यी तीन कुरामा मेरो र सिंगो टिमको जोड रहनेछ

काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्को दुई उपाध्यक्षका लागि हालै सम्पन्न निर्वाचनमा जगदीश पाण्डेय निर्वाचित भएका छन् । आफ्‌ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै जित निकाल्न सफल भएका पाण्डेय सिंगो पशुपन्छी क्षेत्रलाई केन्द्रमा राखेर आफ्‌ना कामहरू अघि बढाउने बताउँछन् । राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराका प्रमुखसमेत रहेका पाण्डेय   पशुपन्छी क्षेत्रको पुनर्संरचनालाई प्राथमिकतामा राखेर परिषद्को सिंगो टिम अघि बढ्ने बताउँछन् ।

चुनावी नतिजालाई कसरी लिनुभएको छ ?
हरेक व्यक्तिप्रति मान्छेको एउटा विश्वास हुन्छ । साथीहरू, अग्रज सरहरू र अनुज भाइबहिनीहरूले पनि ममाथि विश्वास गर्नुभयो । निर्वाचित भएँ भने देखिने गरी काम गर्छ भन्ने ठान्नु भयो र मलाई मतदान गरी विजयी गराउनुभयो ।

पशु चिकित्सा परिषद्को उपाध्यक्ष, सदस्य पदका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएर भर्खरै यहाँहरूले कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रिय रूपमा यसको महत्व कस्तो रहन्छ ?
पशु चिकित्सकहरू जति पनि हुनुहुन्छ, उहाँहरू सबैलाई चिनाउने संस्था हो, परिषद् । यसले पशु चिकित्सकलाई आधिकारिक रूपमा चिनाउँदैन मात्र, सँगसँगै नियमन पनि गर्छ । यी आचारसंहिताभित्र रहनुस्, मर्यादित भएर काम गर्नुस् भनेर मार्गदर्शन गर्छ । पशु चिकित्सकको परीक्षा पास गर्दैमा सबै कुरा गर्न छुट हुँदैन भनेर सिकाउँछ । सारमा भन्नुपर्दा पशु चिकित्सकलाई परिषद्ले कानूनी परिधिमा ल्याउँछ ।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत देशमा पाँच वर्ष पढेर पशु चिकित्सक भएका साथीहरू हामीकहाँ हुनुहुन्छ । पशु चिकित्सा पास आउट हुँदैमा अभ्यास गरिहाल्न पाइँदैन । त्यसका लागि परीक्षा उत्तीर्ण हुनैपर्छ । परिषद्ले सञ्चालन गर्ने यो परीक्षाका आफ्‌नै कार्यविधि छन् । त्यसमा सफल भएपछि बल्ल परिषद्ले दर्ता नम्बर उपलब्ध गराएर अभ्यासका लागि मार्गप्रशस्त गरिदिन्छ । त्यसरी उत्तीर्ण परीक्षार्थीलाई अभ्यासका क्रममा पालना गर्नुपर्ने नियम, कानून र आचारसंहिताबारे जानकारी गराउनेदेखि गलत गरेको खण्डमा कारबाही गर्नेसम्मका काम परिषद्ले गर्छ । सारमा भन्नु पर्दा पशु चिकित्सा क्षेत्रलाई स्वस्छ, स्वस्थ र मर्यादित बनाउने अभिभारा बोकेको निकाय हो, परिषद् ।

पशुपालक किसान र आमनागरिकलाई काउन्सिलले खेल्ने भूमिकाले कस्तो प्रभाव पार्छ ?
अहिलेको नयाँ कार्यसमितिको जोड मूलभूत रूपमा तीन कुरामा हुन्छ । पहिलो छ, भेटेरिनरी शिक्षाको गुणस्तर सुधार गर्ने सवाल । त्यसो त, यो आजको भोलि नै झ्याप्पै सम्भव भई हाल्दैन । समय लिन्छ । किसानको पशुधनमा उल्लेख्य टेवा पुर्‍याउने पशु चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउनेतिर अहिलेदेखि हाम्रो प्रयास केन्द्रित हुनेछ । पशु चिकित्सा अध्ययन गरेको विद्यार्थी पढाइ सकेर अभ्यास गर्न आइपुग्छ । अनुभव हासिल गर्छ । आवश्यक परेमा थप शिक्षा लिन्छ । ती कुरामा काउन्सिलले उनीहरूलाई सहायता प्रदान गर्नेछ । क्रमिक रूपमा कार्यक्रम राखेर अथवा प्रदेशका निकायसँग समन्वय गरेर यो काम फत्ते गर्ने हाम्रो सोच छ ।
हाम्रा अग्रजहरूले राम्रो कामको सुरुवात गर्नुभएको छ । ती काममा अहिलेको प्रविधि मिसाएर समृद्ध र समयसापेक्ष गर्ने अवसर हाम्रो अगाडि छ । नयाँ पुस्ताको जोस र अग्रजको अनुभवबाट लाभ लिन सकिने यथेष्ट सम्भावना छन् । त्यसैले किसानले पशुपन्छीजन्य वस्तुबाट गर्ने आयआर्जनमा बढावा दिन हाम्रो प्रयास रहनेछ ।

देशका ७५३ वटै स्थानीय तहमा पशु चिकित्सक पुर्‍याउनुपर्ने खाँचो भए पनि तदनुरूप व्यवस्थापन हुन सकेको छैन । संघीय सशर्त बजेटमा समावेश गरिएको एक पालिका, एक भेटेरिनरी डाक्टर कार्यक्रमअनुसार झण्डै झण्डै ३०० स्थानीय तहमा पशु चिकित्सकको प्रबन्ध गरिएको छ । यो सकारात्मक प्रयास हो, यसको प्रशंसा गर्नुपर्छ । आगामी आर्थिक वर्षमा हाम्रो जोड तीन सयलाई अझै
थप्नेमा हुनेछ ।

