नगरपालिकाको दबाबपछि स्नेहाज केयरको सेवा बन्द

काठमाडौं, । नेपालमा पशु कल्याणका क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको स्नेहाज केयरले नगरपालिकाको दबाबपछि आफ्ना सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ। ललितपुर महानगरपालिका वडा नं. २१ को कार्यालयले जारी गरेको पत्र अनुसार, स्थानीय बासिन्दाहरूले कुकुरको भुकाइका कारण असहज परिस्थिति भोग्नुपरेको भन्दै बारम्बार गुनासो गरेपछि संस्था हटाउन निर्देशन दिइएको हो।

हाल स्नेहाज केयरमा २०० भन्दा बढी जनावरहरू आश्रय लिइरहेका छन्, जसमा घाइते, अशक्त, तथा सडकमा बेवारिसे अवस्थामा भेटिएका पशुहरू समावेश छन्। संस्थाले हाल सेवा बन्द गरेपछि यी जनावरहरूको भविष्य समेत अन्योलमा परेको छ।

वडा कार्यालयबाट बारम्बार पत्रहरू प्राप्त भएपछि स्नेहाज केयरले सूचना जारी गर्दै आफूहरूलाई निरन्तर प्रशासनिक दबाब झेल्नुपरेको उल्लेख गरेको छ। “हाम्रो पूर्ण क्षमताभन्दा बढी पशुहरूको आश्रय, उपचार र स्याहार गरिरहेका छौं। नगरपालिकाको आदेश र आर्थिक कठिनाइका कारण अर्को सूचना नआउँदासम्मका लागि सम्पूर्ण सेवाहरू बन्द गर्नुपरेको छ,“ सूचनामा भनिएको छ।

सङ्कटमा परेको स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठ हालै मात्र  अनलाइनखबर द्वारा प्रकाशित “२०८१ सालका ५० प्रभावशाली महिला“ सूचीमा समावेश भएकी थिइन्। उनले नेपालमा पशु अधिकार, अवैध वन्यजन्तु व्यापार नियन्त्रण, तथा घरपालुवा र सडक जनावरहरूको कल्याणका लागि लामो समयदेखि अभियान चलाउँदै आएकी छन्।

वडा अध्यक्ष रविन्द्र महर्जनका अनुसार स्थानीय बासिन्दाहरूले स्नेहाज केयरबाट समस्या भइरहेको भन्दै उजुरी गरेका थिए। “अहिले त्यो स्थानमा घरहरू भएका कारण समन्वय गरेरै हटाउने निर्णय गरिएको हो। उहाँहरू अर्को स्थानमा सर्ने प्रक्रियामा हुनुहुन्छ,“ महर्जनले भने।

नगरपालिकाको आदेशसँगै स्नेहाज केयरको भविष्य अन्योलमा परेको छ भने पशु कल्याण क्षेत्रमा यस घटनाले गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *