आफ्ना उम्मेदवारलाई विजयी गराउन सदस्यलाई संघको अपिल

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को आगामी माघ १८ गते हुन गइरहेको निर्वाचनमा  उम्मेदवार बनेका संघका सदस्यहरूलाई मतदान गरी विजयी गराउन मातहतका शाखा, प्रदेश र केन्द्रका सदस्यहरूलाई आह्वान गरेको छ ।

आइतबार एक अपिल सार्वजनिक गर्दै संघले परिषद् सदस्यमा उम्मेदवारी दिएका आफ्ना सदस्यहरूलाई विजयी गराउन अनुराेध गरेको हो । संघका अध्यक्ष रितेश रिमाल र महासचिव सादुराम ढकाल ‘आशिष’द्वारा हस्ताक्षरित संयुक्त अपिलमा संघका विभिन्न पदाधिकारीहरूले परिषद्को निर्वाचनमा उम्मेदवारी दिनु गर्वको विषय भएकाले निर्वाचित गराउन सबै सदस्यलाई आग्रह गरिएको छ ।

‘यस संघको गरिमालाई उच्च राख्न हामी व्यवसायीको कर्तव्य रहेको हुँदा उक्त निर्वाचनमा उम्मेदवारी दिनुहुने सबै व्यवसायीलाई सफलतापूर्वक निर्वाचित गराउन यस संघका सातै प्रदेश तथा २२ वटै जिल्ला शाखाबाट सहयोगको लागि हार्दिक अपिल गर्दछौं,’ अपिलमा भनिएको छ ।

आइतबार नै संघले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर परिषदमा उम्मेदवारी दिएका संघ आबद्ध सदस्यहरूलाई  शुभकामना  तथा बधाई पनि बाँडेको छ ।

बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष रिमालले पशुपन्छी औषधि व्यवसायीका समस्याहरू परिषद्मार्फत सम्बोधन गर्न विजय बनेपछि संघ आबद्ध सदस्यले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।

उपाध्यक्ष सुना सुवेदी बडालले संघका सदस्यमध्येबाट उम्मेदवार बनेकालाई शुभकामना ज्ञापन गरी मतदानका लागि अपिल गर्न आफूले नै अध्यक्षलाई अनुरोध गरेको उल्लेख गर्दै सम्पूर्ण उम्मेदवारलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरिन् । चितवन जिल्ला शाखा अध्यक्ष लक्ष्मीलाल घिमिरेले चितवन जिल्लाका संघका सदस्यलाई आफूले मतदानको लागि अपिल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा उम्मेदवारत्रय ईश्वरीप्रसाद आचार्य, चिनाकुमारी लामा र दिलमाया श्रेष्ठले आफ्ना धारणा राखेका थिए ।

पशुपन्छी प्राविधिकहरूको नियामक निकाय परिषद्को उपाध्यक्ष र सदस्य चयनका निम्ति यही माघ १८ मा हुन गइरहेको निर्वाचनमा खुलातर्फको सदस्यमा संघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज ईश्वरीप्रसाद आचार्य, महिला उम्मेदवारमा चिनाकुमारी लामा, दिलामाया श्रेष्ठ र मधेस प्रदेश सदस्यमा अनिरुद्र साहको उम्मेदवारी परेको छ ।

हेर्नुहोस् अपिल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *