलम्बनको तेस्रो दिन अर्थात् फागुन २३ गते रामचन्द्र पोखरेलको भैंसी चितवनबाट गोरखा लैजानका लागि भेटेरिनरी प्रमाणपत्र जारी गरेका छन्। उक्त प्रमाणपत्रअनुसार गोरखाका रमेश गौतमलाई पठाइएको छ।
त्यसैगरी, फागुन २६ गते पनि उनले प्रतिष्ठा मत्स्य फर्म, चितवनबाट काठमाडौंमा माछा पठाउन अर्को भेटेरिनरी प्रमाणपत्र जारी गरेको भेट टाइम्सले पत्ता लगाएको छ।
नेपाल पशु चिकित्सा परिषद्का रजिस्ट्रार डा. राम कुमार मण्डलका अनुसार, डा. न्यौपानेविरुद्ध आवश्यक अनुसन्धान गर्न निलम्बन गरिएको हो। परिषद्ले प्रारम्भिक रूपमा २ महिनाको निलम्बन गरेको भए पनि अनुसन्धान नसकिए निलम्बन अवधि थपिन सक्ने बताइएको छ।
डा. मण्डलले परिषद्को निर्देशन अवज्ञा गरेको प्रमाणित भएमा पशु चिकित्सा परिषद् ऐनअनुसार थप कारबाही हुन सक्ने, अदालतमा मुद्दा दर्ता हुन सक्ने, जरिवाना लाग्न सक्ने तथा अन्ततः उनको दर्ता प्रमाणपत्र नै खारेज हुन सक्ने बताएका छन्।