परिषद्को नयाँ नेतृत्व चयन, राम प्रसाद मेहतासहित को को भए प्रदेश र केन्द्रीय प्रतिनिधि?
काठमाडौं। नेपालमा पहिलो पटक सम्पन्न पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ऐतिहासिक निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचन परिणामअनुसार नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका केन्द्रीय अध्यक्ष राम प्रसाद मेहताले २,७२२ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार काजी बहादुर श्रेष्ठले २,५२९ मत प्राप्त गरे भने अर्का प्रत्याशी लोकराज भुसालले १,३९३ मत प्राप्त गरे।
नेपालमा भेटेरिनरी तथा पशु सेवा व्यवसायलाई संस्थागत र व्यवस्थित गर्ने उद्देश्यले परिषद्को स्थापना गरिएको हो। व्यवसायीहरूको अधिकार संरक्षण, नियमन, र नीतिगत सुधारका लागि पहिलो पटक कानूनी प्रक्रिया अनुरूप निर्वाचन सम्पन्न भएको हो। परिषद् स्थापनासँगै व्यवसायीहरूले सरकारबाट आधिकारिक मान्यता प्राप्त गर्दै आएका छन्।
निर्वाचन समितिका अनुसार, कुल ६,८२० मतदाता सहभागी भएको निर्वाचन माघ १८ गते देशभरका सातै प्रदेशमा सम्पन्न भएको थियो। उपाध्यक्ष पदमा राम प्रसाद मेहताले २,७२२ मत प्राप्त गरी निर्वाचित भए भने काजी बहादुर श्रेष्ठले २,५२९ मत र लोकराज भुसालले १,३९३ मत प्राप्त गरे।
महिला सदस्य पदमा चिनाकुमारी लामाले ३,४१० मत प्राप्त गरी निर्वाचित भइन्। दिलमाया श्रेष्ठले ३,१६३ मत प्राप्त गर्दै विजयी भइन् भने अन्य प्रतिस्पर्धी गीता धमलाले ३,०३६ मत र उमा बञ्जाडेले २,४३० मत प्राप्त गरे।
खुला सदस्य पदमा बलरामकृष्ण बञ्जाडे १,५४९ मत प्राप्त गरी निर्वाचित भए भने योगेन्द्रलाल यादव १,५५९ मत प्राप्त गर्दै विजयी भए। अन्य प्रतिस्पर्धी इस्वरी प्रसाद आचार्यले १,०४१, कमलबहादुर विश्वकर्माले ८१३, कृष्णप्रसाद महतोले १,२९६, दीपक रानाभाटले ७३६, दीर्घकुमार स्वाँरले ३९०, धर्मराज जैसीले १,१७२, महेन्द्रप्रसाद भण्डारीले १,४३२, सुमन कुँवरले १,१२५, सुरेशकुमार खड्काले १,१५१ र हरिलाल कँडेलले ३३२ मत प्राप्त गरे।
प्रदेश सदस्य पदतर्फ कोशी प्रदेशबाट पुरूषोत्तम पाण्डे, मधेश प्रदेशबाट विश्वेश्वरप्रसाद यादव, बागमती प्रदेशबाट ईश्वरप्रसाद घिमिरे, गण्डकी प्रदेशबाट डिल्लीराम रेग्मी, लुम्बिनी प्रदेशबाट ज्ञानु बुढा, कर्णाली प्रदेशबाट चिरञ्जीवी प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशबाट लालबहादुर बोहरा निर्वाचित भएका छन्।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को पहिलो निर्वाचन भेटेरिनरी तथा पशु व्यवसाय क्षेत्रलाई संस्थागत रूपमा सुदृढ गर्ने महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ। नवनिर्वाचित नेतृत्वले पशु स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, व्यवसायिक अधिकारको संरक्षण, नियमन, तथा नीति सुधारका क्षेत्रमा ठोस पहल गर्ने अपेक्षा गरिएको छ। विशेषगरी, ग्रामीण भेगका भेटेरिनरी व्यवसायीहरूको समस्या समाधान, कानूनी स्पष्टता, तथा व्यवसायिक प्रतिस्पर्धालाई मर्यादित बनाउने दिशामा परिषद्ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
निर्वाचन समितिले विजयी उम्मेदवारहरूको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ। परिषद्को पहिलो निर्वाचित नेतृत्वले भविष्यमा पशु स्वास्थ्य सेवा क्षेत्रको सुधार तथा व्यवसायीहरूको सशक्तिकरणका लागि रणनीतिक योजना अघि बढाउने अपेक्षा गरिएको छ।