दर्ता बिना इन्जेक्सन सरकारी कार्यालयको टेन्डरमा: गर्तौलाको संलग्नता सार्वजनिक

काठमाडौं। नेपालमा पशुपन्छी औषधिको क्षेत्रमा अनियमितता र दुरुपयोग तीव्र रूपमा बढिरहेको छ। पछिल्लो समय पशुपन्छी औषधिमा अत्यधिक मात्रामा एण्टिबायोटिक्सको दुरुपयोगले एष्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को जोखिम बढाउँदै गम्भीर स्वास्थ्य समस्या निम्त्याउने चेतावनी विज्ञहरूले दिएका छन्। सरकारले एएमआरको रोकथामका लागि जनचेतना फैलाउँदै साप्ताहिकरूपमा दिवस मनाउन थाले पनि औषधि व्यवस्थापनमा देखिएका कमजोरीका कारण अनियमितता झन् बढेको छ।

औषधि व्यवस्था विभागको सीमित जनशक्ति, प्रभावकारी अनुगमनको अभाव, र सरकारी स्तरमा भेटेरिनरी क्षेत्रप्रतिको बेवास्ताले नेपालमा दर्ता नभएका औषधिको आयात, तस्करी र खुल्ला विक्री जस्ता गतिविधि व्यापक रूपमा सञ्चालन हुँदै आएका छन्। यस्ता गतिविधिमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका कोशी प्रदेश सचिव सुवास गर्तौलाको प्रत्यक्ष संलग्नता रहेको पाइएको छ। गर्तौलाले झापामा सञ्चालन गर्दै आएको ‘गर्तौला भेट’ मार्फत तस्करी गरेर ल्याइएका दर्जनौँ दर्ता नभएका औषधिहरू अवैध रूपमा विक्री वितरण गरिरहेको भेट टाइम्सको जानकारीमा आएको छ ।

भेट टाइम्सले पाएको विवरणअनुसार गर्तौलाले भारतबाट सेप्ट्रीएक्सन, आइभरमेक्टिन, मर्डेक्स, म्याक्टिन, एन बिमेलोक्स पी, निमोसाइड पी, मेलोक प्लास, एनोलोक्स लगायतका दर्जनौं इन्जेक्सन र औषधिहरू तस्करी गरी नेपाल ल्याएका छन्। यी औषधिहरू उनले झापा, मोरङ, इलाम, पाँचथर लगायतका जिल्लाका सरकारी कार्यालय र स्थानीय तहहरूमा विक्री वितरण गर्दै आएका छन्। गर्तौलाले कमल गाउँपालिका (झापा), उर्लाबारी नगरपालिका (मोरङ), हिलिहाङ गाउँपालिका (पाँचथर), देउमाई नगरपालिका (इलाम), माइ नगरपालिका (इलाम) लगायतका स्थानमा अवैध औषधि बिक्री गरेको पाइएको छ।

औषधि व्यवस्था विभागका अनुसार यी उत्पादनहरू कुनै पनि दर्ता प्रक्रियामा छैनन्। विभागका एक अधिकारीले भने, “यी औषधिहरूको हाम्रो ड्याम्स रेकर्डमा कुनै विवरण छैन। कार्यालय समयमा सम्पर्क गर्दा थप जानकारी दिन सकिन्छ।”

गर्तौलासँगको टेलिफोन संवादमा उनले यी औषधिहरू आफूले विक्री गरेको स्वीकार गरे। तर उनले ती औषधिहरू अन्य व्यवसायीहरूले आयात गरेको र आफू आयातकर्ता नभएको दाबी गरे। उनले भने, “मैले ती औषधिहरू बेचेको हो, तर आयात गर्ने जिम्मा अरू व्यवसायीको हो। म अहिले बाटोमा छु, पछि सम्पर्क गरेर थप विवरण दिन्छु।”

यो अवैध औषधि व्यापारमा गर्तौलाको मात्र नभई नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय तहका व्यवसायीहरूको पनि संलग्नता रहेको पाइएको छ। संघका केही उच्च पदस्थ व्यवसायीहरूले भारतबाट तस्करी गरेर ल्याइएका औषधिहरू गर्तौला लगायत अन्य व्यक्तिहरूलाई वितरण गर्दै आएका छन्।

गर्तौला नेपाल पशुपन्छी औषधि व्यवसायी संघका कोशी प्रदेश सचिव मात्र नभई दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, दमक कृषि डेरी संसार एण्ड एग्रो प्रालिका सञ्चालक, गर्तौला भेटका सञ्चालक, र लायन्स क्लब ३२५ सी का जिल्ला स्तरीय अध्यक्ष समेत हुन्। यी सबै पदहरूको आडमा उनले झापा, मोरङ, इलाम, पाँचथर लगायतका स्थानमा अवैध औषधिहरूको बिक्रीबाट २०० प्रतिशतसम्म नाफा आर्जन गर्दै आएका छन्।

नेपालको औषधि ऐन, २०३५ ले कुनै पनि औषधि विक्री वितरण गर्नुअघि दर्ता प्रमाणपत्र, अनुज्ञापत्र, र सिफारिसपत्र लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, गर्तौलाले यी कानूनी प्रावधानहरूको उल्लङ्घन गर्दै दर्ता नभएका औषधिहरूको विक्रीलाई व्यवस्थित रूपमा सञ्चालन गरेका छन्। औषधि ऐनको ८ (२) अनुसार हरेक वर्ष दर्ता नवीकरण गर्नुपर्ने कानूनी प्रावधान पनि उनले उल्लङ्घन गरेका छन्।

अवैध औषधि व्यापार र यसमा सरकारी अनुगमनको कमजोरीका कारण पशुपन्छी र मानव स्वास्थ्यमा गम्भीर चुनौती उत्पन्न भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *