भारतमा बर्डफ्लू, नेपालको सीमामा कडाई गर्ने प्रशासनको तयारी

काठमाडौं।नेपालमा कुखुराजन्य उत्पादनमा आत्मनिर्भरता बढेसँगै आयातलाई निरुत्साहित गरिए पनि सीमित स्वार्थकेन्द्रित व्यापारीहरूको कारण कुखुरा तस्करी बढ्दै गएको छ। यसले नेपाली कुखुरा व्यवसायमा नकारात्मक असर पारिरहेको व्यवसायीहरूको गुनासो छ।
भारतमा प्रकोप फैलिएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले छिमेकी मुलुकबाट नेपाल भित्रिने कुखुरा, चल्ला र सेतो अण्डाको आयातमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ।
आइतबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रजिअ अर्यालले भारतका सीमावर्ती क्षेत्रमा वर्डफ्लू देखा परेका कारण नेपालमा संक्रमण रोक्न उच्च सतर्कता अपनाइने बताए। उनका अनुसार, नेपालमा कुखुराजन्य उत्पादन भित्रिन नदिन सीमामा निगरानी बढाइनेछ।
उनले भने, “संक्रमण रोक्नका लागि भारतबाट कुनै पनि कुखुरा, चल्ला वा सेतो अण्डा नेपाल भित्रिन नदिनु आवश्यक छ। साथै, आन्तरिक बजारमा पनि यस्ता वस्तुको उपभोग र बेचबिखनलाई निरुत्साहित गर्न संयुक्त अनुगमन टोली गठन गरिएको छ।”
बैठकले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा. राजकुमार शाहको संयोजकत्वमा ‘र्यापिड एक्सन टिम’ गठन गर्ने निर्णय गरेको छ। उक्त टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्णाकुमार कुशवाहा, वीरगन्ज उद्योग वाणिज्य सङ्घकी प्रतिनिधि शिवानी कलवार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल लेयर्स कुखुरापालक सङ्घका प्रतिनिधिहरू रहनेछन्।
अनुगमन टोली सोमबारदेखि सक्रिय हुनेछ। टोलीले बजारमा अनुगमन गर्ने, संक्रमणको अवस्था मूल्यांकन गर्ने, आवश्यक परेमा कारबाही गर्ने तथा वर्डफ्लूबारे जनचेतना फैलाउने कार्यसमेत गर्नेछ।
नेपालमा व्यावसायिक कुखुरापालन फस्टाउँदै गएकाले पछिल्ला वर्षहरूमा कुखुराजन्य वस्तुमा आत्मनिर्भरता बढेको छ। तर, केही सीमित व्यापारीहरूको व्यक्तिगत स्वार्थका कारण तस्करीमार्फत सस्तो मूल्यमा भारतीय कुखुरा तथा अण्डा भित्र्याउने क्रम नरोकिएको व्यवसायीहरूको गुनासो छ। यसले स्वदेशी उत्पादकहरूलाई चुनौती थपेको छ।
नेपाल सरकारले वर्डफ्लू प्रभावित क्षेत्रबाट कुखुराजन्य उत्पादन भित्र्याउन कडाइ गरेको भए पनि तस्करी नियन्त्रण अझै प्रभावकारी बन्न सकेको छैन। स्थानीय प्रशासनले आम नागरिकलाई समेत सतर्क रहन तथा संक्रमित वा आशंकित कुखुराजन्य वस्तुहरू उपभोग नगर्न आग्रह गरेको छ।