उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग कृषि मन्त्री अधिकारीको आग्रह

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ। नेपालका लागि जापानका राजदूत मायाडा तोरुसँग सिंहदरवारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि जापानी राजदूत समक्ष आग्रह गर्नुभएको हो।
मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो। जापानले प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गरेको र यसले समग्र कृषि क्षेत्रमा पुर्याएको उपलब्धि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रमा जापानले गरिरहेको प्रयोग नेपालले पनि सिक्न जरुरी रहेको बताए। साथै, प्राविधिक ज्ञानका लागि सहकार्य गर्न सकिने मन्त्री अधिकारीले उल्लेख गर्नुभयो।
अहिले पनि जापानी स्वयंसेवकहरूले मन्त्रालय मातहतका विभिन्न कार्यालयहरूमार्फत सहयोग गरिरहेका छन्, जसबाट जापानमा प्रचलित कृषि अभ्यास सिक्ने अवसर नेपालीहरूले पाएका छन्, मन्त्री अधिकारीले बताउनुभयो।
नेपालले “कृषिमा लगानी दशक” घोषणा गरी लगानी भित्र्याउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूत समक्ष आग्रह गर्नुभयो। आगामी वर्ष नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुग्ने उल्लेख गर्दै मन्त्री अधिकारीले यस अवसरमा जापानको निस्वार्थ सहयोगमा अझ वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो।
भेटवार्तामा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै हाल जारी सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा थप सहयोगका सम्भावनाहरूको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जापानले कृषिको विकासमा उपकरणहरूको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दै नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपालको चिया र हर्बल उत्पादनका लागि जापान राम्रो बजार हुन सक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदूत तोरुले उल्लेख गर्नुभयो ।