पशुचिकित्सक लाइसेन्स परीक्षा आज, १५९ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं ।नेपाल पशुचिकित्सा परिषद्ले आज फागुन २४ गते शनिबार बिहान १०ः३० बजेबाट लाइसेन्स परीक्षा सञ्चालन गर्दैछ। ललितपुरको पुल्चोकस्थित सूचना तथा प्रविधि केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थानमा हुने यो परीक्षा परिषद्को २२ औँ नाम दर्ता परीक्षा हो।
वार्षिक रूपमा कम्तीमा तीन पटक सञ्चालन हुने यो परीक्षामा आज १५९ जना परीक्षार्थी सहभागी हुँदैछन्। हालसम्म सम्पन्न २१ वटा परीक्षाको उत्तीर्ण प्रतिशत ५०.०९ रहेको छ।
परिषद्ले पहिलो पटक आ.व. २०७४/०७५ मा २०७४ कार्तिक २५ गतेदेखि पशुचिकित्सकहरूको लाइसेन्स परीक्षा सुरु गरेको थियो। कोभिड महामारीको समयमा पनि परीक्षालाई निरन्तरता दिँदै २०७७ कार्तिक २२ गतेदेखि कम्प्युटर माध्यमबाट परीक्षा सञ्चालन गरी नेपालका सबै परिषद्हरूमध्ये अग्रिम कार्यको सुरुवात गरेको थियो। परीक्षा सञ्चालन भएको दिन नै नतिजा प्रकाशन गर्ने प्रणाली अवलम्बन गरिएको छ, जुन उदाहरणीय छ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा सङ्काय रामपुर, पूर्वाञ्चल विश्वविद्यालयको हिकाष्ट र एन.पि.आई, त्रिभुवन विश्वविद्यालयको पक्लिहवा क्याम्पसबाट उत्तीर्ण पशुचिकित्सा तथा पशुपालन स्नातक (बि.भि.एस्सी.एण्ड.ए.एच.) उपाधि हासिल गरेका परीक्षार्थीहरूका साथै बङ्गलादेश, भारत, चीन, पाकिस्तानबाट सो सरह उपाधि हासिल गरेका पशुचिकित्सकहरू पनि परीक्षामा सहभागी हुँदैछन्।