उपाध्यक्षको कार्यभार सम्हालिसक्नुभएको छ । निर्वाचनमा होमिँदै गर्दा यहाँले केही प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । अबका दिनमा यसलाई कसरी अगाडि लिएर जाने सोचमा हुनुहुन्छ ?
मैले चुनावमा जाहेर गरेको प्रतिबद्धता अघि माथि उल्लेख गरेका कुराहरू नै हुन् । त्यसो त, काउन्सिल चुनावमा गरेका वाचा र नारा पूरा हुने संस्था होइन । काउन्सिल त कानूनले बाँधेको संस्था हो । कानूनी परिधिमा रहेर यहाँ काम गर्नुपर्छ । कानूनले गाइड गरेको कुरामा मबाट कुनै सम्झौता हुने छैन । तर हामीले उठाएका निरन्तर शिक्षा, शैक्षिक संस्थाको नियमन र सेवा विस्तारका कुरामा मेरो मात्र नभएर सिंगो टिमकै विशेष जोड रहनेछ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको प्रमुख पनि हुनुहुन्छ । यी दुई जिम्मेवारी एकसाथ अघि बढाउन कसरी समयको तालमेल मिलाउनुहुन्छ ?
काउन्सिलको म पदाधिकारी हुँ, कार्यालयमा मेरो जिम्मेवारी प्रमुखको छ । परिषद्का पदाधिकारीको बैठक नियमित बस्दैन । दिनदिनै त्यहाँ जानुपर्ने काम हुँदैन । लाइसेन्सको परीक्षा हुँदा जानैपर्ने हुन्छ । त्यो काम वर्षको तीन पटक हुने भएकाले समस्या छैन । यी बाहेक दैनिक कामका लागि अध्यक्ष रजिष्ट्रारसँगै अन्य १० कर्मचारी कार्यरत हुनुहुन्छ । परिषद्मा केही निर्णय गर्न बैठक बस्नुपर्ने हुनसक्छ । त्यसका लागि भौतिक रूपमै काठमाडौंमा हुनुपर्छ भन्ने छैन । भर्चुअल ढंगले पनि बैठक गरेर निर्णय गर्न सकिन्छ ।

प्रसंग थोरै बदलौं । पशु चिकित्सकहरू नेपाल जुनोटिक रोगको जोखिममा रहेको बताउनुहुन्छ । यसतर्फ के कस्ता काम हुनुपर्ने खाँचो यहाँले देख्नुभएको छ ?
सरकारले अहिले १० वटा जुनोटिक रोगलाई लिस्टेड गरेर त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । तीनै तहका सरकारबाट यसको नियन्त्रणका लागि कार्यक्रम सञ्चालन भइरहेका छन् । उदाहरणको रूपमा रेबिजलाई हेरौं । पालिकाहरूले यसको नियन्त्रणमा कदम उठाउँदै सामुदायिक कुकुरको बन्ध्याकरण, खोप, स्कुल शिक्षाका कार्यक्रम सञ्चालन गरेका छन् । सचेतना कार्यक्रम पनि उसैगरी भइरहेका छन् । प्राविधिकलाई पनि सतर्क गराएका छौं । रोग पहिचानका लागि प्रदेशस्तरका प्रयोगशालालाई पनि सुदृढ गरेका छौं । खासगरी सचेतना फैलाउँदै यी रोगलाई नियन्त्रणमा लिने काम भइरहेको छ ।

नेपालमा पशुहरू चेकजाँचबिनै मासुका लागि बिक्री हुने गरेका छन् । दूधको पनि परीक्षणबिनै प्रयोग तथा बिक्री हुन्छ । यसले पशुमा लागेको रोग मानिसमा सर्ने खतरा हुन्छ कि हुँदैन ?
सबैभन्दा पहिलो कुरा, ट्रेड आफैंमा चुनौतीको विषय हो । पशु रोगी भएमा यसले जुनोटिक रोगबाहेक अन्य रोग पनि सार्न सक्छ । ४–५ वर्षअघि दशैंको समयमा ४–५ लाख खसीबोका आउँथ्यो । त्यसबाहेकका अन्य समयमा नगण्य मात्रामा करिब हजारको संख्यामा आउने गरेका छन् । त्यसो त फ्रोजन मिटकै रूपमा पनि नेपालमा मासु भित्रिने गरेको छ । त्यसरी मासु भित्राउनुपूर्व पशु सेवा विभागले रिस्क एनालाइसिस गर्छ । त्यो खाद्य पदार्थ मासुको रूपमा आउँदा रोगदेखि खाद्य स्वच्छतामा असर गर्छ कि गर्दैन भनेर हेर्छ । त्यसले गर्दा यसमा पनि खासै चुनौती छैन । रह्यो कुरा, खुला सीमाको । यसरी भित्राइएका पशुपन्छी रोगी छन् भने त्यसबाट रोग सर्ने खतरा हुन्छ । तर हाम्रो एउटा राम्रो बानी के छ भने सिँगाने, झोक्राएको पशु इन्टर टेन गर्दैनौं । व्यवसायी साथीले पनि निरोगी नै छानेको देखिन्छ । सबैले आफ्‌नो ठाउँबाट भूमिका खेलेको खण्डमा यसको जोखिम कम गर्न सकिन्छ ।

 

भेट टाइम्स मासिक २०८० माघ अंकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *