प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल देखिनु पर्ने बताएका छन्।
मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल बिना उपलब्धि नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
“हामीसँग विज्ञहरूको अभाव छैन। लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालयसँग छ। तथापि, अपेक्षित नतिजा आउन सकेको छैन। चार्टले मात्र प्रगति देखाएर पुग्दैन,” मन्त्री अधिकारीले भने।
उनले “कृषि कर्ममा लागेकाहरूलाई हामीले के दियौं” भन्ने सोचका साथ कार्य गर्न जरुरी रहेको बताए। कानुनी अवरोध हटाउँदै नतिजामुखी कार्य गर्न आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले अझै बढी क्रियाशीलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पूरा हुने भएकाले त्यसतर्फ लाग्न कर्मचारीहरूलाई निर्देशन दिए।