१२ गते दशरथ रंगशालामा हुने “राइट टु प्रोटिन रन” मा सहभागिताको आह्वान

काठमाडौँ|नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिनजन्य पदार्थको महत्वबारे जनचेतना फैलाउन, नागरिकको स्वास्थ्य सुधार गर्न तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले चौथो संस्करणको “राइट टु प्रोटिन रन” आयोजना गर्ने घोषणा गरेको छ। हाफ म्याराथनसहितको दौड प्रतियोगिता २०८१ माघ १२ गते शनिबारका दिन दशरथ रंगशाला, काठमाडौँबाट बिहान ६:३० बजे सुरु भई सोही स्थानमा समाप्त हुनेछ। यस प्रतियोगितामा ८,००० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक डा. सितलकाजी श्रेष्ठले जानकारी गराएअनुसार, यो म्याराथन नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिता हो। यस पटकको हाफ म्याराथनतर्फ प्रथम हुनेलाई रु. १,५०,००० (कर बाहेक) नगद पुरस्कार प्रदान गरिनेछ भने अन्य विजेताहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। कुल पुरस्कार राशी रु. १७,६३,३३३.३३ रहेको छ।

प्रतियोगितामा सहभागीहरूले हाफ म्याराथन, १० किमी दौड, ५ किमी दौड, विद्यालयस्तरका विद्यार्थीका लागि ३ र ५ किमी दौड, फरक क्षमता भएका व्यक्तिहरूका लागि व्हीलचेयर दौड, तथा बालबालिकाका लागि ‘Run for Fun’ जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्नेछन्। गत वर्ष यसै प्रतियोगिताको हाफ म्याराथन विधामा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले प्रथम स्थान हासिल गरेका थिए।

डा. श्रेष्ठले कार्यक्रमका लागि खेलाडीहरूको सुविधाका लागि दौड मार्गका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी पनि गराए। सहभागीहरूले दौड पूरा गरेपछि खाजा, टिसर्ट र मेडल प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रतियोगिताको व्यवस्थापनका लागि ५०० जना स्वयंसेवक परिचालन गरिनेछ।

यस कार्यक्रमलाई युनाइटेड स्टेट्स सोयाबिन एक्स्पोर्ट काउन्सिल (USSEC) ले मुख्य प्रायोजन गरेको छ भने पशु सेवा विभाग, नेपाल दाना उद्योग संघ, प्रिमिएरा अस्पताल, इसेवा, केबी एग्रो, काठमाडौँ मेरियट होटल र फेयरफिल्ड बाई मेरियटले विशेष सहयोग गरेका छन्। कार्यक्रमलाई नेपाल एथलेटिक्स एसोसिएसनले प्राविधिक सहयोग उपलब्ध गराएको छ।

नेपाल भेटेरिनरी एशोसिएसनले “प्रोटिनका स्रोतमा सहज पहुँच र प्रोटिनको महत्वबारे जनचेतना फैलाउँदै स्वस्थ र सक्षम नागरिक निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई सफल बनाउन आम जनसमुदायलाई सहभागी हुन अपिल गरेको छ।”

माघ १२ गते बिहान दशरथ रंगशाला जाऔं, दौडमा सहभागी बनौं, स्वस्थ रहौं!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *