नेपाली गाईमा विदेशी भ्रूणको प्रयोग

काठमाडौँ । कुखुराले हाँसको चल्ला र चिबे चराले कोइलीको बच्चा कोरेल्ने र हुर्काएको घटना त हामीले देखेकै र सुनेकै हो । धाईआमाले अर्काले जन्माएको बच्चा हुर्काएका प्रशस्तै उदाहरण छन् । नेपाली गाईले भने अर्काकै सन्तान आफ्नो पाठेघरमा हुर्र्काएर जन्म दिने गरेका छन् ।

विश्वमा नस्ल सुधारमा सफल भएको प्रयोग नेपालमा पनि सफल देखिएको छ । स्थानीय जातका गाईमा उच्च नस्लका गाईको भ्रूण प्रत्यारोपण गरिन थालिएसँगै यसले दुग्ध उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसको प्रयोग हुन थालेको दुई दशक भए पनि पछिल्लो समय ठुला फार्म तथा व्यावसायिक पशुपालक कृषक यो प्रविधिमा आकर्षित हुन थालेका छन् ।

नेपालमा केही वर्षयता अमेरिका, न्युजिल्यान्डका साँढेको शुक्रकिटको मिलनबाट त्यहाँका उच्च नस्लका गाईसँगको मिलनबाट बनेको भ्रूण नेपालका गाईले हुर्काइरहेका छन् । आफ्नो पाठेघरमा हुर्काएको नेपालको गाईको भूमिका धाईआमाको जस्तो मात्र हुने भए पनि त्यसले समग्र दुग्ध उत्पादनमा भने वृद्धि हुने विश्वास सरकारी निकायले गरेको छ ।

स्थानीय वर्णशङ्कर गाई जुन नियमित ऋतु चक्रमा आउँदा भ्रूणलाई गाईको पाठेघरमा प्रत्यारोपण गरिन्छ । सो भ्रूण अन्य सामान्य गर्भ जसरी नै परिपक्व भई निश्चित समय पुगेपछि बाच्छाबाच्छी जन्मिन्छ । यसरी जन्मिएका बाच्छाबाच्छी शुद्ध नस्लको हुन्छ । बाच्छा जन्मिएमा विर्य सङ्कलनका लागि उपयोगी हुने त्यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् । हालसम्म सयौँको सङ्ख्यामा बाच्छी जन्मिए पनि बाच्छा भने १० वटा जन्मिएपछि राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले सोही बाच्छालाई हुर्काएर विर्य सङ्कलन गरिरहेको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले २०५८ सालदेखि भ्रूण झिकाएर प्रत्यारोपण थालेको हो । सुरुमा न्युजिल्यान्डबाट ११० डोज जर्सी गाईको भ्रूण झिकाइएको थियो । पछि २०७२ सालमा अमेरिकाबाट जर्सी र होलिस्टनको ५५ डोज भ्रूण झिकाइएको थियो ।

यो प्रविधिलाई पोखरा, गोरखा र खुमलटारमा रहेका गाईमा प्रयोग गरिएको थियो । हाल नेपालका धेरै जिल्लामा यो प्रविधिबाट गाईलाई भ्रूण प्रत्यारोपण गर्ने गरिएको छ ।

भ्रूण प्रत्यारोपण गरी जन्मिएका बाच्छीबाट बढी दुध उत्पादन लिन सकिने पशु चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । भ्रूण प्रत्यारोपणपछि गाईमा नस्ल सुधार भई दुध बढी दिने र बाँझोपना न्यूनीकरण हुने सापकोटाले स्पष्ट पार्नुभयो ।

नेपालमा गाईपालनमा देखिएका विभिन्न चुनौती कम गर्नका लागि नस्ल सुधार गर्ने प्रयास हुँदै आएको छ । बहर व्यवस्थापन, अनुत्पादक गाईको व्यवस्थापन र रोगी बुढी गाईको व्यवस्थापन अहिलेका मुख्य चुनौती हुन् ।

युरोप तथा अमेरिकाका किसानले उच्च नस्लको एउटै गाईबाट धेरै सन्तान उत्पादन गराउन यो प्रविधिको विकास गरेसँगै नेपालले पनि यसको प्रयोग थालेको हो ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डेयले आफ्नो कार्यालयले सो कार्यको सुरुवात गरेको र सफलताको दर १८ प्रतिशत भएको जानकारी दिनुभयो । विश्वका विभिन्न मुलुकमा भने यो प्रविधिले ४५ प्रतिशतसम्म सफलता हात पारेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा प्रविधिसँगै धेरै कुराको अभाव भएकाले सोचे जस्तो सफलता भने हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

सातदेखि आठ दिनसम्मको भ्रूणलाई निकालेर आमाको शरीर बाहिर सुषुप्त अवस्थामा राखी अर्को गाईको पाठेघरमा प्रत्यारोपण गरेर सन्तान उत्पादन गर्ने भ्रूण प्रत्यारोपण प्रविधि नेपाल भित्रिएसँगै यसले दुध उत्पादनमा वृद्धि गराउने आधार सिर्जना भएको उहाँले स्पष्ट पार्नुभयो ।

कम उत्पादक पशुबाट उच्च उत्पादन हुने पशुको उत्पादन हुनु निकै खुसीको कुरा भएको उहाँले उल्लेख गर्नुभयो । यो कार्यका लागि कृषि अनुसन्धान परिषद् (नार्क) विश्वविद्यालय, निजी क्षेत्रको सहकार्यमा यस्तो कार्य अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष भ्रूण प्रत्यारोपण कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । सङ्ख्यात्मक रूपमा उपलब्धि सानो देखिए पनि योजनाबद्ध रूपले लामो समयसम्म काम गर्न सकेमा नेपालमा गाईको नस्ल सुधार कार्यमा यसले सकारात्मक असर पार्ने बताउनुभएको समाचार गोरखापत्र दैनिकमा  छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *